बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भकुण्डेमा सडक बनोस

भकुण्डेमा सडक बनोस

राज्यले अब स्तरीय सडक वा व्यवस्थित पदमार्गमध्ये कम्तीमा एक सुनिश्चित गर्नुपर्छ । पूर्वाधारमा लगानी बिना पर्यटन प्रवद्र्धन र कृषि आधुनिकीकरण सम्भव हुँदैन । सम्भावनाले भरिएको भकुण्डेलाई चुनावी भाषण होइन, आश्वासन होइन, सडक चाहिएको छ ।


  • Dhorpatan News
  • फाल्गुन १० २०८२, आइतबार

पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो बागलुङ नगरपालिका–१० को भकुण्डे। सदरमुकामबाट करिब १५ किलोमिटर दूरीमा अवस्थित यो बस्ती समुद्री सतहदेखि करिब २१०० मिटर उचाइसम्म फैलिएको छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी र मनास्लु हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बराह ताल, भ्यु–पोइन्ट र होमस्टेले भकुण्डेलाई विशिष्ट पहिचान दिएको छ। तर यति धेरै सम्भावनाबीच पनि समग्र नेतृत्वलाई जिस्काइरहेको छ जीर्ण सडकले ।

२२ वर्षअघि खुलेको सडकको ट्रयाक अझैसम्म स्तरोन्नति हुन नसक्दा स्थानीयले दैनिक जीवनयापनमै सास्ती खेप्न बाध्य छन् । कृषि उपज बजार पु¥याउन कठिन, दैनिक उपभोग्य सामग्री ल्याउन समस्या, बिरामी बोक्न गाह्रो – यी सामान्य समस्या भकुण्डेमा असामान्य बनेका छन् । सदरमुकाम नजिक भएर पनि पूर्वाधारको अभावले गाउँ टाढा परेको अनुभूति हुन्छ ।

भकुण्डे पशुपालन, कोदो, मकै, तरकारी उत्पादनमा अब्बल क्षेत्र हो । यहाँका किसान उत्पादन गर्न तयार छन्, होमस्टे सञ्चालक पर्यटक भित्र्याउन उत्साहित छन् । तर सडकको अवस्थाले पाहुना फर्किएका उदाहरण बढ्दै गएका छन्। ’सडककै कारण आउन नसक्ने’ भन्ने गुनासो पर्यटन व्यवसायीले बारम्बार सुन्नुपरेको छ । वार्षिक ३० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक पुग्ने क्षेत्रले अझ दोब्बर सम्भावना बोकेको छ, तर पहुँच अभावले त्यसलाई रोकेको छ ।

यहाँ आउने पर्यटकले पदयात्रामा स्थानीय संस्कृति, ग्रामीण जीवनको अनुभव पाउने गरेका छन्। कोरिया, अमेरिका, चीन, युरोपलगायत मुलुकका पर्यटकले भकुण्डे–रायडाँडा–बौरसम्मको पदयात्रा रुचाउने गरेका छन् । तर स्तरीय पदमार्गको अभावले लामो बसाइ र पुनः आगमनको सम्भावना कमजोर बनिरहेको छ ।

स्थानीय जनप्रतिनिधि स्वयं स्वीकार्छन्, सडक सहज नभएसम्म अन्य विकासका कामले जनतालाई विश्वस्त पार्न सक्दैन भनेर। नगरस्तरको बजेट पर्याप्त छैन, प्रदेश र संघीय योजनाका ठेक्का अलपत्र छन् । यही प्रशासनिक ढिलासुस्ती र समन्वय अभावले विकासको गति सुस्ताएको छ ।

समयमा सडक नबन्दा पर्यटकीय गन्तव्य ओझेलमा परेको छँदैछ, त्यहाँको खानेपानी, सिंचाइ, शिक्षा र स्वास्थ्य सेवा पहुँचभन्दा टाढा हुँदा बसाइसराइ बढ्न थालेको छ । उत्पादनलाई बजारसँग जोड्ने सडक बनेन भने युवालाई गाउँमै रोक्ने आधार कमजोर हुन्छ ।

भकुण्डेका नागरिक मेहनत गर्न तयार छन् । राज्यले अब स्तरीय सडक वा व्यवस्थित पदमार्गमध्ये कम्तीमा एक सुनिश्चित गर्नुपर्छ । पूर्वाधारमा लगानी बिना पर्यटन प्रवद्र्धन र कृषि आधुनिकीकरण सम्भव हुँदैन । सम्भावनाले भरिएको भकुण्डेलाई चुनावी भाषण होइन, आश्वासन होइन, सडक चाहिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->