बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आशा गरियो यो नयाँवर्ष

आशा गरियो यो नयाँवर्ष

यो सरकारसँग जनताले बढी नै आशा गरेका छन्, सुशासनको प्रत्याभूति खोजेका छन् र थिति बसाल्ने छ भन्ने विश्वास पालेका छन् । शक्तिशाली सररकारसँग गरिएको यो अपेक्षा ठूलो हैन । रास्वपा नेतृत्वको यो सरकारले जनमतको कदर गरोस्, जनअपेक्षामाथि कुठाराघात नगरोस् ।


  • Dhorpatan News
  • बैशाख १ २०८३, मंगलबार

विक्रम संवत्मा आधारित पात्रोलाई आधिकारिक रुपले पच्छ्याउने नेपालका निम्ति विक्रमाब्दको २०८२ साल ऐतिहासिक बन्यो । भदौ २३ र २५ गते भएको जेनजी आन्दोलनले एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई सत्ताबाट हुत्याइदियो । संसद भंग भयो । सर्वोच्चकी पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले जलेको सिंहदरबार,भत्केको सुरक्षा व्यवस्था र अराजकताको अवस्थामा सत्ताको बागडोर सम्हाल्यो । राष्ट्रपति रामचन्द्र पौडेलले सो सरकारलाई फागुन २१ गते संघीय संसदको चुनाव गराउने कार्यभार सुम्पेको थियो । प्रधानमन्त्रीको रुपमा विभिन्न आशंकलाई चिर्दै सुशीलाले चुनाव सम्पन्न गराइन् । चुनावले उस्तै नसोचेको परिणाम दियो । २०७९ सालमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले झण्डै २ तिहाइ संख्यासहित सरकार चलाउने म्याण्डेट दिए । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा सरकार बन्यो । सरकारले शासकीय सुधारका निम्ति सय बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । सुशासन र समृद्धिको यात्रा तय गर्ने प्रण गरेको छ ।

बितेको वर्ष नसोचेको जनविद्रोहको कारण नै इतिहासमा अविस्मरणीय हुनेमा कुनै शंका छैन । त्यो आन्दोलनमा भएको नवयुवाको शहादत, भदौ २४ गतेको बितण्डा र संहदरबारसहितका भौतिक संरचना जलेको परिदृष्य पनि आन्दोलनसँगै जोडिएर आउने छ । सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदन तथा त्यसले नसमेटेको भदौ २४ का दोषीउपरका कस्तो कारवाही होला वा उनीहरुले उन्मुक्ति पाउलान् ? यो प्रश्न आगतको जिम्मामा छाड्ने हो भने, २०८२ जनविद्रोहको वर्ष रह्यो । सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका नवयुवाहरुले वर्षौँ पुरानो राजनीतिक संरचना र प्रवृत्तिमाथि धावा बोले । दुई ठूला दलबीच भएको अपवित्र गठबन्धन भत्काइदिए । जेनजी आन्दोलनले नेपालको शासन सत्तामा रहेको एकाधिकारको अन्त्य गरेको छ र नयाँ सिर्जनाका निम्ति नयाँ दललाई अभिमत सुम्पेको छ । त्यो विद्रोहले नूतन सम्भावनाको ढोकामात्र खोलेको छ । नेपाल विश्व परिघटनाबाट निरपेक्ष रहन सक्दैन । जारी रुस–युक्रेन युद्ध,इजरायलले गाँजामाथि गरेको आक्रमण र त्यहाँ भएको ठूलो जनधनको क्षति, अमेरिका–इरान युद्ध अनि फेरिएको शक्ति सन्तुलनले सिंगो विश्वजस्तै नेपाल पनि प्रभावित छ । युद्धले निम्त्याएको आर्थिक मन्दीबाट नेपालमा के–कति क्षति पुग्ने हो भन्ने प्रष्ट भइसकेको छैन ।

तर, नेपालमा भने यो नयाँवर्षसँगै नयाँ र शक्तिशाली सरकारको अग्निपरीक्षा सुरु भएको छ । यो सरकारसँग जनताले बढी नै आशा गरेका छन्, सुशासनको प्रत्याभूति खोजेका छन् र थिति बसाल्ने छ भन्ने विश्वास पालेका छन् । शक्तिशाली सररकारसँग गरिएको यो अपेक्षा ठूलो हैन । रास्वपा नेतृत्वको यो सरकारले जनमतको कदर गरोस्, जनअपेक्षामाथि कुठाराघात नगरोस् । जनचाहना यही छ । यसो भनिरहँदा नयाँ सरकारले विधिको सम्मान गरोस्,प्रतिशोधपूर्ण गतिविधिहरु नगरोस् र सरकार सबैको अभिभावक हुन्छ÷रहन्छ भन्ने मान्यतामा तलमाथि नहोस् । नयाँवर्षको हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->