बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नानीबाबुलाई डिजिटल कुलतबाट बचाऔँ

नानीबाबुलाई डिजिटल कुलतबाट बचाऔँ

बालबालिकालाई फुर्सदको समयमा व्यवहारिक ज्ञान प्रदान गर्नेतर्फ अभिभावकले ध्यान पु¥याउनैपर्छ । त्यसको बदलामा नानीबाबुलाई पुस्तक पढ्नतर्फ प्रेरित गरौँ ।जीवन–दर्शन, अभाव–गरिबी, संघर्ष र धैर्यताका पाठहरु सुनाउने गरौँ । चित्रकला, मूर्तिकला, पौडीलगायतका खेल कौशल सिकाउँदा पनि राम्रै हुन्छ ।


  • Dhorpatan News
  • चैत्र २४ २०८२, मंगलबार

एसइई परीक्षा उत्तरार्धतिर पुगेको छ । त्यसपछि नानीबाबुहरु फुक्काफाल हुँदैछन् । १० कक्षाभन्दा तलका नानीबाबुहरुको चाहिँ परीक्षा सकिएको छ, कतिपयको नतिजा प्रकाशन भइरहेको छ भने केहीको बाँकी छ । अबको एक÷दुई दिनभित्र उनीहरुले पनि कक्षा चढ्ने छन् । सरकारले नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ बाट सुरु गर्ने घोषणा गरेको छ । त्यत्तिञ्जेलसम्म नानीबाबुहरु फुर्सदिला छन् । तीमध्ये केहीलाई यतिबेला आफ्ना पितामाताको काममा सघाउने बाध्यता पनि होला । ज्याला–मजदूरी गरेर नयाँ कपडा,किताब–कापी र स्कूलको शुल्क जुटाउने दायित्वले थिचिएका नानीबाबुहरुको कुरा अर्कै हो । अभिभावकलाई सघाउने बालबालिकाले कामबाटै धेरै कुरा सिकेका हुन्छन् । श्रमको महत्व र दुःख के हो भन्ने बेलैमा सिक्नुजस्तो महान सिकाइ केही हुन सक्दैन । कम्तिमा उनीहरुले श्रम संस्कृति बुझेका छन् । यद्यपि,उनीहरुलाई अभाव र गरिबीबाट मुक्त चाहिँ गर्नैपर्छ । त्यो दायित्व चाहिँ राज्यको हो । स्कूलको शुल्क तिर्न नसकेकै कारण विद्यालय छाड्ने नियतिले उनीहरुलाई नगाँजोस् ।

यही बेला फुर्सद निकालेर केही अभिभावकहरुले यो बेला आफ्ना नानीबाबुहरुलाई घुमाउन लगेको देखिएको छ भने केहीले चाहिँ नयाँ सिर्जनात्मक कक्षाहरुमा भर्ना गराएको पनि सुनिएको छ । सबैका अभिभावकहरु फुर्सदिला हुँदैनन् तर फुर्सदमा नानीबाबुले के गरिरहेका छन् भन्ने चासो भने हरेक अभिभावकमा हुनैपर्छ ।

नानीबाबुहरु जिज्ञासु हुन्छन् । प्रश्न सोध्नु भनेको सिक्नु हो । नानीबाबुले प्रश्न सोध्न थाले भने अभिभावकले बुझ्नुपर्छ कि, उनीहरुसँग सिक्ने लालसा छ । त्यसलाई उपेक्षा गरिनु हुँदैन । उनीहरुलाई नयाँ र सिर्जनात्मक काम गर्न प्रोत्साहित गर्नैपर्छ ।

पछिल्लो समय बालबालिकाहरु डिजिटल कुलतमा फस्ने क्रम बढ्दो छ । बालबालिकामा मोवाइलमै भुल्ने, त्यही नानाथरी कुरा हेर्ने र मोवाइल नपाउँदा झन्किने–फन्किने बानी विकास भएको छ । मोवाइलमा उनीहरुले हेर्न हुने र नहुने दुबै कुरा हेरिरहेका छन् । त्यस्तै खेल खेलिरहेका छन् । यसले उनीहरुमा चिड्चिडेपन र त्यसभन्दा पर आपराधिक मानशिकताको विकास गराएको पाइएको छ । विभिन्न अध्ययनहरुले देखाएको यो तथ्यलाई अभिभावकले मनन गरून् । मोवाइलको लतबाट उनीहरुलाई मुक्त गराउन सकिएन भने त्यसले डरलाग्दो अवस्था सिर्जना गर्नसक्छ भन्नेतर्फ ख्याल गरौँ ।

बालबालिकालाई फुर्सदको समयमा व्यवहारिक ज्ञान प्रदान गर्नेतर्फ अभिभावकले ध्यान पु¥याउनैपर्छ । त्यसको बदलामा नानीबाबुलाई पुस्तक पढ्नतर्फ प्रेरित गरौँ ।जीवन–दर्शन, अभाव–गरिबी, संघर्ष र धैर्यताका पाठहरु सुनाउने गरौँ । चित्रकला, मूर्तिकला, पौडीलगायतका खेल कौशल सिकाउँदा पनि राम्रै हुन्छ । तर, मोवाइल दिएर दायित्वविमुख नबनौँ । नानीबाबुलाई डिजिटल कुलतबाट बचाऔँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->