बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अस्थिरता हैन, स्थायित्वका निम्ति काम गरौं

अस्थिरता हैन, स्थायित्वका निम्ति काम गरौं

चुनावबाट भागेर समस्याको समाधान हुँदैन । चुनावमा जानका निम्ति दलभित्र नेतृत्व परिवर्तन वा अन्य के आवश्यक पर्छ भन्नेबारे बेलैमा निर्णय गर्दै जनअनुमोदित हुने र पुनः सत्तामा पुग्ने अवसर नै चुनाव हो भन्ने कुरालाई केन्द्रमा राख्दामात्र ती दलहरुको पनि भलो हुन्छ ।


  • Dhorpatan News
  • कार्तिक १६ २०८२, आइतबार

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् जेन–जी आन्दोलनको बलमा सत्तामा पुगेकी कार्कीले पत्रकार सम्मेलनमा नवयुवाहरुको माग र दवाब,देशका राजनीतिक दलहरुबाट गरिएको अपेक्षा तथा सरकारले सम्पादन गरिरहेका कामहरुबारे आफ्नो धारणा प्रष्ट पारेकी छन् । आउँदो फागुन २१ को चुनावमा नै सरकारको अर्जुनदृष्टि भएको पनि उनले दोहो¥याएकी छन् ।

तत्काल व्यवस्था परिवर्तन नहुने र चुनावपछि आउने संसदसँगमात्र त्यो अधिकार रहेकोबारे जेन–जी पुस्ता पनि आश्वस्त हुँदै गएको तथा शान्ति–सुरक्षाको अवस्थामा सुधार भएकाले तोकिएकै समयमा चुनाव हुने उनको भनाइ छ ।

तोकिएको समयमा चुनाव हुनका निम्ति राजनीतिक दलहरुले शान्ति–सुरक्षाको अवस्था सुदृढ हुनुपर्ने तथा दलका नेताहरुमाथि भइरहेको प्रहार रोकिनुपर्ने सर्त अगाडि सारेका छन् । अहिलेको सरकार दलहरुप्रति उदार नभएको र पूर्वाग्रह साँधेको ती दलहरुको दाबी छ । त्यो दाबीलाई गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीकै भनाइले पनि बल पु¥याइरहेको देखिन्छ । संसदीय व्यवस्थामा मुख्य दलहरुले चुनावमा भाग लिएनन् भने त्यसको वैधानिकतामाथि नै प्रश्न उठ्छ । अतः यो सरकारको पहिलो काम भनेको अहिले भइरहेका दलहरुलाई चुनावका निम्ति सहमतिमा ल्याउनु नै हो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको जोडबल रदवाबकै कारण प्रधानमन्त्री पद स्वीकारेको बताउँदै उनले आफू राजनीतिक दलहरुप्रति पूर्वाग्रही नभएको बताएर प्रधानमन्त्रीले दलहरुलाई आश्वस्त पार्न खोजेकोजस्तो देखिएको छ । तर, त्यतिले मात्र पुग्दैन ।

दलहरुलाई चुनावमा ल्याउनका निम्ति सरकारले पूर्वाग्रही व्यवहार देखाउने गतिविधि रोक्नुपर्छ । जेन–जीका नाममा भएका ध्वंशात्मक गतिविधिमा संलग्नलाई कारवाहीको भागिदार बनाउनै पर्छ र शान्ति–सुव्यवस्था कायम गराउनै पर्छ । मुख्य कुरा, यतिबेला दलहरुलाई बिच्क्याउने हैन,चुनावका निम्ति सहमत गराउनु पर्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र,रास्वपा,राप्रपासहितका दलहरुले चुनावमा जाने निर्णय गरिसकेको परिपेक्ष्यमा एमालेलाई पनि चुनावमा आउने वातावरण बनाउन सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन । अर्कोतर्फ, देशमा विभिन्न समूहले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरुलाई रोक्दै चुनाव केन्द्रीत वातावरण बनाउनेतर्फ विशेष ध्यान दिनैपर्छ ।

पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री जति लचिलो रुपमा प्रस्तुत भएकी छन्, त्यसको मर्म दलहरुले पनि आत्मसात गर्नैपर्छ । चुनावबाट भागेर समस्याको समाधान हुँदैन । चुनावमा जानका निम्ति दलभित्र नेतृत्व परिवर्तन वा अन्य के आवश्यक पर्छ भन्नेबारे बेलैमा निर्णय गर्दै जनअनुमोदित हुने र पुनः सत्तामा पुग्ने अवसर नै चुनाव हो भन्ने कुरालाई केन्द्रमा राख्दामात्र ती दलहरुको पनि भलो हुन्छ । जेन–जी आन्दोलन केही थिएन भन्ने भाष्य निर्माण गर्न खोजियो भने त्यसले दलहरुलाई त हानी गर्छ नै देशलाई पनि अस्थिरतातर्फ लैजान्छ । अतः अस्तिरताको मतियार हुनेतर्फ हैन, स्थायित्व,समुन्नति र सुशासनको लागि आ–आफ्नो ठाउँबाट योगदान दिनका निम्ति दलहरु तयार हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->