बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारका कदमहरु प्रतिशोधी हैन पारदर्शी बनून्

सरकारका कदमहरु प्रतिशोधी हैन पारदर्शी बनून्

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गरिरहँदा भदौ २४ को विध्वंशमा संलग्नलाई उन्मुक्ति दिने मार्गमा प्रविष्ठ नगरोस् । आफ्ना नेता पक्राउको विरुद्धमा सडकमा ओर्लिएका र ओर्लन लागेका राजनीतिक दलहरुले पनि न्यायिक मार्ग अवलम्बन गर्दै न्यायको खोजी गरून् ।


  • Dhorpatan News
  • चैत्र १५ २०८२, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले गरेको पहिलो निर्णय विवादमा परेको छ । नवगठित सरकारले शुक्रबार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटना छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । कार्की आयोगको प्रतिवेदन अनुसार नै सरकारले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि कारवाही गर्ने निर्णय ग¥यो ।

सो निर्णयसँगै गृहमन्त्री सुधन गुरुङ सक्रिय बने । सुरक्षा निकायका प्रमुखहरुसँग अबेर रातसम्म बैठक गरे र कार्की आयोगले उनीहरुसहित नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्रकुवेर खापुङले लापरवाहीपूर्ण काम गरेको भन्दै चन्द्रकुवेर खापुङ मुलुकी आचार संहिता अनुसार कारवाहीको सिफारिस गरेको थियो । पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई थमाइएको पक्राउ पूर्जीमा ज्यानसम्बन्धी कसूरसम्बन्धी मुद्दाकोसमेत छानबिन गर्ने उल्लेख छ ।

शनिबार एकाबिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेपछि एमाले त्यो कदमलाई पूर्वाग्रहप्रेरित ठहर गर्दै आन्दोलित बनेको छ । गगन थापा नेतृत्वको संस्थापन कांग्रेसले संयमतापूर्ण प्रतिक्रिया दिए पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समेत सरकारको कदमको कानूनी र राजनीतिक प्रतिवाद गर्ने जनाएको छ । अर्को ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले पनि पूर्वाग्रहप्रेरित नहुन सरकारलाई सचेत गराएको छ ।

कार्की आयोगको प्रतिवेदन विवादित देखिएको छ । प्रतिवेदनप्रति राजनीतिक दलहरुसहित नेपाल बार एसोसियसन र नेपाल पत्रकार महासंघले असहमति जनउाँदै आएका छन् । कानून व्यवसायीहरुको संगठन बारले प्रतिवेदनले शक्ति विभाजनको सिद्धान्तलाई अनदेखा गरेको भन्दै सर्वोच्चको पूर्ण बैठक(फूल कोर्ट) को ध्यानाकर्षण गराएको थियो । नेपाल पत्रकार महासंघले पनि संचार माध्यममाथि लगाइएका आरोपहरुप्रति असहमति जनाउँदै आयोगले क्षेत्राधिकार नाघेको ठहर गरेको थियो । कार्की आयोगको प्रतिवेदनप्रति नेपालको बौद्धिक र नागरिक समाजका अगुवाहरुले पनि असहमति प्रकट गरिरहेका छन् । कार्की आयोगले भदौ २३ को घटनालाई प्रधानता दिँदै भदौ २४ को विध्वंशका नाइकेहरुलाई बचाउन खोजेको तथा क्षेत्राधिकारभन्दा बाहिर गइ विभिन्न सुझाव दिएको उनीहरुको भनाइ छ ।

भदौ २३ र २४ को घटनाको निश्पक्ष छानबिन हुनुपर्छ भन्नेमा विवाद छैन । तर, सरकार र गृहमन्त्रीले जुन हतारोका साथ पक्राउको लागि सुरक्षा निकायलाई निर्देशन दिए,त्यसले कतै सरकार प्रतिशोध साँध्दै त छैन भन्ने आशंकालाई बल पुगेको छ । सरकार सबैको अभिभावक हो । उसलाई कुनै कालखण्डमा अमूक सरकार वा व्यक्तिले त्यस्तै व्यवहार गरेको थियो भन्ने छुट पाउँदैन । सरकारले कानूनको पालना र निश्पक्षतासँगै पूर्वाग्रहबाट मुक्त भएर कदम चाल्नुपर्छ ।

सम्भावित द्वन्द्व र अराजकता वा विद्रोहलाई पनि उसले नजरअन्दाज गर्न मिल्दैन । गृहमन्त्री सुधन गुरुङको सक्रियता र सुरक्षा निकायलाई दिइएको निर्देशन, पूर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउसँगै सामाजिक सञ्जालमा दिइएको अभिव्यक्तिले ती तीनवटै विषयलाई अनदेखा गरेको छ । पूर्वप्रधानमन्त्री र गृहमन्त्रीजस्तो व्यक्तिलाई बिदाको दिनको एकाबिहानै हुर्मत लिने गरी गिरफ्तार गरिनुले सरकार विधिको शासनभन्दा पनि हुकुमी शैली चाहन्छ कि भन्ने आशंकालाई बल पुगेको छ ।

सरकार राजनीतिक पूर्वाग्रही हैन कि सरकार संयम बनोस् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गरिरहँदा भदौ २४ को विध्वंशमा संलग्नलाई उन्मुक्ति दिने मार्गमा प्रविष्ठ नगरोस् । आफ्ना नेता पक्राउको विरुद्धमा सडकमा ओर्लिएका र ओर्लन लागेका राजनीतिक दलहरुले पनि न्यायिक मार्ग अवलम्बन गर्दै न्यायको खोजी गरून् । देश द्वन्द्वमा नजाओस् । मुख्य कुरा सरकारका कदमहरु प्रतिशोधी हैन, पारदर्शी र निश्पक्ष हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->