बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन्तला खेतीलाई प्रोत्साहित गरौँ

सुन्तला खेतीलाई प्रोत्साहित गरौँ

पछिल्लो समय सुन्तलामा रोगको प्रकोप देखिएको छ । पाक्नु अगावै पहेंलिने र झर्ने, बोट नै मर्ने यो प्रकोपका कारण लमजुङसहितका केही जिल्लाका किसानहरुले सुन्तला खेती छाडेका छन् । सुन्तलाबाट राम्रै उत्पादन लिएका ती किसानलाई पुनः सुन्तला र अमिलो फलफूल खेतीमा फर्काउन यस्ता रोगको निदानमा विशेष ध्यान दिनैपर्छ ।


  • Dhorpatan News
  • माघ २८ २०८२, बुधबार

बजारमा सुन्तला निख्रिँदो क्रममा छन् । त्यसैले मंसिरको सुरुतिरसँग तुलना गर्ने हो भने भाउ दोब्बर बनेको छ । बजारमा म्याग्दीसहित गण्डकीका बागलुङ,पर्वत,स्याङ्जा र कास्कीका सुन्तलाहरु अझै देखिएका छन् । म्याग्दीसहितका केही सुन्तला बगान अझै पनि पहेँलै भएको समाचारहरुमा देखिएका छन् । ‘फलानो किसानले सुन्तलाबाट यति कमायो’ भन्ने समाचारले हर्षित पनि तुल्याएको छ । मुख्य कुरा, बजारमा जताततै अहिलेसम्म भारतीय सुन्तला देखिएको छैन । आउन भने थालेको छ । कृषि विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च गुणस्तरका सुन्तला उत्पादन भएको थियो । यो वर्षको हिसाब आइसकेको छैन तर रोगका कारण अघिल्लो वर्षभन्दा कम उत्पादन भएको गुनासा भने सुनिएको छ ।

३ अर्बको सुन्तला उत्पादन हुनु चानचुने कुरा हैन । युवा विदेशिने क्रम बढेको बाँदर आतंकले गाउँहरु खाली भएको,नेपाल संलग्न नै नभएको युद्धमा भकाभक नेपाली मारिएको,ठूला भ्रष्टाचारमा रानीतिक नेतृत्वको संलग्नताजस्ता दिक्कलाग्दा समाचारका बीचमा आएको यस्ता समाचारले कृषिमा भएको अपार सम्भावना उजागरमात्र गरेको छैन,मिहिनेत गरे नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश पनि प्रवाहित गरेको छ ।

गण्डकीको मनाङ र मुस्ताङमा अमिलो फलफूल फल्दैन । तर,बाँकी सबै जिल्ला अमिलो फलफूलको लागि उर्वर छ । किसानलाई उत्प्ररित गरियो, बिरुवा, आवश्यक प्रावधिक सहयोग, औषधि अनि उत्पादित फलफूलको बजारीकरणमा सघाउने हो भने यो प्रदेशले अमिलो फलफूलबाट ठूलो आम्दानी लिनसक्ने प्रसस्त सम्भावना रहेको प्रमाणित भएको छ । साँच्चै किसानलाई प्रोत्साहित गर्ने हो भने, युवाहरुलाई कृषिमै लगाउन र विदेशिनबाट रोक्ने काम पनि सम्भव हुन्छ । तर, यसको लागि सरकारले विशेष चासो दिनुपर्छ । विचौलियाले मात्र लाभ पाउने र किसानले लागत मूल्य पनि नपाउने प्रवृत्तिको अन्त्य,बाली बीमा,समयमा मल, बिऊ र बिरुवा प्राप्ति,चाहेको बेला प्राविधिक सहयोग गर्ने वातावरण बनाइनुपर्छ । यसका साथै वास्तविक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गर्ने प्रणाली पनि विकास गरिनुपर्छ ।

पछिल्लो समय सुन्तलामा रोगको प्रकोप देखिएको छ । पाक्नु अगावै पहेंलिने र झर्ने, बोट नै मर्ने यो प्रकोपका कारण लमजुङसहितका केही जिल्लाका किसानहरुले सुन्तला खेती छाडेका छन् । सुन्तलाबाट राम्रै उत्पादन लिएका ती किसानलाई पुनः सुन्तला र अमिलो फलफूल खेतीमा फर्काउन यस्ता रोगको निदानमा विशेष ध्यान दिनैपर्छ । यसो गर्दा खेती बिस्तारमात्र हुँदैन,आत्मनिर्भर अर्थतन्त्र पनि निर्माण हुन्छ । चुनावको मुखमा केही नेताहरुसँग किसानहरुले यो समस्या सुनाएका छन् । नेताले जादूको छडीजस्तो गरी रोगको निदान खोज्ने उद्घोष पनि गरेका छन् । तर, रोग त्यत्तिकै हराउँदैन । रोगको उपचार खोज्न कारण खोज्नुपर्छ, त्यसको उपचार विधि र औषधि हुन्छ । सुन्तलामा लाग्ने रोगको उपचारको लागि लामो समय लाग्ने देखिएको छ । यसमा चाहिँ कृषि मन्त्रालयले नै विशेष चासो दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->