बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अस्थिर राजनीतिक अवस्था र कांग्रेसको दायित्व

अस्थिर राजनीतिक अवस्था र कांग्रेसको दायित्व

महाधिवेशन पार्टीको आन्तरिक कुरा हो, यहाँ देशलाई सही दिशा निर्देश गर्नुपर्ने आवश्यकता छ । अतः यो आवश्यकतावोध गर्दै कांग्रेस आन्तरिक विवादबाट छिटो मुक्त होस् र अन्य राजनीतिक दललाई पनि देशको स्थायित्वको निम्ति एकजुट बनाउने कामको नेतृत्व लेओस् ।


  • Dhorpatan News
  • मंसिर १७ २०८२, बुधबार

जेन–जी आन्दोलन,त्यसपछि उत्पन्न अराजकताको ज्वारभाटा रोकिएको छ तर कतिबेला कुन रुपमा बिस्फोट हुने हो भन्ने त्रास हटेको छैन । तोकिएको अर्थात् फागुन २२ गते चुनाव भएन भने देशमा के होला ? यो यक्षप्रश्नले नागरिकलाई लखेटिरहेको छ । त्यही प्रश्नका कारण निजी क्षेत्रले आफ्नो रफ्तार घटाएको छ । देशमा जता गयो,त्यतै निराशाका आवाजहरु सुनिन थालेका छन् । जेन–जीले सडकमा ओर्लेर ठीक गरे र अब चाहिँ केही होला भन्ने आशा पालेका नागरिकहरुले अस्थिरताबाट देशले छिटो मुक्ति पाओस् भन्ने कामना गरिरहेका छन् । तर, उनीहरुको कामनाविपरीतका गतिविधिहरुले स्थायित्वलाई पर धकेल्ने काम गरिरहेको छ ।

चुनाव गराउने कार्यादेशसहितको सरकारको विरुद्धमा उत्रिएका जेन–जी समूह, चुनावमा भाग लिन तम्तयार तर सरकारका गतिविधिमाथि भरोशा नराख्ने राजनीतिक दल,संसद पुनस्र्थापनाको माग गर्ने राजनीतिक दल तथा विभिन्न माग राख्दै आन्दोलनम उत्रन खोज्ने समूहका कारण राजनीतिक अवस्था तरल बन्न पुगेको छ । जेन–जी आन्दोलनबाट गिरेको मनोबल उकास्ने प्रयत्न भए पनि नेपाल प्रहरी अझै तंग्रिसकेको छैन । चुनावका निम्ति दल दर्तामा देखिएको उत्साह र चुनावको विरोध गर्ने एमालेसमेत सो प्रक्रियामा आउँदा चुनाव हुने आशा पलाएको छ । अपितु, अराजकताको झिल्को कतैबाट निस्क्यो र त्यसले पुनः हिंसा र अराकता निम्त्यायो भने चाहिँ स्थिति फरक हुने अवस्था विद्यमान छ । यी यावत् समस्या र चुनौती चिर्दै चुनाव गराउनुपर्ने दायित्व यो सरकारको रहेको छ । चुनावका निम्ति शान्ति–सुरक्षा पहिलो सर्त हो र त्यसका निम्ति सरकारले सम्पूर्ण शक्ति लगाउनैपर्छ । अराजक समूहका गतिविध िनिस्तेज पार्ने, असन्तुष्टहरुका माग संवोधन गर्ने र दलहरुसँगको दूरी कम गराउने काममा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यति हुँदा चुनावी माहौल बन्छ । तर, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की वा राज्य संयन्त्रको प्रयासबाटमात्र देशले स्थायित्व पाउन सक्दैन । स्थायित्वका निम्ति सरकारले पहलकदमी लिनुपर्छ भने नागरिक समाज र राजनीतिक दलहरुले त्यसलाई साथ दिनुपर्छ । यो बेला हरेक क्रान्तिको अगुवाइ गरेको तथा संकटको बेला नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस अन्य दलभन्दा बढी जिम्मेवार बन्नुपर्छ । तर, कांग्रेस लामो समयदेखि आन्तरिक किचलोमा रुमल्लिएको छ । १५ औं महाधिवेशनको मिति तय भने पनि तोकिएकै समयमा महाधिवेशन हुन्छ भन्नेमा त्यही दलका नेताहरु विश्वस्त छैनन् । नियमित महाधिवेन पनि रोक्न खोज्ने तथा विशेष महाधिवेशनको माग गर्ने समूहबीचको झगडाका कारण कांग्रेस कमजोरमात्र देखिएको छैन,आफ्नो दायित्वबाट पनि विमुख बन्दै गइरहेको छ । आफ्नो दायित्वबाट विमुख हुने दलहरु इतिहासको गर्तमा हराउँछन् । कुन समयमा के गर्ने भन्ने वोध नहुने नेताहरु कालान्तरमा खलपात्रमा दर्ज हुन्छन् । कांग्रेसले अहिले अख्तियार गरेको बाटो त्यही दिशातर्फ मोडिएको छ । तर, ढिला भए पनि समय घर्केको छैन । महाधिवेशन पार्टीको आन्तरिक कुरा हो, यहाँ देशलाई सही दिशा निर्देश गर्नुपर्ने आवश्यकता छ । अतः यो आवश्यकतावोध गर्दै कांग्रेस आन्तरिक विवादबाट छिटो मुक्त होस् र अन्य राजनीतिक दललाई पनि देशको स्थायित्वको निम्ति एकजुट बनाउने कामको नेतृत्व लेओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->