बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अराजकता त्याग, संयम बन, संवाद गर

अराजकता त्याग, संयम बन, संवाद गर

देशको राजनीति तरल अवस्थामा भएको बेला सबै पक्ष संयम बन्नुपर्छ । सहमतिबाटै समस्याको समाधान निकाल्नका निम्ति संवाद र सहकार्यको थालनी हुनैपर्छ ।


  • Dhorpatan News
  • असोज २२ २०८२, बुधबार

जेनजी आन्दोलनको राप र तापमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनावी वातावरण निर्माणका लागि राजनीतिक संवाद थाल्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । निर्वाचन आयोगले चुनावी कार्यतालिक सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्रका संयोजक प्रचण्डबाहेक देशका मुख्य राजनीतिक दलहरुले चुनावमा भाग लिने÷नलिने भन्नेबारे चुइँक्क बोलेका छैनन् । जेनजी आन्दोलन पुराना दलबाट भएको कुशासन र भ्रष्टाचारको खिलापमा थियो । दलहरुको विकल्प खोज्नका निम्ति थिएन । आशालाग्दा जेनजी अगुवाहरुले पनि आफूहरु व्यवस्था विरुद्धमा नरहेको बताइरहँदा चुनावका निम्ति राजनीतिक दलहरुलाई सहमत गराउनु यो सरकारको पहिलो दायित्व हो । जेनजी आन्दोलनबाट हिजोको सत्ता बढारिएको छ । तर, पुनः जनअनुमोदित हुँदै सत्तामा फर्कने बाटो बन्द भएको छैन । अतः राजनीतिक दलहरुले पनि चुनावबाट विमुख हुनेबारे सोच्नु हुँदैन । चुनावमा भाग लिनका निम्ति तयारी थाल्नुपर्छ ।

देशका मुख्य राजनीतिक दलहरुलाई चुनावमा आउने वातावरण सिर्जना चाहिँ सरकारले नै गर्नुपर्छ । तर, सरकारका पछिल्ला केही कदमहरुले दलहरुलाई बिच्क्याउने काम गरेको छ । जेनजी अगुवाको नाममा कानूनको बर्खिलाप हुने गरी पुराना राजनीतिक दलका शीर्ष नेताहरुलाई पक्राउ गर्नका निम्ति दवाब बढाउने,सडकमा उत्तेजित अभिव्यक्ति दिने ती व्यक्तिहरुलाई काबुमा राख्नुको सट्टा मन्त्रीहरुले नै वरपर लिएर हिँड्ने कामले पुराना दलहरु बिच्किने खतरा बढेको छ । पुराना दलहरु सत्ताबाट बाहिरिएका हुन्, शक्तिहीन भएका हैनन् र उनीहरु संगठित भइ विधिसम्मत् प्रक्रियाको पक्षमा उभिए भने वा जेनजीका नाममा देखिएका अराजक क्रियाकलापविरुद्ध उभिए भने परिस्थिति फरक हुन सक्छ । त्यस्तो सम्भावनाहरु देखिन थालेका छन् । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउको माग गर्ने जेनजीलाई काउण्टर दिन एमाले अखिलले काठमाडौंका मेयर बालेन्द्र साह र जेनजी अगुवाको रुपमा देखिएका सुदन गुरुङविरुद्ध पनि प्रहरीमा जाहेरी दिएका छन् । सामान्यतयाः न्यायका निम्ति न्यायालय,प्रशासन र प्रहरीको ढोका ढक्ढक्याउन जो–कोही पनि स्वतन्त्र हुन्छ तर अहिले देखिएको क्रियाको प्रतिक्रियाले देशमा पुनः द्वन्द्व बढ्ने खतरा बढाएको छ । यो अवस्थाप्रति सरकार बेलैमा संवेदनशील बन्नुपर्छ । जेनजीको नाममा जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका र म नै राज्य हूँ भन्ने हुंकार गर्नेहरुलाई कानूनले बाँध्न सक्नुपर्छ । देशमा पुनःअशान्ति र द्वन्द्वको वातावरण नबनोस् भन्नाका खातिर पुराना दलहरुलाई नचिढ्याउने तर गलत गर्नेहरुलाई नछाड्ने रणनीति अख्तियार गर्नैपर्छ । प्रतिशोध साँध्ने गरी गरिने कृत्यले दुष्परिणाम सिवाय केही प्राप्त हुँदैन । जेनजीहरुले पनि कुशासनविरुद्ध विप्लव गरेका हौँ र त्यसको आडमा अराजकता मच्चाउने ध्येय थिएन भन्ने सन्देश प्रवाह गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । देशको राजनीति तरल अवस्थामा भएको बेला सबै पक्ष संयम बन्नुपर्छ । सहमतिबाटै समस्याको समाधान निकाल्नका निम्ति संवाद र सहकार्यको थालनी हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->