पछिल्लो समय अत्यधिक चर्चामा रहेका दुई पात्रहरु रवि लामिछाने र बालेन्द्र साहबीच राजनीतिक यात्रा सँगै अगाडि बढाउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र( बालेन) साहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब स्वतन्त्र बनेर चुनाव जितेका बालेन अब रास्वपाको नेतामा बदलिएका छन् । उनलाई आगामी चुनावमा प्रधानमन्त्रीको रुपमा पेश गर्ने पनि सहमतिमा उल्लेख छ । अर्थात् रास्वपा चुनावमा होमिँदा रवि अध्यक्ष र बालेन प्रधानमन्त्रीको उम्मेदवारको रुपमा रहने छन् । लामो छलफलपछि बालेन साहले सक्रिय दलगत राजनीतिमा होमिने निर्णय गरेका हुन् । यी दुईबीचको सहमतिले नेपाली राजनीति तरंगित बनेको छ । आशा गरिएका यी दुईबीचको मिलनलाई युवापंक्ति र विदेशमा रहेका नेपालीहरुले स्वागत गरेका छन् । यी दुई युवा सँगै अगाडि बढ्दा सत्तामा आलोपालो गर्दै आएका नेपाली कांग्रेस, एमाले र नेकपाका पुराना नेताहरुलाई विस्थापित गर्नका निम्ति यो सहमति आवश्यक थियो भन्ने धारणाले सामाजिक सञ्जाल रंगिएको छ ।
जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीको प्रस्ताव लत्याएका बालेन एकाएक किन रविपछि दोस्रो दर्जाको नेता बनेर दलीय राजनीतिमा होमिए भन्ने प्रश्नको उत्तर समय क्रममा पुष्टि हुने नै छ । अर्कोतर्फ, पार्टी गठन गरेको ६ महिना पनि नपुग्दै एकाएक संघीय संसदको चौठो ठूलो दल बनेको रास्वपा हाँकेका तथा उपप्रधानमन्त्रीसमेत भइसकेका रवि प्रधानमन्त्रीको दौडबाट किन पछि हटे भन्ने उत्तर अहिले नै खोज्नु पनि हतार हुन्छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका र आफू दोषी ठहरिए पुनः कानूनी कारवाही भोग्न तयार रहेको प्रतिवद्धतासहित जेल बाहिर आएका रविले यो सहमतिलाई देशका निम्ति भनेका छन् । तर कुरा स्पष्ट छ–यी दुई नेता पुराना दलहरुसँग प्रतिस्पर्धा गर्नका निम्ति नै एक भएका हुन् । एकल प्रयासले सत्ता वरपर घुम्ने पुराना दललाई तह लगाउन सकिँदैन भन्ने मनोविज्ञानबाटै यी दुईबीचको सहयात्राको सहमति सम्भव भएको हो । सहमतिका बुँदाहरु सार्वजनिक भएका छन् । ती बुँदा कार्यान्वयनमा ल्याउँदा उनीहरुको सहयात्रा दिगो बन्नेछ तर सहयात्रा किन भन्ने प्रश्नको उत्तर बोकेरै यी दुई नेता चुनावी मैदानमा जानुपर्नेछ ।
पुराना दलहरुले सुशासन दिन सकेनन् । भ्रष्टाचारमा लिप्त भए, आफन्तवादलाई मलजल गरे,रोजगारी सिर्जना भएन । देशका संवैधानिक तथा सुरक्षा अंगहरुमा हस्तक्षेप गरे । जनता उनीहरुको हर्कतदेखि वाक्क थिए । गएको भदौमा भएको जेन–जी आन्दोलनलाई जनताले दिल खोलेर साथ दिए । सरकार परिवर्तन भयो । सरकार परिवर्तनसँगै अब नयाँ चुनाव नजिकिँदै छ । नयाँ चुनावमा नागरिकले नयाँ अनुहार चाहेका छन् । निश्चय पनि २–२ पटक संसदीय चुनाव जितेका रवि र काठमाडौंमा मेयर बनेका बालेन जनताले चाहेको अनुहार बन्न सक्छन् । तर, त्यतिले मात्र पुग्दैन । उनीहरुले यसअघिका नेताहरुले गरेजस्तो हर्कत नदोहो¥याउने, सुशासनको प्रत्याभूति गर्ने तथा लोकरिझ्याइँवाद र घृणाको हैन, समुन्नति र सद्भावपूर्ण राजनीति गर्ने प्रत्याभूति दिन सक्नुपर्छ । रविले आफूमाथि लागेको ठगीको अनुसन्धान प्रक्रियामा प्रभाव नपार्ने प्रण गर्नुपर्छ भने बालेनले अलोकतान्त्रिक चरित्र प्रदर्शनको बानी छाड्नुपर्छ । यसका अलावा यी दुई नेताले आफ्नो राजनीतिक दर्शन के हो भन्ने कुरा पनि जनतासामु छर्लङ्ग पार्नुपर्छ । अहिलेलाई चाहिँ यी दुईको मिलनले पुराना दलहरुले सच्चिने मौका पाएका छन् । यी दुईले चाहिँ अर्कालाई सिध्याउनकै निम्ति गठजोड नगरिएको र साँच्चिकै राष्ट्रका निम्ति सँगै हिँड्न तयार भएको प्रमाणित गर्नुपर्नेछ ।




