बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस सभापतिको जिम्मेवारपूर्ण अभिव्यक्ति र चुनाव

कांग्रेस सभापतिको जिम्मेवारपूर्ण अभिव्यक्ति र चुनाव

पुराना र भोलि निर्माण हुनसक्ने दलको मात्र नभएर आम नागरिकलाई नै चुनावमा होमिने वातावरण बनाउनका लागि सरकारले सुरक्षालगायत अन्य आवश्यक प्रबन्धको गर्नैपर्छ । दलहरुसँग प्रतिशोध साँध्ने हैन कि सहमति र सहकार्यको हात अगाडि बढाउनुपर्छ ।


  • Dhorpatan News
  • असोज २९ २०८२, बुधबार

जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन रहेको बताएका छन् । यद्यपि, निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको पनि उनको बनाइ छ । उनले जेन–जी आन्दोलन, राष्ट्रपतिको कदम तथा नयाँ प्रधानमन्त्रीको नियुक्तिलाई पनि स्वीकारेका छन् । हिजोसम्म सत्ता सहयात्री दल एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको अस्तित्व अस्वीकार गर्दै संसद पुनःस्थापनाको मुद्दा उठाइरहँदा देउवाले फरक बाटो रोजेका छन् । उनले देश अहिलेको संविधानभन्दा फरक बाटोमा हिँडेको तर जनताबाट प्राप्त हुने अभिमतबाट लिनको लागि निर्वाचनमा जानु उत्तम विकल्प भएको स्वीकारेका छन् । कांग्रेस केन्द्रीय समितिमा दिएको उनको अभिव्यक्ति नेपाली कांग्रेसको आधिकारिक धारणा बनिसकेको छैन तर सभापतिले दिएको मन्तव्य अनुसार अब कांग्रेस संसद पुनःस्थापना हैन कि चुनावमा जाँदैछ भन्ने प्रष्ट भएको छ । कांग्रेसले संगीन घडीमा लोकतन्त्र र देशको पक्षमा आफूलाई उभ्याउँछ भन्ने सन्देश प्रवाह भएको छ । आफ्नै पार्टीको तर्फबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले जेन–जी आन्दोलनको क्रममा देखाएको सुझबुझ र त्यसपछि सम्हालिएको नेपालको राजनीतिलाई सही बाटोमा लैजान सभापति देउवाले दिएको अभिव्यक्ति महत्वपूर्ण हुने देखिएको छ ।

वर्तमान सरकार जेन–जी आन्दोलनको बलमा निर्माण भएको हो र यसले राष्ट्रपतिबाट फागुन २१ गते चुनाव गराउने महत्वपूर्ण जिम्मेवारी पाएको छ । सुशीला कार्की नेतृत्वको सरकारको अर्जुनदृष्टि चुनावमै हुनुपर्छ र चुनावी वातावरण बनाउने जिम्मेवारी कांग्रेस सभापति देउवाले भनेजस्तै सरकारकै हो । नेपालको संविधानले दलविहीनताको कल्पना गरेको छैन र त्यस्तो व्यवस्था लोकतान्त्रिक हुन सक्दैन । चुनावमा देशमा अस्तित्वमा रहेका दलहरुले सहभागिता नजनाउँदा वा उनीहरु चुनावप्रति विश्वस्त नबन्दासम्म चुनावी वातावरण बन्नै सक्दैन । भर्खरै सत्ताबाट भुइँमा आएको पीडा तथा वर्तमान सरकारका पूर्वाग्रहबाट प्रेरित हुन् कि जस्ता देखिने केही क्रियाकलापका कारण पुराना दलहरुले चुनाव हुन्छ र ? भन्ने प्रश्न उठाउनुलाई अन्यथा मान्नु हुँदैन । देउवाको अभिव्यक्तिले चुनावमा ठूला दल सामेल नहोलान् कि भन्ने भय हटेको छ । पुराना र भोलि निर्माण हुनसक्ने दलको मात्र नभएर आम नागरिकलाई नै चुनावमा होमिने वातावरण बनाउनका लागि सरकारले सुरक्षालगायत अन्य आवश्यक प्रबन्धको गर्नैपर्छ । दलहरुसँग प्रतिशोध साँध्ने हैन कि सहमति र सहकार्यको हात अगाडि बढाउनुपर्छ । कांग्रेस सभापति देउवाले पार्टी केन्द्रीय समितिको बैठकमा जे अभिव्यक्ति दिएका छन्, त्यसले चुनाव गराउनको लागि सरकारका लागि हौसला दिएको छ । माओवादी केन्द्र, रास्वपा, राप्रपा,एकीकृत समाजवादीलगायतका दलहरु पनि चुनावमा जान तम्तयार छन् । अब सरकारले साँच्चै चुनावी तयारी थाल्नुपर्छ र विश्वासको वातावरण निर्माणका निम्ति दलहरुसँग सहकार्यको हात अगाडि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->