बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्कूल बस चालकको मापसे : निन्दनीय र अक्षम्य

स्कूल बस चालकको मापसे : निन्दनीय र अक्षम्य

स्कूले बालबालिकाको सुरक्षालाई केन्द्रमा राख्दै अनुगमन र गलत गर्नेमाथि कारवाही गरिनुपर्छ ।


  • Dhorpatan News
  • फाल्गुन ६ २०८२, बुधबार

कास्की प्रहरीले सोमबार विद्यालय समयमा चलेका बसहरुको अनुगमनको क्रममा ५ जना चालकहरु मादक पदार्थ सेवन(मापसे) गरेको अवस्थामा भेटिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसलगत्तै पोखरा महानगपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै चेकजाँजलाई नियमित गरिने र मापसे गर्ने चालकको लाइसेन्स खारेजीदेखि विद्यालय संचालकलाई १ लाखसम्म जरिवानाको घोषणा ग¥यो । तर,मंगलबार पनि चालकले उही हर्कत दोहो¥याए । थप ५ जना पक्राउ परे । पोखरामा २ सय ५० को आसपास निजी विद्यालय रहेका छन् । तीमध्ये अधिकांश विद्यालयले विद्यार्थीका निम्ति भन्दै बस सेवा संचालन गरिरहेका छन् । बिहान विद्यालय समय र बेलुका छुट्टिपछि ती बसहरुका चालकले मादक पदार्थ सेवन गरेकै समयमा बस हाँक्ने गरेको कुरा गाइँगुइँ सुनिएकै थियो । तर, बालबालिका बोक्ने बसका चालकहरु त्यतिसम्म लापर्वाह र गैरजिम्मेवार हुन्छन् भन्ने चाहिँ कल्पना गरिएको थिएन । चेकजाँचले भने अभिभावकलाई छाँगाबाट खसेजस्तै बनाएको छ । मादक पदार्थ सेवन गरेका चालककै कारण आफ्ना नानीबाबुहरु असुरक्षित भएको थाहा पाउँदा कसको मन पो डराउँदैन र ? अहिले जे कुरा सार्वजनिक भएको छ ,त्यो दण्डनीयमात्र नभएर अक्षम्य पनि छ । त्यस्तो गलत गर्ने चालकलाई उन्मुक्ति दिनु हुँदैन÷मिल्दैन । हदैसम्मको कारवाही गरिनुपर्छ । अर्कोतर्फ, चालकहरुको लापरर्वाहीसँग विद्यालय संचालकको अन्देखापन पनि जोडिएको छ । किन विद्यालय संचालकहरुले आफ्नो चालकको आनीबानीबारे जानकारी लिएनन् ? किन उनीहरु मादक पदार्थ सेवन गरेर नै बस हाँक्ने अवस्थामा पुगे ? भन्नेबारे पनि उत्तिकै गहिरो अध्ययन र अनुसन्धान जरुरी छ ।

बिहान विद्यालय समयमा स्कूल बसकै कारण पोखराको सडकमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । विद्यालयका ती बसहरुमध्ये अधिकांशले वातावरणीय मापदण्ड पूरा नगरेको यसअघि नै पुष्टि भइसकेको विषय हो । एउटै २ भन्दा बढी खेप गर्नुपर्ने बाध्यताका कारण ती बसका चालकहरुले यताउति वा पैदलयात्रीलाई हेर्दैनन् । जे गरे पनि हुन्छ भन्ने भावले बस हुँइक्याउँछन् । ट्राफिक प्रहरीले यो कुरा बेलाबेला उठाउँदै आएको पनि हो तर विद्यार्थी बोक्ने भएकाले त्यस्तो प्रवृत्तिमाथि कडाइ गरिएको छैन । चालकहरुले आफ्नो जिम्मेवारी भुलेको यो अवस्थामा स्कूल बसका अन्य कर्तुतहरुबारे पनि बहस चलाइनुपर्छ । पहिलो त चालकलाई जिम्मेवार बनाउनै पर्छ । दोस्रो विद्यालय संचालकहरुले यस्ता प्रवृत्ति अन्त्यको लागि कठोर कदम चाल्नुपर्छ । तेस्रोमा बढ्दो ट्राफिक व्यवस्थापनको चुनौतीलाई मध्यनजर राख्दै यस्ता बसहरु कतिबेला र कहाँसम्म र कतिवटा बस संचालन गर्ने भन्नेबारे पनि सोच्नुपर्छ । दुई वा दुईभन्दा बढी स्कूलले साझेदारीमा बस संचालन गर्ने वा सार्वजनिक यातायातलाई नै स्कूल बसको रुपमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि महानगरले सोच्न सक्छ । तत्काललाई भने स्कूले बालबालिकाको सुरक्षालाई केन्द्रमा राख्दै अनुगमन र गलत गर्नेमाथि कारवाही गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->