बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘गन्तव्य बागलुङ’ : साझा अभियानको नयाँ यात्रातर्फ

‘गन्तव्य बागलुङ’ : साझा अभियानको नयाँ यात्रातर्फ

‘गन्तव्य बागलुङ’ केवल नारा नभई पर्यटनको दीगो विकासको मार्गचित्र बन्न सक्नुपर्छ। यसको सफलताका लागि योजनाबद्ध लगानी, स्थानीय तहको सुदृढ भूमिका र सामूहिक जिम्मेवारी अत्यावश्यक विषय हुन् ।


  • Dhorpatan News
  • कार्तिक २७ २०८२, बिहिबार

बागलुङलाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित गर्ने साझा अभियान सुरु हुनु साँच्चै स्वागतयोग्य पहल हो । जिल्लाका सरोकारवाला, व्यवसायी, स्थानीय तह र नेपाल पर्यटन बोर्डबीचको सहकार्य अब वास्तविक कार्यान्वयनमा परिणत हुन सके, बागलुङले गण्डकी प्रदेशमा मात्रै होइन, राष्ट्रिय पर्यटन नक्सामा पनि महत्वपूर्ण स्थान ओगट्नेमा दुईमत छैन ।

हालै सम्पन्न सरोकारवालाको बैठकले ‘गन्तव्य बागलुङ’ भन्ने स्पष्ट नारा सहितको अभियान सुरु गर्ने निर्णय गर्दै आवश्यक सूचक तय गर्ने, प्रचार–प्रसार सामग्री तयार पार्ने र पर्यटन सूचना केन्द्र स्थापना गर्ने जस्ता ठोस कदमका योजना अघि सारेको छ । विशेषतः आधा दर्जन प्रवद्र्धनात्मक क्रियाकलापलाई पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीए) मोडेलमा अघि बढाउने सहमति सराहनीय छ । यसले सरकारी संयन्त्र र निजी लगानीबीच सन्तुलित सहकार्यको बाटो खोल्ने विश्वास गर्न सकिन्छ ।

बागलुङधार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको जिल्ला हो । ढोरपाटन क्षेत्रलाई साहसिक पर्यटनको केन्द्र बनाउन सकिने छलफलले यस दिशातर्फको सोच झल्काउँछ। यद्यपि, स्थानीय समुदायको सक्रियता र सिकार आरक्षसँगको समन्वय बिना त्यो सम्भव छैन भन्नेतर्फ भने सोच्नु पर्छ नै । पर्यटन विकास स्थानीय स्वामित्वमा आधारित हुनुपर्ने कुरा यस सन्दर्भमा विशेषरूपमा स्मरणीय छ ।

यससँगै, पुराना पदमार्गहरूको पुनर्जीवन, मौलिक संस्कृतिको संरक्षण र आधुनिक पूर्वाधार विकासबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो। केवल सडक र होटल निर्माणले पर्यटन विकास हुँदैन; अनुभवजन्य, सांस्कृतिक र वातावरणमैत्री पर्यटनलाई प्राथमिकता दिनुपर्छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले कार्यक्रमहरूलाई एकीकृत गरेर बजेट व्यवस्थापन गर्न सहमति जनाउनु सकारात्मक संकेतका रुपमा लिन सकिन्छ । अब बागलुङ नगरपालिकाले सूचना केन्द्रका लागि आवश्यक स्थान उपलब्ध गराई दीगो योजनाको कार्यान्वयनमा अग्रसर हुनुपर्छ ।

‘गन्तव्य बागलुङ’ केवल नारा नभई पर्यटनको दीगो विकासको मार्गचित्र बन्न सक्नुपर्छ। यसको सफलताका लागि योजनाबद्ध लगानी, स्थानीय तहको सुदृढ भूमिका र सामूहिक जिम्मेवारी अत्यावश्यक विषय हुन् । सहकार्यको यो सुरुवातले बागलुङलाई नेपालको अर्को आकर्षक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->