धौलागिरी प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव हुँदा सामान्य बिरामी पनि पोखरा जानुपर्ने बाध्य थियो । धेरै नागरिकले यो अस्पतालाई रिफर सेन्टर भनेर खिसिट्युरी गर्थे । जब कोरोना भाइरसको महमारी हुँदा धौलागिरि प्रादेशिक अस्पतालप्रति आम नागरिक र व्यवस्थापन समितिसहित गण्डकी प्रदेश सरकार, संघिय सरकारको नजर खिच्यो । पहिलो र दोश्रो कोरोना महामारीमा बिरामी बागलुङमा देखिएकै कारण यो अस्पतालमा सुधारका संकेत पनि देखिए ।
बिरामी बढ्नु राम्रो होइन, तर भएका बिरामीले सहज उपचार पाउने व्यवस्थापन नभएर दुःख पाउनु त्योभन्दा बढी नराम्रो हो । धौलागिरि अस्पतालमा अहिले धेरै सुधार भएको छ । अहिले त दैनिक ४ देखि ५ सय बिरामीले उपचार पाउने केन्द्रको रुपमा विकास भैरहेको छ । त्यतिमात्र होइन, यहाँ जटिल प्रकारका उपचार, अपरेशन संभव बन्दै गएका छन् । विशेषज्ञ डाक्टरहरुको नियमित उपस्थितीले अस्पतालले नागरिकको विश्वास जितेको छ । जटिल प्रकारका अपरेशन गर्न रगतको अभाव थियो, अहिले त्यो हटेको छ । रक्तसंचार केन्द्रले कैयौं मानिसलाई रगतको परीक्षण गरेर सम्पर्कमा राखेको छ । अब रगत अभाव हुँदा एकडेढ घण्टामा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
रगत अभावमा व्याकुल हुने नागरिकलाई ताजा रगतले बिरामीको उपचारमा सहज भएको छ । अपरेशन सहज बन्दै गएपछि अस्पतालप्रति विश्वास बढ्दैछ । यद्यपी स–साना त्रुटीले नागरिकमा अविश्वास त पैदा हुन्छ नै, तर सेवा प्रवाहमा गुणस्तरीयता थपिंदै जाँदा बागलुङका धेरै जनताले राहत पाउने वातावरण बनेको छ । पछिल्लो समय नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले संचालन गरेको रक्तसंचार केन्द्रमा सेतो रगत र पिआरपी उत्पादन शुरु गरेको छ ।
गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग गरेपछि ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन शुरु भएपनि थप आशा पलाएको हो । पछिल्लो समय डेंगी, सर्पदंश र मृगौलाको डायलायसिस गर्नुपर्ने बिरामी बढीरहेकोले रक्त संचार केन्द्रमा सेतो रगत अभाव थियो । सेतो रगत अभावमा धौलागिरि अस्पतालबाट धेरै बिरामी पोखरा रिफर गर्नुपर्ने बाध्यता हटाउन अब यो अवसर बनेर आएको भन्दै अस्पतालका चिकित्सक खुसी छन् ।
लामो प्रयासबाट ७० लाख बढी खर्च गरेर विगत चार वर्षदेखि अलपत्र रहेका मेसिन संचालन गर्ने वातावरण खुलेको छ । यो अवस्थाले स्वास्थ्य क्षेत्रमा सुधारको संकेत भने देखिएको हो । केही भएकै छैन भन्ने मान्यता चिरेर धौलागिरि अस्पतालले गरेको यो प्रगती र रेडक्रसले थपेको सेवालाई एकीकृत गरेर जान सकेमा सिंगो बागलुङबासीले सहज सेवा पाउने वातावरण बन्ने छ । रेडक्रसले थालेको अभियानलाई अन्य क्षेत्रले साथ दिने हो भने नागरिको उपचारमा ठूला शहरका सुविधा अस्पतालमा धाउनुपर्ने बाध्यता हुनेछ ।




