बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरेली नवरत्न : निरन्तरता पाओस्

पोखरेली नवरत्न : निरन्तरता पाओस्

स्थापना दिवसको अवसरमा महानगरले त्यही दायित्व निर्वाह गरेको हो । यसरी समाजलाई योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गर्दा सामाजिक भावको विकास हुन्छ । अन्य नागरिकहरुमा पनि केही गरौँ भन्ने सोच पलाउँछ । त्यसको लाभ समाजले पाउँछ ।


  • Dhorpatan News
  • पुष ६ २०८२, आइतबार

पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जना व्यक्तित्वलाई ‘पोखरेली नवरत्न सम्मान–२०८२’ ले सम्मानित गरेको छ । नवरत्न सम्मान प्राप्त गर्नेमा नेपथ्य ब्यान्डका गायक तथा संगीतकार अमृत गुरुङ, वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ, स्वास्थ्य क्षेत्रबाट प्रा.डा.बुद्धिबहादुर थापा, पत्रकारिता क्षेत्रबाट तीलकमान गुभाजु, महिला उद्यमशीलता तथा सशक्तिकरणबाट रामकली खड्का र पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माणका परिकल्पनाकार एवं उद्योगी चन्द्रकान्त बराल रहेका छन् । यसैगरी खेलकुद र शिक्षा क्षेत्रमा पु¥याएको योगदानका लागि प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, समाजसेवा र उद्यमीबाट चन्द्रकृष्ण कर्माचार्य तथा शिक्षा र उद्योग क्षेत्रबाट पूर्वमन्त्रीसमेत रहेका हरिप्रसाद पाण्डेलाई नवरत्न सम्मान गरिएको हो । उनीहरुलाई महानगरले जनही २ लाख २ हजार २ सय, तक्मा र ताम्रपत्र पनि प्रदान गरेको थियो ।

सम्मानित व्यक्तित्वहरु निसन्देह सम्मानयोग्य थिए । महानगरले ती व्यक्तिहरुलाई सम्मानित गर्दै आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेको छ । पोखरा महानगरपालिकाले पहिलोपटक २०५५ सालमा नवरत्न प्रदान गरेको थियो । २०५९ मा दोस्रोपटक यो सम्मान प्रदानग गरियो । २०७२ सालमा पोखरेली रत्नको रुपमा सम्मान अर्पण गरिए पनि त्यहाँ नवरत्नहरु थिएनन् । महानगरले योपटक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम पोखरेली नवरत्न सम्मान कार्यविधि–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । कार्यविधिमा कस्ता व्यक्तिहरुले सम्मान प्राप्त गर्न सक्छन् भन्ने प्रष्ट पारिएको छ । कार्यविधिकै आधारमा योपटक दिइएको सम्मानमा कुनै विवाद आएन । कार्यविधिले हरेक पाँच वर्षमा पोखरेली नवरत्न प्रदान गर्ने व्यवस्था मिलाएको छ । जुन स्वागतयोग्य छ ।

महानगर नजिकको सरकार हो । नागरिकका दुःख–सुखमा साथ दिने, विकास–निर्माणका कार्यमा सरिक गराउने र प्रोत्साहन गर्नु पालिकाको दायित्व हो । स्थापना दिवसको अवसरमा महानगरले त्यही दायित्व निर्वाह गरेको हो । यसरी समाजलाई योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गर्दा सामाजिक भावको विकास हुन्छ । अन्य नागरिकहरुमा पनि केही गरौँ भन्ने सोच पलाउँछ । त्यसको लाभ समाजले पाउँछ । महानगरले स्थापना दिवसको अवसरमा स्तूत्य कार्य सम्पादन गरेको छ । नागरिकको योगदानको कदर गरेको छ । कार्यविधि निर्माण गरिसकेकाले यो सम्मानको निरन्तरताको अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->