नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण जारी रहँदा सट्टेबाजीको नयाँ घटना सार्वजनिक भएको छ । क्रिकेटमा सट्टेबाजी पुरानै रोग हो अपितु नेपालको लागि भने यो नौलो नै छ । नेपालमा आयोजित एनपीएलमा जुवा खेलाउनका निम्ति भारतबाट नै गिरोह आएको प्रहरीले पुष्टि गरेको छ भने ८ जना त पक्राउ नै परिसकेका छन् । प्रतियोगिताको आयोजक नै अवैध जुवालाई प्रोत्साहन गर्न उद्यत रहेका समाचारहरु पनि सुखद छैनन् । यी परिदृष्यहरु पछिल्लो समय नेपालमा सर्वाधिक लोकप्रिय र सफलता प्राप्त गरिरहेको क्रिक्रेटको भविष्यलाई लिएर चिन्ताहरु व्यक्त हुन थालेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमले पाएको सफलताले यो खेल मधेशदेखि हिमालसम्म लोकप्रिय बनेको छ । नेपाली क्रिकेट टोली नै सिंगो राष्ट्रको जातीय र भौगोलिक विविधता झल्काउने खालको बन्नु अर्को खुसीको कुरा हो । क्रिक्रेटमा प्राप्त एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता अनि खेलाडीहरुले गरेको आम्दानीका कारण ब्याट र बल समाउनेहरु बढेका छन् । युवाहरुले क्रिक्रेटमै भविष्य देख्न थालेका छन् । एनपीएलको आयोजनाले क्रिकेटलाई लोकप्रिय र व्यावसायिक बनाउन ठूलो मद्धत गरेको छ । एनपिएलमा सहभागिता जनाउने खेलाडीहरुले राम्रै आम्दानी गर्ने देखिएको छ ।
व्यावसायिक प्रतिष्ठानहरुले पनि दिल खोलेर खेलका लगानी गरेका छन् । व्यावसायिक प्रतिष्ठानहरुको संलग्नता खेल विकासको लागि अपरिहार्य छ । छिमेकी भारतकै झल्को दिने गरी आयोजित प्रतियोगिता र यसमा संलग्न विदेशी खेलाडीहरुको कारण पनि एनपिएल उत्कृष्ट प्रतियोगितामा दर्ज हुन पुगेको छ । व्यावसायिक खेलाडी उत्पादन गर्न तथा क्रिकेटलाई लोकप्रिय बनाउनैका निम्ति नेपाल क्रिकेट संघ ( क्यान) ले आयोजन गरेको प्रतियोगितालाई अझ उत्कृष्ट र विवादरहित बनाउँदै अगाडि बढाउनुपर्ने खाँचो छ । तर, दोस्रो संस्करणसम्म आइपुग्दा देखिएका विवाद र सट्टेबाजीसम्मका घटनाहरुले कतै एनपीएलको आगामी यात्रामा अवरोध सिर्जना हुने त हैन भन्ने आशंका उत्पन्न भएको छ । जुन दुखद छ । क्रिकेटमा सट्टेबाजी नयाँ रोग हैन ।
छिमेकी भारतदेखि पाकिस्तान, श्रीलंका, बेलायतसम्म आयोजना हुने यस्ता प्रतियोगिताहरुमा सट्टेबाजी भएका खबरहरु आइरहन्छन् । सट्टेबाजीमा ठूला खेलाडी र सिंगो टिम नै संलग्न भएका उदाहरण पनि देखिएकै छन् । नेपालको हकमा चाहिँ अन्यत्र पनि यस्तो भइरहन्छ भन्ने उत्तरले पुग्दैन । आयोजकले नै अवैध जुवालाई प्रश्रय दिएको खबर निश्चय पनि मन बिझाउने खालको छ । यसबारे क्यान प्रष्ट हुनुपर्छ/प्रष्ट पार्नुपर्छ ।
खेलमा जीत–हार हुन्छ तर जुवा हुँदैन । जुवा अवैध हो र त्यस्ता गतिविधिलाई बन्देज गरिनुपर्छ । सट्टेबाजी मौलायो भने त्यसले खेल आयोजनाको उद्देश्यमाथि धावा बोल्छ । अतः अहिले भइरहेका गतिविधिप्रति क्यानले आँखा चिम्लन मिल्दैन । सट्टेबाजीलाई पूर्णतः निषेधित गर्दै प्रतियोगितालाई स्वच्छ बनाउनका निम्ति सबै उपाय अवलम्बन गर्नुपर्छ । क्रिकेटको उज्यालो भविष्यमाथि लाग्न खोजेको कालो ग्रहण हटाउनै पर्छ ।




