बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिहुँबासीको दुखेसो सम्बोधन होस्

बिहुँबासीको दुखेसो सम्बोधन होस्

काम नगर्नेलाई कारवाही, सुरु गरेपछि तोकिएको समयमा सक्ने गरी बजेट विनियोजन, निर्माणको क्रममा आइपर्ने बाधा अड्चन हटाउने तत्परताले मात्र यस्ता समस्याको समाधान हुन्छ ।


  • Dhorpatan News
  • कार्तिक १९ २०८२, बुधबार

बागलुङस्थित मध्यपहाडी लोकमार्गअन्तर्गतको बिहुँ खण्ड निर्माणको माग गर्दै स्थानीयले प्रशासन गुहारेका छन् । हिउँदमा धूलो र वर्षातमा हिलोको सास्ती भोग्दै आएका स्थानीयवासीले तत्काल निमार्ण थालनी नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

२०६८ सालदेखि थालिएको मध्यपहाडी लोकमार्ग आयोजनाको काम पटक–पटक अलपत्र पर्दै आएको छ । काठेखोला गाउँपालिका–१, २, ५ र ६ का बासिन्दाका घर, खेतीपाती र फलफूल बाली धुलोले पुरिएका छन्। किसानले पशुका लागि डालेघाँससमेत खुवाउन नसकेको गुनासो गरेका छन् । बागलुङभित्रको १४२ किलोमिटर लामो मध्यपहाडी लोकमार्गमध्ये अधिकांश खण्ड कालोपत्रे भइसके पनि तर बिहुँ खण्डका करिब २५ किलोमिटर बाटो नबन्नु दुःखको विषय हो । यस्तो परिस्थितिमा स्थानीयबासी आक्रोसित हुनु पनि अस्वभाविक हैन ।

हरेक वर्ष बर्खायाममा नेपालका धेरै राजमार्ग पहिरो, बाढी र कटानका कारण बारम्बार अवरुद्ध हुने गरेका छन्। विशेषगरी मध्यपहाडी, सिद्धार्थ, पृथ्वी, महेन्द्र र कर्णाली राजमार्गका विभिन्न खण्डमा सवारी आवागमन रोकिँदा जनजीवन प्रभावित हुन्छ । गत वर्ष मात्र मनसुनमा देशभर ३०० भन्दा बढी ठाउँमा सडक अवरुद्ध हुँदा दर्जनौं मानिसले ज्यान गुमाए र करोडौंको सम्पत्ति नष्ट भयो ।

विशेषज्ञहरूका अनुसार यी समस्या अस्थायी मर्मत वा आपतकालीन प्रतिक्रियाले मात्र समाधान हुँदैनन् । पहिरो जोखिम क्षेत्रको स्थायी निवारण, समयमै नाली सफाइ, ढल निकास प्रणाली, र भू–इन्जिनियरिङ उपाय अपनाउन सके मात्र राजमार्ग दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनशील रहन्छन् ।

विशेषज्ञहरूका अनुसार राजमार्गहरू सधैं सुरक्षित र सुचारु राख्न दीर्घकालीन योजना आवश्यक छ । नियमित मर्मतसम्भार र अनुगमनः सडक निर्माणपछि पनि निरन्तर मर्मत, नाली सफाइ, र जनशक्ति परिचालन गर्नुपर्छ । ठेकेदार जिम्मेवारी सुनिश्चितताः ठेक्का सम्झौतामा स्पष्ट कार्यसमय, गुणस्तर मापदण्ड, र उल्लंघनमा तुरुन्त कारबाहीको व्यवस्था गर्नुपर्छ ।

ट्रयाक खुलाउने तर समयमा निर्माण सम्पन्न नगर्ने नेपालको निर्माण क्षेत्रको रोग हो । कहिले ठेकेदारको लापरवाही,कहिले राज्यले भनेको बेला भुक्तानी नदिँदा अनि स्थानीयकै अवरोधका कारणले पनि भनेको बेला सडक निर्माण हुन सकेको छैन । सरकारले तोकिएको समयममा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने भन्छ तर त्यस्तो कारवाहीले पनि परिणाम दिन नसकेको अवस्था छ । हालैमात्र नेपाल सरकारले समयमा काम सम्पन्न नगर्ने विभिन्न निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । तर, ठेक्का तोडेर पुनः ठेक्का लगाएर तत्काल काम सुरुतर्फ भने ध्यान पुग्न सकेको छैन । काम नगर्नेलाई कारवाही, सुरु गरेपछि तोकिएको समयमा सक्ने गरी बजेट विनियोजन, निर्माणको क्रममा आइपर्ने बाधा अड्चन हटाउने तत्परताले मात्र यस्ता समस्याको समाधान हुन्छ । स्थानीय सरोकारवालाको सहभागिताः निर्माण र मर्मतमा स्थानीय समुदायको निगरानी र सुझाव समावेश गर्दा काम पारदर्शी र दिगो हुन्छ भन्ने राज्यले मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->