नेपालको संविधान २०७२ ले आवधिक निर्वाचन तथा दलीय व्यवस्थाको प्रत्याभूति गरेको छ । आवधिक निर्वाचन राजनीतिक दलको लागि चुनाव परीक्षा हो । भला,बालिग नागरिकसँग स्वतन्त्र रुपले चुनाव लड्न पाउने अधिकार चाहिँ छ । यतिबेला दलहरु उत्साहपूर्ण रुपले चुनावी अभियानमा होमिएका छन् । फागुन २१ गते घोषित चुनावका निम्ति यसअघि अस्तित्वमा रहेका पुरानादेखि नयाँ दलका उम्मेदवारहरु मैदानमा छन् । उम्मेदवारले स्वतन्त्रतापूर्वक,बिना डर–त्रास चुनावी प्रचार गर्न पाउनुपर्छ । सुरक्षाको प्रत्याभूति राज्यको कर्तव्य हो भने चुनावी प्रचारका उपक्रममा आचारसंहिताको पालना गराउनु चाहिँ निर्वाचन आयोगको दायित्व हो । सरकार र निर्वाचन आयोग दुबैले चुनावलाई निश्पक्ष,धाँधलीरहीत र शान्तिपूर्ण रुपले सम्पन्न गराउने प्रतिवद्धता जाहेर गरेका छन् । जुन सह्रानीय छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार आफूमाथि विमानस्थलमा अनावश्यक रुपले खानतलासी लिइएको गुनासो गरेका छन् । एमाले अध्यक्ष ओलीले आफूमाथि दुव्र्यवहार भएकोमा क्षोभ प्रकटमात्र गरेका छैनन्,सरकारको नियतमाथि पनि प्रश्न उठाएका छन् । साँच्चै उनीमाथि अनावश्यक र अनुचित व्यवहार भएको भए राज्यले त्यसको स्पष्ट जवाफ दिनुपर्छ । किनकि,चुनावको मुखमा कसैलाई होच्याउने वा जानाजान फरक व्यवहार गर्ने छुट राज्यसँग छैन ।अझ,पूर्वप्रधानमन्त्रीसमेत रहेको व्यक्तिमाथि गरिने व्यवहार मर्यादित नै हुनुपर्छ ।
जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सुरुमा दलहरुसँग दूरी कायम गरेकै हो । चुनाव गराउन दलहरुको सहयोग अपरिहार्य रहेको महसुस गरेपछि दलहरुसँग सरकारले संवाद ग¥यो, दलहरु चुनावमा भाग लिन राजी भए र अहिलेको वातावरण निर्माण भयो । यो तथ्यलाई राज्यले बिर्सन मिल्दैन । चुनाव भनेको सबै राजनीतिक दलका निम्ति हो र चुनावको मुखमा राज्य संयन्त्र थप संवेदनशील हुनुपर्छ । अमूक व्यक्तिलाई बढी महत्व वा अर्कोलाई कम महत्व दिने अनि होच्याउने काम हुनुहुँदैन । अहिले सरकार जेन–जीहरु संलग्न नयाँ पार्टीप्रति बढी उदार र पुराना दलहरुप्रति अनुदार देखिएको आँकलन भइरहेको छ । त्यस्तो नगरियोस्÷नहोस् । देशमा चुनाव नचाहने शक्तिहरु पनि क्रियाशील छन् । लुटिएका हतियार र कैदीबन्दीहरुको त्रास पनि उस्तै छ । यहाँ सानोमात्र त्रुटि हुँदा देश फरक बाटोमा जान सक्छ । यो संवेदनशीलतालाई नजरअन्दाज नगरियोस् । सबैलाई सजिलै चुनावी प्रचारमा लाग्ने माहौल निर्माण गरियोस् ।




