अमेरिका र इरानबीच २ हप्ता लामो युद्धविराम भएको छ । युद्धविरामसँगै‘स्टे«ट अफ हर्मुज’ भनिने साँघुरो समुद्री जलमार्ग खुल्ने भएको छ । यो जलमार्ग खुल्ने खबरले सिंगो विश्वजस्तै नेपालमा पनि खुसी ल्याएको छ । इन्धनको भाउ ओरालो लागेको छ । नेपालमा आउने इन्धन त्यही बाटो भएर आउँछ । बाटो बन्द हुँदा नेपालमा खाना पकाउने एलपीजी ग्यासको झण्डै अभाव सिर्जना भएको थियो भने पेट्रोेल,डिजेल र हवाइ इन्धनको भाउ ह्वात्तै उकालो लागेको थियो । सरकारले इन्धन अभाव टार्न सोमबारमात्रै हप्ताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो भने मंगलबार एक मन्त्रीले अब सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेबारे सोचिरहेको बताएकी थिइन् ।
गएको फागुन २८ गते अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै पूर्वी एसिया युद्धको लपेटामा परेको थियो । अमेरिका र इजरायलको आक्रमणबाट इरानले आफ्ना सर्वोच्च नेतादेखि उच्चपदस्थ व्यक्ति गुमाएको इरानले प्रतिरोधको क्रममा विश्वभरको करिब २० प्रतिशत इन्धन ढुवानी हुने स्टे«ट अफ हर्मुज बन्द गरिदियो । युद्धको क्रममा इरानले ठूलो क्षति ब्यहोरेको छ । हजारभन्दा बढी नागरिक मारिएका छन् भने भौतिक क्षतिको लेखाजोखा गरिसाध्य छैन । आफ्नो आणविक भट्टीमा हमला गर्दा पनि संयमता देखाएको इरान जब प्रतिरोधमा उत्रियो,उसको प्रतिरोध क्षमता अमेरिकाले सोचेभन्दा बढी देखियो ।प्रतिरोधको उपक्रममा इरानले सोच्दै नसोचेको अमेरिकी र इजरायली अखडाहरुमा मिसायल प्रहार गरिदियो र घुँडा नटेक्ने अडान लिइरह्यो । निकै छोटो समयमा युद्ध अन्त्य हुने सोचेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बाबजुद इरानले लिएको अडानका कारण सिंगो विश्वको आर्थिक गतिविधिहरु प्रभावित बने । अमेरिकाभित्र पनि ट्रम्पको नीतिको विरोध हुन थाल्यो । मंगलबार भने ट्रम्पले इरानले स्टे«ट अफ हर्मुज खुल्ला नगरे एकै दिनमा त्यहाँ सभ्यता नै सिध्याइदिने धक्की दिए । ट्रम्पको धम्कीभन्दा अगाडि नै अरब खाडीमा रहेका देशहरु तथा पाकिस्तानको मध्यस्थतामा इरानले अमेरिकासँग अनौपचारिक तवरले वार्ता गरिरहेको थियो । दुबै पक्ष आफूले जितेको महसुस हुने गरी सम्झौता गर्न आतुर पनि थिए तर युद्धविरामको बाटो तय भएको थिएन । अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार अन्त्यमा चाहिँ अमेरिकाले इरानले अगाडि सारेका सर्तहरु स्वीका¥यो भने इरान पनि स्टे«ट अफ हर्मुज खुल्ला गर्न राजी भयो । अहिले इरान र अमेरिका दुबैले यो युद्धविरामलाई आफ्नो जितको रुपमा दाबी गरिरहेका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले आफ्नो सशस्त्र सेनाको समन्वयमा यो जलमार्ग खोलिने बताएका छन् ।
यहाँ कसले जित्यो भन्ने कुरै छैन । युद्ध रोकिँदा सिंयो मानव सभ्यताले जितेको छ । तर, अर्को कुटु सत्य पनि छ– युद्ध रोकिएको छ हो अत्य भएको छैन । जबसम्म शान्ति सम्झौता हुँदैन,तबसम्म सबै कुरा मिल्यो भन्न मिल्दैन । आगामी शुक्रबारदेखि पाकिस्तानको मध्यस्थतामा हुने वार्ताको टेबुलमा अमेरिका र इरान आमने–सामने हुने भएका छन् । युद्धमा सामेल अर्को देश इजरालयले यहीबीचमा लेबनानमा आक्रमण गरिरहेको छ । इरानसँग भएको युद्धविराम स्वीकारे पनि लेबननको हकमा त्यो लागू नहुने उसको अभिव्यक्तिले जुनसुकै बेला पनि यो विराम भंग हुने सम्भावना ज्यूँकात्यूँ छ । अर्कोतर्फ,इरानले आफ्ना परमाणु कार्यक्रम जारी रहने, स्टे«ट अफ हर्मुज जलमार्गबाट शुल्क लिनेलगायतका सर्त अमेरिकाले स्वीकारेको दाबी गरेको छ भने अमेरिकाले ती दाबी नकारेको छ । दुबैबीच अहिले युद्धविराम सम्झौता भए पनि गहिरो अविश्वास रहेको बुझ्न कठीन छैन । यसअघि भएका वार्ताहरु भंग भएको परिदृष्य सम्झने हो भने दुबै देशले केही त्याग नगरेसम्म दीर्घकालीन शान्ति सम्झौता सम्भव हुँदैन । युद्धले कसैको भलो गर्दैन भन्ने दुबै देशले बुझेका छन् । मैदानमा हुने जितभन्दा मनोवैज्ञानिक जितको ठूलो महत्व रहन्छ भन्ने कुरा अमेरिका र इरानलाई बुझाउन पर्दैन । तर, सिंगो विश्वले यी दुबै देशमाथि स्थायी शान्तिको बाटोमा लैजान दबाब चाहिँ दिनैपर्छ । खरानीको होली खेलेर विश्व विभाजित बनाउने युद्ध रोक्नुको विकल्प पनि छैन भन्ने कुरा बुझाउनै पर्छ ।




