बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानको हितका निम्ति शीतभण्डार निर्माण

किसानको हितका निम्ति शीतभण्डार निर्माण

शीतभण्डार निर्माण गर्ने र किसानलाई आफ्नो उत्पादनको बढी मूल्य प्राप्त हुने अवसर दिलाउन राज्यले नै अग्रसरता लिनुपर्छ । पालिकाहरुले पनि यस्तो काम गर्न सक्छन् । त्यसो हुँदा आयात प्रतिस्थापनमा पनि सघाउँछ भन्ने मनन गर्नुपर्छ ।


  • Dhorpatan News
  • पुष ९ २०८२, बुधबार

हामीले देशलाई कृषिप्रधान भनेर चिनाएको धेरै भयो । बाँदर आतंक र वैदेशिक रोजगारले खेत–पाखा बाँझो भए पनि हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा नै निर्भर रहेको छ । तर, नेपालको कृषि कर्मको व्यावसायिकीकरण भएको छैन । निर्वाहमुखी कृषि प्रणालीका कारण वर्षदिन काम गरेर आधा वर्ष खान नपुग्ने अवस्था अद्यावधि छँदैछ । परम्परागत खेती प्रणालीका कारण पनि दुःख र लागत धेरै आम्दानी थोरै हुने अवस्था छ । यी यावत् समस्याका वावजुद मानिसहरु बाध्य भएर कृषि कर्ममा लाग्न बाध्य छन् । देशको ठूलो जनशक्ति कृषि कर्ममा लागे पनि बेसाहाको भर पर्नुपर्ने बाध्यतामा नेपाल छ । चामलदेखि दालसम्म, आँटादेखि अदुवासम्म आयात गर्नुपर्ने अवस्थाको देशले आफूलाई कृषिप्रधान भनिरहँदा लाजमर्दो अवस्था छ ।

अर्कोतिर राज्यले कृषिलाई प्राथमिकतामा राखेको छ । अनुदानदेखि आधुनिकीकरणसम्मका परियोजना संचालन गरेको छ । तर, यी परियोजनाहरु वास्तविक कृषककहाँ पुग्न सकेको छैन । टाठाबाठा तथा शक्तिकेन्द्रसँग नजिक रहेकाहरुले त्यसको दुरुपयोग गरिरहेका छन् । कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउनेतर्फ राज्यको खासै ध्यान छैन । जग्गा खण्डिकरण भइरहेको छ । कहाँ कुन फसल लगाउँदा प्रतिफल बढी आउँछ भन्नेतिर पनि कसैको ध्यान छैन । असार १५ लाई धान दिवस मान्ने अनि वर्षदिन सुतेर बस्ने राज्य संयन्त्रका कारण किसानहरु प्रताडित छन् । उत्पादित बस्तुको बजारीकरणमा पनि राज्यले खासै सहयोग पु¥याएको छैन । अहिले सुन्तलाको मौषम छ । किसानहरुले यति सुन्तला फलाए भन्ने समाचार पनि आइरहेका छन् । तर, उत्पादित सुन्तलाको भण्डारण गर्दै गर्मीयाममा किसानलाई बढी मूल्य पाउने अवस्थाको सिर्जनातर्फ राज्यले ध्यान दिएको छैन । शीतभण्डार निर्माण गर्ने र किसानलाई आफ्नो उत्पादनको बढी मूल्य प्राप्त हुने अवसर दिलाउन राज्यले नै अग्रसरता लिनुपर्छ । पालिकाहरुले पनि यस्तो काम गर्न सक्छन् । त्यसो हुँदा आयात प्रतिस्थापनमा पनि सघाउँछ भन्ने मनन गर्नुपर्छ ।

यान्त्रिकीकरण, सिंचाइ, मल र बीउको सुनिश्चितातर्फ पनि राज्यले ध्यान दिनैपर्छ । हरेक वर्ष किसानहरुले खेती लगाउने बेला मल पाउँदैनन् । मल नै नपाएपछि उत्पादन हुने कुरै भएन । उत्पादित बस्तुहरु कौडीको मूल्यमा बेच्ने विवशताबीच कृषकहरुले सम्मान पनि पाउँदैनन् । कृषिकर्म सबैभन्दा चुत्थो पेशाको रुपमा दर्ज छ । जबसम्म कृषि सबैभन्दा सम्मानित पेशा हुँदैन,किसानहरुलाई राज्यबाट प्रोत्साहन मिल्दैन तबसम्म कृषि क्षेत्रको विकास हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->