अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रुपमै सिंहदरबारभित्र हुने कर्तुत र सुधारको आवश्यकता औंल्याएकी छन् । आइतबार सार्वजनिक भएको अन्तर्वार्तामा सुशीलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रहरी र कर्मचारीतन्त्रको नियतमा पनि प्रश्न उठाउकी छन् ।चुनाव सम्पन्न गराउन सहयोग गरेकोमा सबै पक्षलाई धन्यवाद ज्ञापन गर्ने उपक्रममा प्रधानमन्त्रीबाट आएका यी अभिव्यक्तिहरु सामान्य लाग्दैनन्/सुनिँदैनन् ।
अबको केही दिनपछि सुशीला कार्कीको नामको अगाडि पूर्वप्रधानन्याधीशजस्तै पूर्वप्रधानमन्त्रीको थेगो थपिने छ । विषम परिस्थितिमा निर्वाचन सम्पन्न गराएकी उनी धन्यवादको पात्र थिइन् ( यो कुरा हामीले विशेष सम्पादकीयमार्फत् भनिसकेका छौँ ।) नै,देशलाई नयाँ मार्गमा प्रवृष्ठ गराउन खेलेको भूमिकाका कारण उनी सर्वकालीन सल्लाहकारको रुपमा पनि काबिल छ भन्ने अभिव्यक्तिबाट प्रष्ट भएको छ । भदौ २६ यता प्रधानमन्त्रीको रुपमा रहँदा उनले जे देखिन्, बुझिन् र महसुस गरिन्,त्यो अनुभव सुशासनयुक्त अनि समृद्ध राष्ट्र निर्माणका निम्ति उत्तिकै हितकर देखिएको छ । उनको यो अनुभव भावी प्रधानमन्त्री बालेन्द्र साह( बालेन) र उनको मन्त्रिपरिषद्को लागि मार्गनिर्देशन बन्ने निश्चित छ ।
चरम राजनीतिकरणले ग्रस्त कर्मचारीतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति र रोजगारीको व्यवस्था जेन-जी आन्दोनलले उठाएका मुख्य विषयहरु हुन् । जेन-जीका यी माग पूरा गराउनका निम्ति प्रधानमन्त्री कार्कीले खुलेआम हुने भ्रष्टाचार रोक्नुपर्ने र कर्मचारीतन्त्रलाईलाई जवाफदेही बनाउनुपर्ने बताएकी छन् । कर्मचारीतन्त्रले कानून देखाएर,स्वार्थ नमिलेर अनि अमूक शक्तिकेन्द्रको आडमा मन्त्रीहरुलाई फन्फनी घुमाउने प्रवृत्ति अन्त्य हुनैपर्छ ।
यो काम सानो प्रयत्न र सजिलो तरिकाले सम्भव छैन । अर्कोतर्फ भ्रष्टाचारका फाइलहरु हेर्ने अख्तियारलाई क्रियाशिल पार्नैपर्छ । प्रधानमन्त्री सुशीलाले अख्तियारको गति र मतिबारे पनि बोलेकी छन् । स्वतन्त्र हुनै नखोज्ने र भ्रष्टाचारका ठूला फाइल पल्टाउनै नमान्ने प्रवृत्तिबाट अख्तियारलाई चोख्याउनु पर्छ । प्रधानमन्त्री सुशीलाले जस्तै नयाँ प्रधानमन्त्रीले त्यहाँबाट सहयोग नपाउँदा सुशासनको नारा नै कमजोर सावित हुन्छ र देश पुरानै घनचक्करमा रुमलिन्छ । हो, प्रधानमन्त्रीले भनेजस्तै बालेनले चुनावी अभियानको क्रममा तराई, पहाड र हिमाल एक भएको सन्देश प्रवाह गरेका छन् । देश एक र समृद्ध बनाउन चाहिँ उनले प्रश्नहरुको सामना गर्ने, बन्दकोठाबाट बाहिर निस्कने र पारदर्शी शासनको प्रत्याभूति दिलाउने अर्को काम पनि गर्नैपर्छ ।




