प्रतिनिधिसभा सदस्यको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमत दिएको छ । यसले आगामी पाँच वर्षका लागि सरकार स्थायी प्रकृतिको बन्ने विषय निश्चित भएको छ । जनादेशले पनि यो प्रष्ट पारेको छ । संघिय गणतन्त्र स्थापना र नयाँ संविधान जारी भएपछि धेरै सरकार बनेपनि बहुमतको सरकार नभएकै कारण सोचेझै परिवर्तन भएको छैन । स्याथी नीति बनेका छैनन् । सरकारको गठजोडका कारण कहिले कुनै दलबीचको गठबन्धन त कहिले कसैको बनाउँदा सरकार बनाउने र भत्काउने खेलमा धेरै समय बित्यो ।
विकासमा जे जति काम हुनुपर्ने हो त्यो भएको त छैन, तर केही भएकै हो । तर सुशासन भने कायम हुन सकेको छैन । सुशासन खोज्दै जेनजी युवाले भदौमा आन्दोलन गरे । यो आन्दोलनले सरकार ढल्यो । त्यतिमात्र होइन, नयाँ जनादेश पनि त्यही जगमा भएको हो । तसर्थ अबको सरकारले त्यो आन्दोलनको भावना अनुसार काम गर्नुपर्ने नै छ । यसअघि बनेका सरकारहरु बहुमतका भएनन् तसर्थ जनआन्दोलन र जनयुद्दको भावना पुरा भएन । अब भने दुइ तिहाइमा आएको जनमतले त्यो अवस्था भोग्नु पर्दैन र हामीसँग जनमत नभएकोले काम गर्न सकिएन भन्ने छुट पनि छैन । यतिबेला बन्न लागेको शक्तिशाली सरकारलाई महत्वपुर्ण अबसर आएको छ । संविधान कार्यान्वयनका लागि धेरै कानूनहरु बन्न बाँकी छ । ती कानूनको अभावले सुशासन नभएको हो भन्ने जानकारी सबैलाई छ । त्यो कामका लागि अबको सरकारलाई कसैले रोक्दैन । कर्मचारीतन्त्रदेखि नेपालको न्याय पालिकामा पनि धेरै सुधारको आवस्यक छ ।
राजनीतिक नेतृत्व फेरेर देशलाई नयाँ निकास दिन खोजिएको छ । त्यसैगरी कर्मचारी, न्याय प्रशासन वा अन्य क्षेत्रमा पनि नेतृत्व नफेरिएमा कामको प्रगती नहोला, नयाँ सरकारले आफ्नो योजना लागू गर्न नसक्ला । तर सबै कर्मचारी भ्रष्टाचारी छैनन्, सबै नेता पनि नराम्रा होइनन् । तर केहीले गरेका नराम्रा कामले सबैले त्यसको भार व्यहोर्न पर्दैन । त्यसैले स्पष्ट बहुमत पाएको सरकारले अबका दिनमा तत्काल सुशासन दिने व्यवस्था गर्नुपर्छ । रोकिएका विकास अगाडि बढाउने र कामको प्रकृति चुस्त बनाउने, आम नागरिकले दुःख नपाउने, स्वदेशमा रोजगार सिर्जना गर्ने काम गर्नु राम्रो हुनेछ । एउटाले पाएको रोजगारी खोसेर अर्कोलाई दिने नभइ हरेक नागरिक रोजगार बन्ने, केही न केही कमाइ गर्न सक्ने वातवारण बन्नु नयाँ सरकारको सफलता हुनेछ ।




