बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चुनावी गतिविधि थाल, हिउँदको उपयोग गर

चुनावी गतिविधि थाल, हिउँदको उपयोग गर

सरकारका कतिपय कामहरुले समयमा चुनाव होला कि नहोला भन्ने सन्देह बढाएको सत्य हो तर सरकारलाई लगाम लगाउनका निम्ति पनि आफूले सही बाटो समात्नुपर्छ भन्ने दलहरुले मनन गर्नैपर्छ ।


  • Dhorpatan News
  • कार्तिक ९ २०८२, आइतबार

दशैं–तिहारजस्ता महत्वपूर्ण चाडहरुले मनाइएको छ । छठ ढोकाबाट भित्रिसकेको छ । यी चाडबाड सकिएसँगै खेती भित्र्याउने मेलो सुरु गर्न किसानहरु तम्तयार छन् । हेर्दा लाग्छ–सब ठीकठाक चलिरहेको छ । तर, जेन–जी आन्दोलनको क्रममा मारिएका नवयुवाको सपना तथा उडेको खरानीले अहिले पनि नेपालीहरुको मथिङ्गलमा हलचल मच्चाइरहकै छ । वर्तमान सरकारले राष्ट्रपतिबाट प्राप्त गरेको कार्यादेश अर्थात् चुनाव समयमा होला कि नहोला ? मुख्य राजनीतिक दलहरुको आगामी कार्यदिशा के होला र कथंकदाचित तोकिएको समयमा चुनाव नहुँदाको दुष्परिणाम कस्तो होला ? भन्ने प्रश्नहरुको घेरामा नै नेपाली मन रुमल्लिइरहेको छ ।

नेपाली कांग्रेससहितका केही राजनीतिक दलहरुले यो तथ्यलाई मनन गरेका छन् अपितु, हिजोसम्म सत्ताको नेतृत्व गर्ने नेकपा एमालेले भने चुनावप्रति संशयमात्र जताएको छैन, संसद पुनःस्थापनाको मागसहित सडक प्रदर्शनको तयारी गरिरहेको छ । जसले गर्दा देश अझ अस्थिरतातर्फ उन्मुख हुने त हैन भन्ने आशंकालाई बल पुगेको छ । जेन–जी क्रान्तिकै आडमा निर्मित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका निम्ति मुख्य राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको अडान र चतु¥याँइ, भूराजनीतिक चलखेल र स्वार्थको व्यवस्थापनकै कारण वर्तमान सरकार गठन भएको हो । संविधान जोगिएको हो । संविधानमाथि प्रहार भएको छ तर यो पूर्ण निस्तेज छैन । चुनावमार्फत् जनअभिमत प्राप्त गर्ने र त्यही शक्तिबमार्फत् यो सरकारलाई बिदा गरी संविधानलाई सही मार्गमा ल्याउने अवसर कायमै छ ।

अतःचुनावको तयारीलाई संशयको दृष्टिले हेर्नु वा बहिष्कार गर्छु भन्नुको अर्थ छैन । एमाले र मुख्य रुपमा अध्यक्ष केपी ओलीले आफ्नो यो निर्णयमा पुनर्विचार गर्नैपर्छ । सरकारमाथि शान्ति–सुरक्षाको वातावरण निर्माण,दलहरुलाई सम्मानपूर्ण व्यवहार गर्न एवं प्रतिशोषका भावनाबाट टाढा रहनका निम्ति दबाब दिनुलाई चाहिँ अन्यथा मान्न मिल्दैन । सोच्नुपर्ने एउटै विषय के हो भने– चुनाव हातबाट फुस्केमा सुरु हुने अस्थिरताले देशको अस्तित्व नै संकटमा पर्नसक्छ । र, जिम्मेवार राजनीतिक दलहरुले सुदूर भविष्यको दुष्परिणामलाई आँकलन गरी समयसापेक्षा निर्णय गर्नैपर्छ । हिजो आफूबाट भएका गल्तीकै कारण नवयुवा सडकमा आएका हुन्, ती नवयुवाको आवाजको संवोधनले मात्र राजनीतिक दलहरुको अस्तित्व रक्षा हुन्छ भन्ने तथ्यलाई बिर्सेर गरिने निर्णयले पार्टी र व्यक्तिको भलो गर्दैन ।

प्रष्ट भाषामा भन्दा, हिउँदका फुर्सदिला महिनाहरु आन्दोलनका निम्ति सहज हुन्छन् भन्ने सोचलाई दलहरुले मनबाट फ्याँक्नुपर्छ । बरु, ती दिनहरुलाई जनताको घरदैलोमा पुग्ने अवसरको रुपमा लिँदै आगामी चुनावमै ध्यान केन्द्रीत गर्नुपर्छ । सरकारका कतिपय कामहरुले समयमा चुनाव होला कि नहोला भन्ने सन्देह बढाएको सत्य हो तर सरकारलाई लगाम लगाउनका निम्ति पनि आफूले सही बाटो समात्नुपर्छ भन्ने दलहरुले मनन गर्नैपर्छ । सुशीला कार्की नेतृत्वको सरकारलाई राष्ट्रपतिले ६ महिनाभित्र सक्ने एउटा कार्यादेश दिएका हुन् र उनी आफैंले बनाएको संविधान अनि संसदबाट चुनिएका व्यक्ति हुन् भन्ने ख्याल राख्दामात्र धेरै कुराको समाधान निस्कन्छ । अतः हिउँदको सही सदुपयोग गर्नेतर्फ नै दलहरुको ध्यान जानुपर्छ । संसद पुनःस्थापनाको कानूनी लडाइँभन्दा चुनावलाई अवसरकै रुपमा स्वीकार्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->