बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनताको मतबाट नआत्तिए, नमात्तिए

जनताको मतबाट नआत्तिए, नमात्तिए

आजको सन्देश सरल छ, नआत्तिने, नमात्तिने । संयम, उत्तरदायित्व र सुशासनको बाटो समात्न सकेमात्र जनताको मत वास्तविक विश्वासमा रूपान्तरण हुनेछ । लोकतन्त्रमा विजयभन्दा ठूलो कुरा विश्वास हो, र त्यो विश्वास जोगाइराख्न सक्नु नै सत्ताको सबैभन्दा ठूलो परीक्षा हो ।


  • Dhorpatan News
  • फाल्गुन २८ २०८२, बिहिबार

लोकतान्त्रिक अभ्यासमा जनताको मत सधैं केवल समर्थनको अभिव्यक्ति मात्र हुँदैन । त्यो कहिलेकाहीँ चेतावनी, अपेक्षा र परिवर्तनको आकांक्षाको सन्देश पनि हुन्छ । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अहिलेसम्मको मतपरिणामले यही सन्देशलाई स्पष्ट पारेको देखिन्छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगभग दुई तिहाइ सिटतर्फ अग्रसर देखिएको छ । यो परिणामले नेपाली राजनीतिको परम्परागत समीकरणलाई गम्भीर रूपमा चुनौती दिएको छ ।

तर यो विजयलाई केवल उत्सवको रूपमा मात्र बुझ्नु कदापि उचित हुँदैन । मतदाताले रास्वपालाई ठूलो मात्रामा मत दिएका छन्, तर त्यसलाई पूर्ण भरोसाको रूपमा मात्र अथ्र्याउन मिल्दैन । निश्चित रुपमा स्थापित पुराना राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको अभाव, भ्रष्टाचारका आरोप र विकासको सुस्त गतिले जनतामा निराशा बढाएको थियो । त्यस निराशाबाट उत्पन्न विकल्पको खोजीले रास्वपालाई बलियो बनाएको देखिन्छ । त्यसैले यो मत धेरै हदसम्म परिवर्तनको चाहना हो, न कि आँखा मिचेर दिइएको समर्थन ।

यस्तो अवस्थामा रास्वपाका लागि सबैभन्दा महत्वपूर्ण कुरा के हुन्छ भने, ‘न आत्तिनु र न मात्तिनु’ । अत्यधिक अपेक्षा र आलोचनाको बीचमा नयाँ राजनीतिक शक्ति सजिलै दुवै चरममा पुग्न सक्छ । एकातिर सत्ता सञ्चालनको अनुभवको अभावले चुनौती सिर्जना गर्न सक्छ भने अर्कोतिर अप्रत्याशित सफलता आफैंमा अहंकारको कारण बन्न सक्छ । दुवै अवस्था लोकतान्त्रिक अभ्यासका लागि हितकर हुँदैनन् ।

दुई तिहाइ नजिकको जनादेश प्राप्त गर्नु केवल शक्ति प्राप्त गर्नु मात्र होइन, जिम्मेवारीको गहिरो भार बोक्नु पनि हो । जनताले दिएको मतलाई स्थायी विश्वासमा रूपान्तरण गर्न सुशासन, पारदर्शिता र परिणाममुखी काम आवश्यक हुन्छ । चुनावी नाराभन्दा शासनको व्यवहारले नै अन्ततः दलको विश्वसनीयता निर्धारण गर्छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ ।

यससँगै अन्य राजनीतिक दलहरूका लागि पनि यो परिणाम आत्मसमीक्षाको अवसर हो । वर्षौँदेखि सत्ता र प्रतिपक्षमा पालैपालो बसेका दलहरूले किन जनताको विश्वास गुमाए भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । यदि उनीहरूले यसलाई केवल अस्थायी लहर ठानेर बेवास्ता गरे भने भविष्यमा अझ ठूलो राजनीतिक परिवर्तनको सामना गर्नुपर्ने सम्भावना अवश्यम्भावी छ ।

नेपालको लोकतन्त्रका लागि यो परिणाम नयाँ अध्यायको सुरुआत हुन सक्छ । तर त्यो अध्याय कस्तो हुन्छ भन्ने कुरा अब सत्तामा पुग्न लागेको शक्तिको व्यवहार र दृष्टिकोणमा निर्भर रहनेछ । मतदाताले परिवर्तनको ढोका खोलेका छन्, अब त्यस ढोकाबाट प्रवेश गर्नेहरू कति जिम्मेवार, संयमी र दूरदर्शी हुन्छन् भन्ने कुरा निर्णायक हुनेछ ।

त्यसैले आजको सन्देश सरल छ, न आत्तिने, न मात्तिने । संयम, उत्तरदायित्व र सुशासनको बाटो समात्न सकेमात्र जनताको मत वास्तविक विश्वासमा रूपान्तरण हुनेछ । लोकतन्त्रमा विजयभन्दा ठूलो कुरा विश्वास हो, र त्यो विश्वास जोगाइराख्न सक्नु नै सत्ताको सबैभन्दा ठूलो परीक्षा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->