सुमनराज अर्यालले निजामती कर्मचारीको सर्वोच्च पद मुख्य सचिवको कार्यभार सम्हालेका छन् । तथ्याङ्कशास्त्रीको परिचय बनाएका अर्याल कुनै पनि विवादमा नपरेका सचिव हुन् । भद्र,कर्तव्यनिष्ट तथा इमान्दार छवि बनाएका सुमनले मुख्य सचिवको तथ्याङ्कको विश्लेषण हैन,१ लाख ३८ हजारभन्दा बढी निजामती कर्मचारीको परिचालन गर्नुपर्नेछ । सरकारको नीति कार्यान्वयन गराउनुपर्नेछ । निजामती संगठनबाट जनताले लोकतान्त्रिक मूल्य मान्यतालाई अबलम्बन गर्दै जनमुखी, परिणामुखी, व्यावसायिक तथा राजनीतिप्रति तटस्थ र संविधान, कानून र जनताप्रति प्रतिवद्धता खोजेको हुन्छ ।
नेपालको संविधानको धारा २८५ र ३०२ मा नेपालमा सरकारी सेवा तथा निजामती सेवाको सञ्चालन र व्यवस्थापनबारे उल्लेख गरिएको छ भने निजामती सेवा ऐन २०४९ र नियावलीले कर्मचारीको काम, कर्तव्य र अधिकार प्रष्ट पारेको छ । यस्तै कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ ले के गर्न हुने र नहुने भन्ने किटान गरेको छ । तर, नेपालको निजामती कर्मचारी प्रशासन जनमैत्री कामचोर,भ्रष्ट तथा सेवा भावले काम नगर्नेजस्ता आरोपबाट मुक्त हुन सकेको छैन । कामभन्दा राजनीतिक नेतृत्वको चाकडी गर्ने, उनीहरुलाई प्रभावमा पारेर आर्थिक उपार्जन गर्ने, दिएको जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिका कारण निजामती कर्मचारी बदनाम भएको तथा नीति कार्यान्वयन चुकेको आरोप पनि कर्मचारीमाथि लाग्ने गरेको छ । यी आरोपबाट मुक्त नहुँदासम्म निलोकोटधारीहरुप्रति आम नागरिकको विश्वास बढ्न सक्दैन । सरकारी कोषबाट तलब–भत्ता पाउने गैरसैनिक चरित्रको यो संगठनले नागरिक सेवालाई केन्द्रमा राख्दै सरकारले अगाडि सारेको नीति कार्यान्वयन गर्ने दायित्व निर्वाह गर्नैपर्छ । मुख्य सचिवको रुपमा अर्यालसामु कामप्रति जिम्मेवार र तटस्थ बन्न नसकेको तथा सुशासनको मामिलामा चुकेको कर्मचारी संयन्त्रलाई सुधार्नुपर्ने दायित्व र अवसर दुबै छ । राजनीतिक नेतृत्वको चाकडी गर्ने प्रवृत्तिबाट मुक्त गराउँदै सुशासन र सेवा प्रवाहमा लगाउनका लागि कर्मचारी प्रशासनको पुनर्संरचना नै गर्नुपर्ने आवश्यकता उनले बुझ्नैपर्छ ।
संघीयता कार्यान्वयनसँगै कर्मचारीहरुमा अन्यौलता सिर्जना भएकोतर्फ पनि उनले ध्यान दिनुपर्छ । प्रदेश रोजेका कर्मचारीहरुको वृत्ति विकास र अवसरबारेको अन्यौलताको अन्त्य,दक्षता अभिवृद्धि तथा मनोवल उच्च बनाउनका निम्ति आवश्यक प्रबन्धबारे पनि मुख्य सचिवले ध्यान दिनैपर्छ । चाकडीको भरमा कसैलाई काखा र पाखा गर्ने, सही ठाउँमा सही व्यक्तिको चयन नगर्ने वा राजनीतिक नेतृत्वको आड भरोसा प्राप्त व्यक्तिलाई लाभको पदमा पु¥याउने गलत प्रवृत्तिविरुद्ध मुख्य सचिव निर्मम बन्नैपर्छ । कर्मचारीले आदेश मान्ने हैन, कानूनको पालना गर्ने हो । कानून कार्यान्वनय गर्ने ठाउँमा बस्नेको आचरण पनि शुद्ध हुनुपर्छ । मुख्य सचिवको रुपमा अर्यालले सदाचार बढाउने, भ्रष्टाचार अन्त्य गर्ने र सेवा प्रवाह गर्दा जनतालाई केन्द्रमा राख्ने खालको प्रशासन बनाउँदामात्र नीलोकोटधारीको सम्मान बढ्छ भन्ने कुरालाई मूलमन्त्र मान्दै अगाडि बढ्ने हिम्मत गर्नुपर्छ । कर्मचारीको खस्केको मनोवल उकास्नु त छँदैछ ।




