बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेसको नयाँ नेतृत्वको कार्यभार

कांग्रेसको नयाँ नेतृत्वको कार्यभार

संघीय संसदमा साह्रै सानो ठाउँ पाएको यो पार्टीलाई पुरानै अवस्थामा फर्काउन निसन्देहः कार्यकर्तामा उर्जा भर्नु छ । र, त्योभन्दा पर आफ्ना नीति र दृष्टिकोणमा पुरावलोकन जरुरी छ । नेतृत्व भनेको मठाधीश हुनु हैन, उसले जनतालाई विश्वासमा लिने खालका नीति निर्माण गर्नैपर्छ ।


  • Dhorpatan News
  • बैशाख ७ २०८३, सोमबार

सर्वोच्च अदालतले गएको पुस अन्तिम साता सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट चुनिएको नेतृत्वलाई वैधानिकता दिएसँगै सभापति गगनकुमार थापासहितका नेताहरुको विद्रोहले वैधानिकता पाएको छ । यसअघि नै निर्वाचन आयोगले प्रदान गरेको मान्यता र स्वयं तत्कालीन कांग्रेसका संस्थापन भनिने समूहका नेताले गगनको हस्ताक्षरसहितको टिकट लिँदाको क्षणमा नै विशेष महाधिवेशनले वैधानिकता पाइसकेको थियो । गगन सभापतिको रुपमा स्थापित भइसकेका थिए । तर,केही नेताहरुले एकातिर गगनकै हातबाट टिकट लिएर चुनावमा होमिने र अर्कोतर्फ अदालतको ढोका ढक्ढक्याउने केही दोहोरो चरित्रप्रदर्शन गरे । कांग्रेसमा भएको परिवर्तनमा भाँजो हाल्न तथा शक्तिमा रहने सपना देखे । जसका कारण नयाँ नेतृत्वसमेत तनावमा प¥यो ।

यो बेमेलले कांग्रेसलाई चुनावमा कति क्षति दिलायो भन्ने उसको आन्तरिक विषय हो तर लोकतान्त्रिक पार्टीभित्रको अन्तरद्वन्द्व,उसले अंगिकार गर्ने नीति र पेश गर्ने दृष्टिकोण चाहिँ आम चासोको विषय हो । कांग्रेसले २००७ सालदेखि नै परिवर्तनको नेतृत्व गर्दै आइरहेको छ । क्रान्तिबाट प्राप्त त्यही शक्तिले उसलाई पटक–पटक सत्तामा पु¥याएको छ । उसले अंगिकार गरेको नीति तथा सरकारमा रहँदा सम्पादित कामले देशलाई फाइदा र हानी दुबै पु¥याएको छ । कांग्रेसमाथि सत्ताको दुरुपयोग,आफन्तवादलाई प्रश्रय,भागबण्डा संस्कृतिको प्रवद्र्धन र कुशासनको प्रणेताजस्ता आरोपहरु लागेका छन् । अपितु, देशलाई उदार अर्थव्यवस्थामा प्रविष्ठ गराउने,लोकतान्त्रिक मान्यतामा सम्झौता नगर्ने,प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्ने,बहुलवादको पक्षमा उभिने तथा फरक विचार राख्नेहरुबीच पनि सहकार्य गर्न÷गराउन सक्ने पार्टीको रुपमा पनि कांग्रेसलाई लिइन्छ । हो,कांग्रेससँग यी गुणहरु छन् । उसले अंगिकार गरेको नीति भनेको बहुलवाद र खुल्ला समाज नै हो । त्यसैले कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक धरातल कमजोर अनि लोकतन्त्रले खोज्नु खुल्ला ठाउँ खुम्चिने सम्भावना रहन्छ ।

पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभर नै लोकरिझ्याँइँवाद र अतिवादी सोच मौलाउँदै गएको छ । राष्ट्रवादको बर्को ओड्ने त्यो समूहले फरक विचारलाई निषेध गर्छ र बहुलवादमाथि धावा बोल्छ । समाजवादी दर्शन हैन कि अतिवादी सोचबाट अगाडि बढ्ने त्यो शक्तिले वर्गविभेद र शोषणप्रति पनि आँखा चिम्लन्छ । मध्यवर्गीय भुइँफुट्टा समाजवाट उदाउने यस्ता शक्तिहरुलाई लोकतान्त्रिक धारमा ल्याउन, वामपन्थी दर्शनबाट प्रेरित कम्युनिष्ट शक्तिलाई बहुलवादमै अभ्यस्त गराउन र समग्रमा सहमतिको राजनीतिलाई अगाडि बढाउन नेपालजस्तो देशमा कांग्रेसजस्तो शक्तिको आवश्यकता छ ।

तर, कांग्रेसले पछिल्लो समय आफूमाथिको त्यो कार्यभार बिर्सेकै थियो । विसंगतिलाई संस्थागत गर्ने र बुर्जुवा वर्गसँग साँठगाँठ गर्दै राज्यसत्तालाई अकूत आर्जनको माध्यम बनाउन त्यसका नेताहरु उद्यत थिए । नेतृत्वमा रहने अमूक व्यक्ति र समूहले फरक विचारलाई निषेध गर्ने, आफू अनुकूलका गतिविधि चलाउने अनि कार्यकर्तालाई दास ठान्ने प्रवृत्तिले कांग्रेस थिलोथिलो थियो । इतिहासको ब्याज खाँदै आएको यो पार्टीभित्र विद्रोहका आवाजहरु नउठेका हैनन् तर ती प्रभावी थिएनन् । गएको भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चाहिँ गगनहरुले विद्रोहको आवाजलाई थप मुखरित गरे । नेतृत्व हस्तान्तरणको आग्रह भयो । नियमित महाधिवशेनमा तत्कालीन नेतृत्व सहमत नभएपछि उनीहरुले विधानले दिएको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको माग गरे । र,त्यो महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिबाट हटाएर नयाँ नेतृत्व स्थापित ग¥यो ।

तर, कांग्रेसको नयाँ नेतृत्वसामु गर्नुपर्ने कामको सूची लामो छ । राजनीतिक दलका निम्ति एउटै चुनाव सबैकुरा हैन । संघीय संसदमा साह्रै सानो ठाउँ पाएको यो पार्टीलाई पुरानै अवस्थामा फर्काउन निसन्देहः कार्यकर्तामा उर्जा भर्नु छ । र, त्योभन्दा पर आफ्ना नीति र दृष्टिकोणमा पुरावलोकन जरुरी छ । नेतृत्व भनेको मठाधीश हुनु हैन, उसले जनतालाई विश्वासमा लिने खालका नीति निर्माण गर्नैपर्छ । १५ औं महाधिवशेन घोषणा गरेको यो पार्टी अब कसरी अगाडि बढ्छ ? सर्वत्र चासो छ । तर, अहिले यत्ति भन्न सकिन्छ– कांग्रेसले लोकतान्त्रिक चरित्र नभूलोस् । लोकतान्त्रिक मैदान साँघुरो पार्ने हरेक कदमविरुद्ध ऊ उभियोस् । बहुलवादको मर्ममाथि प्रहार हुँदा मुकदर्शक नबनोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->