बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आन्तरिक पर्यटनले जगाएको आशा

आन्तरिक पर्यटनले जगाएको आशा

विशेषगरी होटलहरुले शाकाहारी खानालाई शुद्ध बनाउनुपर्ने जरुरी छ भने जिल्लाका पर्यटकीय क्षेत्र बारे सूचना बोर्ड राख्ने र स्थानीय तहले पर्यटन सूचना केन्द्र बनाउने काम छिटो थाल्नुपर्ने जरुरी छ ।


  • Dhorpatan News
  • कार्तिक ११ २०८२, मंगलबार

तिहारलगत्तै देशभर घुमफिर अर्थात आन्तरिक पर्यटनको निकै चहलपहल छ । साबिकको धौलागिरि क्षेत्र पनि आम पर्यटकको रोजाइको केन्द्र बनेको छ । मुस्ताङमा अघिल्ला बर्ष १०÷२० हजार पर्यटक पुग्ने गरेकोमा अहिले लाखको संख्यामा पुगे । बागलुङ र पर्वत पनि सयौं पर्यटक भित्रिने जिल्लामा गनिन थालेको छ ।

विशेषगरी आन्तरिक पर्यटकले भरिभराउ भएर यतिबेला बागलुङका होटलमा पाहुना राख्ने ठाउँ नै छैन । समूहमा आउने पर्यटकले एकदुई दिन अघि नै होटल बुक गर्न नसके बास पाउनै मुस्किल भैसकेको छ । यो अवस्था पर्यटन व्यवसायका हिसाबले निकै राम्रो पक्ष हो । किनकी छिटपुट होटल बाहेक अन्यमा ग्रामीण क्षेत्रका मानिस प्रशासनिक कामले आउने जाने गर्दा मात्रै बस्ने गरेका थिए । अहिले भने बस रिजर्भ गरेर आएका पाहुना राख्न पाएर ती साना तिना होटल पनि भरिभराउ छन् ।

यो पर्यटनको दृष्टिले निकै आकर्षक प्याकेज र सिजन बन्दै गएको छ । पछिल्लो समय जिल्लामा होटल व्यवसायमा लगानी पनि बढीरहेको छ । ठूला होटल खोल्ने क्रम पनि छ । जिल्ला सदरमुकाममा मात्रै ३ हजार बढी पाहुनालाई सहजै राख्न सकिने अवस्था बनिसकेको होटल संघको तथ्यांक छ । अर्थात सेतो तन्ना सहितका कोठाहरु भएको होटल पर्यटकका लागि उपयुक्त छन् । कमन र सामान्य प्रकारका कोठा र बेड सहितको रुपमा हेर्ने हो भने बागलुङ बजारले पनि ५ हजार बढी पाहुना थेग्न सक्ने अवस्था आइसकेको छ ।

तर पर्यटन प्रवद्र्धन गर्ने हो भने जिल्लाका होटल व्यवसायीले सरसफाई, पर्यटकमैत्री व्यवहार र उचित मूल्यसूची समेतको व्यवस्थापन गर्नु पर्ने जरुरी छ । जिल्लाको पर्यटन हेर्ने कार्यालय, पर्यटन समिति, होटल संघ, उद्योग बाणिज्य संघले स्तरीय सेवाका लागि पहल गर्नुपर्ने आवश्यकता छ । त्यतिमात्र होइन नियमित अनुगमन पनि आवस्यक छ ।

होटलहरुले के कस्तो खाना खुवाएका छन् ? दररेट कसरी लिएका छन् त्यो पनि हेर्न आवस्यक छ । किनकी सामान्य सरसफाइ, मानवीय व्यवहार र सेवा सुविधाले पनि पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्छ । एक पटक आएको पाहुनाले धेरै पटक आउने र धेरै साथी ल्याउने वातावरण बन्छ । विशेषगरी होटलमा सरसफाइ र गुणस्तरीय खानालाई त बागलुङका होटलले ब्राण्ड बनाउन जरुरी छ । ठूला भनिएका होटलमा पनि खानाको गुणस्तरबारे बेलाबेला प्रश्न समेत उठ्छ । सवारी पार्किङ त बागलुङका होटलको प्रमुख चुनौती नै हो । यो अवस्थालाई पनि विशेष ख्याल गर्नुपर्ने बेला छ ।

बागलुङ कालिका भ्रमण गर्न आउने पर्यटकका कारण बजारमा केही चहलपहल बढेको छ । त्यस बाहेक पञ्च कोटलाई विशेष प्राथमिकता दिएर यातायात सहज बनाउने, त्यहाँ पुगेका पर्यटकलाई खाने बस्ने सेवा थप गर्ने, त्यहाँको महत्व र विशेषता बारे जानकारी मूलक बोर्डहरु राख्ने काम स्थानीय सरकार र पर्यटन तथा होटल व्यवसायीको हो ।

कात्तिक लागेपछि बागलुङमा विदेशी भेगत समूहहरु पनि आउने क्रम छ । उनीहरुले चाहेजस्तो सेवा र खानाको प्रकार पस्कन सक्ने हो भने पर्यटन व्यवसाय अझै फस्टाउने अवस्था छ । त्यसप्रति पनि चासो बढाउन जरुरी छ । विशेषगरी होटलहरुले शाकाहारी खानालाई शुद्ध बनाउनुपर्ने जरुरी छ भने जिल्लाका पर्यटकीय क्षेत्र बारे सूचना बोर्ड राख्ने र स्थानीय तहले पर्यटन सूचना केन्द्र बनाउने काम छिटो थाल्नुपर्ने जरुरी छ । समग्र सुधारको क्षेत्रमा काम गरेमा बागलुङ पर्यटन मार्फत समृद्ध बन्ने लक्षणमा अगाडि बढ्नेमा शंका छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->