बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमाली क्षेत्रमा घुम्न जाँदा सावधानी अपनाऔँ

हिमाली क्षेत्रमा घुम्न जाँदा सावधानी अपनाऔँ

नेपाल सरकार, पर्यटन बोर्ड, र स्थानीयनिकायहरूले पनि सुरक्षा र सचेतनाको पक्षमा ठोस कदम चाल्नुपर्छ। जोखिमपूर्ण मौसममा ट्रेकिङ अनुमति रोक्ने, ट्रेकिङ बीमाअनिवार्य गर्ने र उद्धार प्रणाली सुदृढ गर्ने काम गर्न सकिन्छ।


  • Dhorpatan News
  • कार्तिक १३ २०८२, बिहिबार

नेपाल प्रकृतिको अनुपम उपहारले धनी देश हो । यहाँका हिमाल, पहाड, तराई, नदी र वनजंगलले संसारभरका पर्यटकलाई आकर्षित गर्छन् । तीमध्ये पनि हिमाली क्षेत्रहरू प्राकृतिक सौन्दर्यका कारणले मात्र नभई, सांस्कृतिक विविधता र साहसिक अनुभवका कारण पनि अत्यन्त लोकप्रिय छन् । तर यी सुन्दर र चुनौतीपूर्ण भूभागमा यात्रा गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष दुःखद घटनाहरू हुने गरेका छन् । यात्राको उत्साह र रोमाञ्चमा सुरक्षित अभ्यास बिर्सनु कहिल्यै बुद्धिमानी हुँदैन ।

घुम्न निस्कदाँ सबैभन्दा पहिला, शारीरिक तयारी र स्वास्थ्य परीक्षण अनिवार्य हुन्छ । हिमाली क्षेत्रमा अक्सिजनको मात्रा कम हुन्छ, र हिँडाइ कठिन । यस्तो वातावरणमा अकस्मात उचाइमा चढ्दा ‘उचाइजन्य रोग’ हुन सक्छ, जसले बेहोस, बान्ता, टाउको दुखाइदेखि ज्यानसम्म लिन सक्छ। त्यसैले यात्रा अघि चिकित्सकको सल्लाह, आवश्यक औषधि साथमा राख्नु र शरीरलाई क्रमशः उचाइमा बानी पार्दै अघि बढ्नु जरुरी हुन्छ ।

चिसो, हिउँ र अस्थिर मौसमका कारण साधारण कपडाले काम नगर्ने हुँदा न्यानो कपडा, स्लीपिङ ब्याग, टर्च, ट्रेकिङ पोल र आपतकालीन सामग्री साथमा हुनैपर्छ । धेरै यात्रुहरू हल्का सामान बोकेर जान चाहन्छन्, तर सुरक्षा उपकरणमा सम्झौता गर्नु जोखिमपूर्ण हुन्छ । स्थानीय गाइड र समूहसँगको सहकार्य यात्राको सुरक्षा सुनिश्चित गर्ने अर्को आधार हो । अनुभवी गाइडहरूले बाटो, मौसम र स्थानीय संस्कृतिको जानकारी दिन्छन् । उनीहरूको सल्लाह पालना नगर्दा बाटो भुलिने, हिउँ पहिरोमा फसिने वा आपत्कालमा उद्धार पाउन ढिलाइ हुने घटना हुने गर्छ । त्यसैले सरकार र पर्यटन व्यवसायीले प्रमाणित गाइड अनिवार्य बनाउने नीति प्रभावकारी रूपमा लागू गर्न जरुरी छ ।

हिमालको मौसम क्षणभरमै बदलिन सक्छ । यस्तोमा दुर्घटना सम्भावना बढ्छ । त्यसैले यात्रा अघि र प्रत्येक दिन स्थानीय मौसम पूर्वानुमान हेर्नु र आवश्यक परे तालिका परिवर्तन गर्नु बुद्धिमानी हुन्छ । सञ्चार र आपतकालीन सम्पर्क प्रणाली पनि विश्वसनीय हुनुपर्छ । मोबाइल सिग्नल नहुने ठाउँमा जीपीएस उपकरणको व्यवस्था आवश्यक हुन्छ । पर्यटक वा ट्रेकिङ समूह सम्बन्धित निकायमा नियमित सम्पर्कमा रहनु पर्छ । यसले दुर्घटना वा हराइने अवस्थामा उद्धारलाई सहज बनाउँछ ।

तर, सुरक्षा मात्र होइन, पर्यावरणीय जिम्मेवारी पनि यात्रुको नैतिक कर्तव्य हो । हिमाल हाम्रो गौरवसंगै जलस्रोतको मुख्य आधार हो । त्यहाँ फोहर फ्याँक्ने, स्थानीय वनस्पति तोड्ने प्रवृत्तिले हिमाली पारिस्थितिक सन्तुलन बिगार्छ । त्यसैले कुनै पनि फोहर वा असर नछोडी फर्किने सिद्धान्त सबैले अपनाउनुपर्छ ।

यस्तै, स्थानीय संस्कृति र समुदायप्रति सम्मान यात्राको अर्को पाटो हो । हिमाली जनजीवन सरल तर गरिमामय हुन्छ । उनीहरूको परम्परा, धर्म र बानीलाई सम्मान गर्नु यात्रुको जिम्मेवारी हो । नेपाल सरकार, पर्यटन बोर्ड, र स्थानीय निकायहरूले पनि सुरक्षा र सचेतनाको पक्षमा ठोस कदम चाल्नुपर्छ । जोखिमपूर्ण मौसममा ट्रेकिङ अनुमति रोक्ने, ट्रेकिङ बीमा अनिवार्य गर्ने र उद्धार प्रणाली सुदृढ गर्ने काम गर्न सकिन्छ । हिमाल हाम्रो गौरव, हाम्रो पहिचान र भावीपुस्ताको सम्पत्ति हुन् । त्यसैले ती ठाउँमा जाने हरेक यात्रुले साहसिकताको साथसाथै जिम्मेवारी र सावधानी पनि साथमा लैजानुपर्छ। सावधानीपूर्वक गरिएको यात्रा स्मरणीय बन्छ, बेवास्ताले गरिएको यात्राले भने दुर्घटनाको रूप लिन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->