बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस नयाँ नेतृत्वको दायित्व

कांग्रेस नयाँ नेतृत्वको दायित्व

लोकप्रियतावादको बुइ चढेर राजनीतिमा होमिएका निम्ति पनि गगनहरु चुनौतीको रुपमा खडा भएका छन् । यी दुबै समूहको तारोमा आफू पर्दैछु भन्ने चेतसहित गगनहरु अगाडि बढ्नुपर्छ । फरक हौँ भन्नु र भएर देखाउनुमा भिन्नता छ ।


  • Dhorpatan News
  • माघ ४ २०८२, आइतबार

निर्वाचन आयोगले हालै सम्पन्न विशेष महाधिवेशनले चुनेको नयाँ नेतृत्वलाई वैधानिकता प्रदान गरेसँगै नेपाली कांग्रेस ५० वर्षभन्दा कम उमेरका गगन थापाको काँधमा आइपुगेको छ । झण्डै ८० वर्ष पुरानो दलमा ५९ वर्षका गगनको नेतृत्व सानो प्रयत्नले सम्भव भएको हैन । पुस्तान्तरण र रुपान्तरण प्रष्ट एजेण्डा बोकेर निरन्तर संघर्ष गर्दै आएका गगनहरुका निम्ति भदौ २३ र २४ को जेन–जी आन्दोलनले ‘गर वा मर’को स्थितिमा पु¥यायो । पार्टी सभापतिमाथि आक्रमण भयो,गगन स्वयंको घर जलाइयो । पुरानो नेतृत्वले गरेका गलत क्रियाकलापकै कारण जेन–जी आन्दोलन सम्भव भएको निश्कर्षमा गगनहरु पुगे । कांग्रेसलाई जीवित राख्ने हो भने, परिवर्तनको नेतृत्व गरेको पार्टीको सान्दर्भिकता कायम राख्ने हो भने सच्चिनुको विकल्प नभएको ठहरसहित उनीहरुले सार्वजनिक रुपले नै आत्मालोचना गरे । सच्चिने प्रण गरे र पुरानो नेतृत्वलाई सक्रिय राजनीतिबाट पर बस्न आग्रह गरे । तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले त्यो दिशामा कदम पनि बढाए । पार्टीको प्राधिकारबाट पर हट्दै पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पे । त्यहाँसम्म ठीकै थियो । तर, कार्यवाहक सभापति मंसिरभित्र विशेष महाधिवेशन सम्पन्न गर्ने दिशामा अगाडि बढेन । त्यसपछि विशेष महाधिवेशनको माग भयो र झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे । त्यो मागको सुनुवाइ होस् र सहमतिमै नयाँ नेतृत्व चयन होस् भन्ने आम कार्यकर्ताको चाहना विपरीत कांग्रेस नेतृत्व अगाडि बढेपछि गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरे । पार्टी विधान अनुसार आयोजित महाधिवेशनले नयाँ नेतृत्व चयन ग¥यो । निर्वाचन आयोगले त्यसलाई स्वभाविक रुपले वैध ठहर ग¥यो ।

कांग्रेसको पुरानो अर्थात् शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयलाई चुनौती दिने भएको छ । अदालतको ढोका ढक्ढक्याउन सो समूह स्वतन्त्र छ । सम्मानित अदालतबाट आउने फैसलालाई सबैले सम्मान गर्नैपर्छ । तर,समयको माग नबुझ्ने त्यो समूहले विशेष महाधिवेशन आह्वान भएकै दिन नैतिक रुपले पराजय भोगिसकेको छ । कांग्रेस नेतृत्व अब परिवर्तनकारी पुस्तामा हस्तान्तरण भइसकेको छ । बरु, गगन र उनी नेतृत्वको कांग्रेसले छिटोछिटो गर्नुपर्ने कामको फेहरिस्त भने लामो छ अनि परीक्षा पनि सुरु भइसकेको छ । फागुन २१ को लागि तोकिएको चुनावको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका उम्मेदवार छनोटबाटै जनताले उनीहरुको मूल्याङ्कन सुरु गर्नेछन् । कांग्रेस बदलिएको अनुभूति हुने गरी उम्मेदवार छनोट गर्नु उनीहरुको पहिलो दायित्व हुनेछ । कलंकको टीका लगाएका र जनताबाट तिरस्कृत भएकाहरुलाई उम्मेदवार बनाइयो भने गगनहरुमाथिको भरोशा टुट्ने छ । अतः गगनहरुले टिकट वितरणमा विशेष ध्यान दिनुपर्नेछ । यस्तै महाधिवेशनले पारित गरेका राजनीतिक प्रस्तावहरु कार्यान्वयन गराउनेतर्फ यात्रा प्रारम्भ गर्नु उनीहरुको दोस्रो काम हुनुपर्छ । कांग्रेसको विशेष महाधिवेशनले संवैधानिक निकायमा हुने नियुक्तिदेखि संविधान संशोधनका मुद्दाहरुमा प्रष्ट दृष्टिकोण पेश गरेको छ । त्यो दस्ताबेज अन्य दल र नेपालको हितका निम्ति उपयोगी छ । त्यसको कार्यान्वयनको लागि सुरुमा जनमत सिर्जना एवं आम राजनीतिक सहमति कायम गर्न सकेमामात्र गगनले उद्घोष गरेजस्तो कांग्रेस राजनीतिक दलमात्र नभएर शक्ति हुनेछ । नेपाली राजनीतिकलाई आसेपासेवादबाट मुक्ति दिलाउन,विधिको शासन र सुशासनको प्रत्याभूति दिलाउन कांग्रेस नयाँ नेतृत्वले स्पष्ट मार्गचित्र प्रस्तुत गर्नैपर्छ । गगनहरुको आगमनले नेपालका पुराना राजनीतिक दलहरुका निम्ति टाउको दुखाइ बनेको एमाले अध्यक्ष केपी ओली र कांग्रेसको एउटा खेमाको पछिल्लो अभिव्यक्तिले प्रष्टयाएको छ । लोकप्रियतावादको बुइ चढेर राजनीतिमा होमिएका निम्ति पनि गगनहरु चुनौतीको रुपमा खडा भएका छन् । यी दुबै समूहको तारोमा आफू पर्दैछु भन्ने चेतसहित गगनहरु अगाडि बढ्नुपर्छ । फरक हौँ भन्नु र भएर देखाउनुमा भिन्नता छ । गगनहरुले साँच्चै आफूलाई फरक भएको प्रमाणित गर्नुपर्छ । यो एउटा दलको मात्र नभएर फरक विचारसहित भएको नेतृत्व परिवर्तन हो भन्ने पुष्टि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->