बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस विशेष महाधिवेशन र दलीयकरण अन्त्यको घोषणा

कांग्रेस विशेष महाधिवेशन र दलीयकरण अन्त्यको घोषणा

कांग्रेसको पार्टी जीवन सुधारका निम्ति आयोजित यो विशेष महाधिवेशनले देश र जनताका निम्ति यत्तिको घोषणा चाहिँ गरेको छ । अन्य दलहरुलाई पनि यी एजेन्डाबारे सोच्न बाध्य बनाइदिएको छ । यो नै विशेष महाधिवेशनको महत्वपूर्ण उपलब्धि हो ।


  • Dhorpatan News
  • पुष २९ २०८२, मंगलबार

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोडबलमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा के प्रभाव पार्ला ? कांग्रेस सिंगो रहने वा नरहने ? कसको औचित्य समाप्त हुने र को नेतृत्वमा आउने ?भन्नेजस्ता यावत प्रश्नहरुको उत्तर समयले नै दिनेछ । तर, प्रष्ट छ–कार्यकर्ताले जसको नेतृत्व स्वीकार्छन् वा नेतृत्वमा पु¥याउँछन्, ऊ जिम्मेवारीसहित स्वतः स्वीकार्य हुनेछ । विधानमै टेकेर आयोजित विशेष महाधिवेशनले सबैजसो प्रक्रिया पूरा गरेकाले सम्भवतः कानूनी परीक्षणमा पनि यसले वैधानिकता पाउने छ । तर, अन्तिम फैसला भने न्यायालयले नै गर्नेछ ।

कांग्रेसको यो महाधिवेशनले पुरानो लोकतान्त्रिक पार्टीका आम कार्यकर्तामा उत्साह र आशाको संचार गराएको छ । बोलिएका र पारित गरिएका विषयहरु कार्यान्वयन हुन बाँकी नै किन नहोस् ! पार्टीको आन्तरिक जीवनदेखि राष्ट्रिय राजनीतिक सवालहरुमा आफ्नो दृष्टिकोण दिँदै विशेष महाधिवेशनले कांग्रेसलाई ‘राष्ट्रिय शक्ति’को दाबी गर्ने ठाउँमा पु¥याएको छ ।

मुख्य कुरा– गएको भदौमा भएको जेन–जी आन्दोलनको मर्मसँग जोडिएर विशेष महाधिवेशनले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय सरोकारका मुद्दाहरुमा आफ्नो दृष्टिकोण प्रष्ट पारेको छ । मुख्य रुपले कांग्रेसले अहिले संविधान संशोधनदेखि संवैधानिक र सार्वजनिक संस्थामा दलीयकरण अन्त्य, सुशासनको प्रत्याभूति तथा आगामी यात्राबारे सुस्पष्ट मार्ग पनि देखाएको छ । महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्तावमा सु्शासन स्थापनाका लागि गर्नुपर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ । यता, अर्का महामन्त्री गगन थापाबाट प्रस्तुत प्रतिवेदनमा संवैधानिक र सार्वजनिक संस्थामा दलीयकरण अन्त्य गर्नका निम्ति तय गर्नुपर्ने कार्यविधिको व्याख्या छ । उनले ‘नेपाली कांग्रेस गैरलोकतान्त्रिक तथा अवाञ्छित प्रवृत्तिको अन्त्यका लागि ठोस नीतिगत र संरचनागत सुधार गर्न प्रतिबद्ध छ’ भन्ने सन्देश प्रवाह गरेका छन् ।

यी घोषणाहरु कागजमा सीमित भएनन् भने साँच्चै देशले नयाँ दिशा लिन्छ । यो कांग्रेसको विशेष महाधिवेशनले पारित गरेको प्रतिवेदन भए पनि आम नागरिकको चाहना हो । जेन–जी आन्दोलनको भावना हो र देशको आवश्यकता हो । त्यो आवश्यकताप्रति बेखबर देखिनु,अन्देखा गर्नु र आसेपासे पोस्ने राजनीतिक धन्दा चलाउँदा देश बिग्रेको हो । कांग्रेसको एउटा समूहले त्यो सत्यको मनन गरेको छ । बिग्रिएको प्रणाली सुधारको लागि कार्ययोजना ल्याएको छ र यही मार्गचित्रमा राजनीतिक समझदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ । कांग्रेसको पार्टी जीवन सुधारका निम्ति आयोजित यो विशेष महाधिवेशनले देश र जनताका निम्ति यत्तिको घोषणा चाहिँ गरेको छ । अन्य दलहरुलाई पनि यी एजेन्डाबारे सोच्न बाध्य बनाइदिएको छ । यो नै विशेष महाधिवेशनको महत्वपूर्ण उपलब्धि हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->