बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेसको उल्टो मति

कांग्रेसको उल्टो मति

कांग्रेस जग हँसाउने, विधि र प्रक्रियाको धज्जी उडाउने तथा नैतिकतालाई धोती लगाउने बाटोमा हिँड्दा उसको अस्तित्वसँगै लोकतान्त्रिक परिपार्टीको वकालत गर्ने शक्तिसमेत कमजोर बनेको छ ।


  • Dhorpatan News
  • पुष २१ २०८२, सोमबार

गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपालको परम्परागत राजनीतिक संरचना नराम्रोसँग हल्लिएको छ । पुराना दलको सत्ताकेन्द्रित राजनीति,संवैधानिक अंगहरुमा चरम राजनीतिकरण,राज्यस्रोतको अत्यधिक दोहनविरुद्ध युवाहरु सडकमा आए । युवा विद्रोहको सो बिस्फोटले शक्तिशाली दुई तिहाइको सरकार अपदस्थमात्र भएन,संख्या बलशाली हैन÷हुँदैन भन्ने पुष्टि पनि गरिदियो । पुराना राजनीतिक दल र तिनका शीर्ष नेतृत्वको औचित्यमाथि गम्भीर प्रश्न खडा गरिदियो ।

लामो समयसम्म सत्ताको हालिमुहाली गरेका ठूला दलका शीर्ष नेतामध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन समयमा कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पे । परिवर्तनको पक्षधर भएको सन्देश प्रवाह गरे । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि महाधिवेशनको घोषणा गरे तर पार्टी एकीकरण गर्दै शक्ति आफूसँगै राख्न सफल बने । अर्को ठूलो दल एमालेका अध्यक्ष केपी ओली त्यो भीडमा पृथक देखिए । लोकलाजबाट जोगिन उनले घुमाउरो बाटो रोजेनन् र सेनाको सुरक्षा घेराबाट बाहिर आउनासाथ खुलेआम नवयुवाहरुको आन्दोलनलाई चुनौती दिए । लगत्तैको ११औं महाधिवेशनमार्फत् पुनः अध्यक्षमा दोहोरिए । नवयुवाको चाहना यस्तो थिएन । उनीहरु कम्तिमा पुराना दलका शीर्ष नेताहरुले राजनीतिमा नयाँ पुस्तालाई अगाडि बढाएको हेर्न चाहन्थे । पार्टीभित्रकै युवाहरु पनि शीर्ष नेताहरुले समयको माग बुझेर निर्णय गरुन् भन्ने पक्षमा थिए । तर, कार्यवाहकको जिम्मेवारी पूर्णबहादुरलाई सुम्पेर सक्रिय राजनीतिबाट विश्रामको सन्देश दिएका कांग्रेस नेता शेरबहादुरले पनि ओलीकै शैली पच्छ्याए । महाधिवेशन सार्ने प्रपञ्चमा सामेल भए । त्यसपछि कांग्रेसमा के भइरहेको छ, जगजाहेर नै छ । एउटा लोकतान्त्रिक पार्टी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा पनि त्यसको औचित्य सकिएकाले चुनावमा जानुपर्ने जिकिर संस्थापनको रहेको छ । चुनावमा जाने वा तोकिएको समयमा महाधिवेशन गर्ने भन्ने विषय कांग्रेसको आन्तरिक मामिला हो तथापि देशको सबैभन्दा लोकतान्त्रिक पार्टीभित्र फरक मतलाई जसरी दबाइँदै छ,त्यो चाहिँ लोकतान्त्रिक चरित्र विपरीत छ ।

विभिन्न आन्दोलनको नेतृत्व गरिसकेको र लोकतान्त्रिक धारको नेतृत्व गर्ने यो पार्टी आन्तरिक लोकतन्त्रको अभ्यासबाट विमुख भइरहँदा त्यसले नयाँ लोकरिझ्याइँवादमा रमाउने शक्तिको लागि ठाउँ दिइरहेको छ । लोकतन्त्रको लागि यो दुःखलाग्दो विषय हो । अर्कोतर्फ,कांग्रेसले समयको गतिलाई पूर्णत व्यवास्ता गर्दै आफू कमजोर हुने बाटोमात्र रोजेको छैन,पार्टी सुध्रेला कि भन्ने आशामा रहेका नवयुवालाई निराश पारेको छ । कांग्रेस जग हँसाउने, विधि र प्रक्रियाको धज्जी उडाउने तथा नैतिकतालाई धोती लगाउने बाटोमा हिँड्दा उसको अस्तित्वसँगै लोकतान्त्रिक परिपार्टीको वकालत गर्ने शक्तिसमेत कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->