बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भारत र चीनका पर्यटक नेपाल ल्याउने प्रयत्न होस्

भारत र चीनका पर्यटक नेपाल ल्याउने प्रयत्न होस्

उत्पादकत्व बढाउनेतर्फ अहिलेसम्म गरिएका प्रयासहरु पर्याप्त छैनन् । यी यावत् समस्या सल्टाउने सामथ्र्य नेपालसँग छैन तर योजनावद्ध तरिकाले काम गर्ने हो भने असम्भव चाहिँ छैन । अब बन्ने सरकारले यो संकटलाई अवसरको रुपमा लिनुपर्छ ।


  • Dhorpatan News
  • चैत्र ९ २०८२, सोमबार

नेपालबाट पश्चिमतिर पर्ने इरानसहित खाडी राष्ट्र अशान्त हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ । खाना पकाउने एलपीजी ग्यासको अभाव त छँदैछ,वैदेशिक रोजगारको मुख्य थलोमा अशान्ति हुँदा विदेश जाने पाइलाहरु रोकिएका छन् । अमेरिका–इजरायलले इरानले गरेको आक्रमणको बाछिटाले पर्यटनलाई पनि छोएको छ भने विप्रेषणमा पनि प्रभाव पर्ने निश्चित भएको छ । वसन्त ऋतुकालीन पर्यटकीय मौषम सुरु हुनैलाग्दा नेपाल आउन चाहने पर्यटकहरु उतै रोकिएका छन् । युद्धको क्रममा एक नेपाली इराकी फौजको नियन्त्रणमा परेका र अर्का एक नेपाली नागरिक घाइते भएको खबरले चिन्ता झन थपिएको छ । रोजगारी गुमाएर फर्किने नेपालीहरुको व्यवस्थापन गर्नुपर्ने बाध्यता अर्कोतिर छ । असार टाढा छैन । खाडी राष्ट्रमा तनाव हुँदा मल उत्पादनमा पनि समस्या आउने र त्यसको असरसमेत नेपालले भोग्नुपर्ने अवस्था छ ।

देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार निर्माण हुँदैछ । यो सरकारसँग जनताले ठूलो अपेक्षा राखेका छन् । सुशासनसहित समृद्धिको नारा दिएर चुनाव जितेको रास्वपाको काँधमा यी सारा चुनौतीहरु पार लगाउनुपर्ने दायित्व आउने निश्चित छ । यस्तो अवस्थाको आकलन रास्वपाले गरेकै होला । अर्थतन्त्रमा देखिने सम्भावित असरहरु न्यूनीकरणको लागि योजना पनि बुनिएकै होलान् । तर, यो रास्वपाकोमात्र समस्या नभएर आयातमा निर्भर देशको साझा समस्या हो । जबसम्म देश इन्धनमा परनिर्भर रहन्छ, देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुँदैनन् र कुल ग्राहस्थ उत्पादनमा बृद्धि गर्न सकिँदैन, तबसम्म यो नियतिबाट देशले मुक्ति पाउँदैन । स्वाधिन अर्थतन्त्र निर्माणका लागि उत्पादकत्व बढाउनैपर्छ । उत्पादकत्व बढाउनेतर्फ अहिलेसम्म गरिएका प्रयासहरु पर्याप्त छैनन् । यी यावत् समस्या सल्टाउने सामथ्र्य नेपालसँग छैन तर योजनावद्ध तरिकाले काम गर्ने हो भने असम्भव चाहिँ छैन । अब बन्ने सरकारले यो संकटलाई अवसरको रुपमा लिनुपर्छ । रोजगारी सिर्जनाका निम्ति कृषिको व्यावसायिकरणदेखि आयात प्रतिस्थापनसम्मका योजनाहरु बनाइनुपर्छ । रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई उत्पादनमा बदल्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनि बजेट ल्याउनै पर्छ । युद्धका बाछिटाहरुले मुद्रास्फिति बढाएको छ । मुद्रास्फिति हुनु भनेको भान्छा महँगो हुनु हो । तत्कालको लागि चाहिँ सरकारले नागरिकको भान्छालाई सस्तो बनाउने उपायको नै खोजी गर्नुपर्छ । सम्भावना बोकेको पर्यटन उद्योगलाई दीगो बनाउन ठूला छिमेकी भारत र चीनबाट सक्दो धेरै पर्यटक तान्ने रणनीति तय गरिनुपर्छ । खाडी राष्ट्रमा तनाव हुँदा त्यतातर्फ जाने भारतीय र चिनियाँ पर्यटकहरु रोकिएका छन् । उनीहरुलाई यता बोलाउन सकियो भने युद्धलाई अवसरमा बदल्न सकिन्छ । सरकारले यो तथ्यमा ध्यान देओस् र भारत अनि चीनका पर्यटक भित्र्याउन तत्काल पहलकदमी गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->