बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रास्वपालाई पश्चिम बंगाल र तमिलनाडु चुनावको सन्देश

रास्वपालाई पश्चिम बंगाल र तमिलनाडु चुनावको सन्देश

लोकप्रियता कर्मले निर्माण हुने हो र त्यसको मापन आउँदो चुनावले गर्ने हो । अर्कोतर्फ, दलभन्दा व्यक्तिमाथिको भरोशा छिटो तिरोहित हुन्छ । यो कुरालाई सरकारको नेतृत्व गरेको रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहले मनन गरून् ।


  • Dhorpatan News
  • बैशाख २३ २०८३, बुधबार

नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा तृणमुल कांग्रेसको १५ वर्षे शासनमा विराम लागेको छ । केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले ममता बेनर्जीलाई सत्ताबाट तल झार्ने सफलता कसरी पायो ? यो प्रश्नको विभिन्न कोणबाट उत्तर खोजिएको छ । ममताले केन्द्र सरकारले झण्डै १ करोड मत चोरेकाले सत्ताबाट बाहिरिनु परेको र पुनः सत्तामा फर्कने बताएकी छन् भने भारतीय जनता पार्टी यो विजयले उत्साही सुनिएको छ । प्रदेशमा प्राप्त यो सफलताले आउँदो लोकसभा चुनावमा पुनः केन्द्रीय सरकारको नेतृत्वमा भाजपा नै आउनसक्ने आकलन पनि हुन थालेको छ ।

नेपालसँग सीमा जोडिएको पश्चिम बंगालको सन्देश नेपाल आइपुग्न समय लाग्दैन । पश्चिम बंगालको यो चुनावले ठूलो लोकतान्त्रिक देश भारतमा क्षेत्रीय पार्टीप्रति खस्कँदो जनभरोशाको छनक पनि दिन्छ । दिल्लीमा उदाएको र अहिले प्राविधिक रुपमा राष्ट्रिय पार्टीमा दर्ज आम आदमी पार्टीको सिथिलताले पनि त्यही पुष्टि गर्छ । अपितु, भारतकै अन्य राज्यहरु केरला, तमिलनाडु र पुडुचेरीको परिणा भने फरक छ । तमिलनाडु र केरलाको चुनावी परिणाम भन्छ–जनपक्षीय नारा उराल्न सक्ने नयाँ दलले पनि राज्यसत्ता हासिल गर्न सक्छ । अभिनेता विजय थलापतिको तमिलनाडु भेट्टी कझकम् (टीभीके)ले त्यहाँको सत्तामा रजगज गरेको डीएमकेलाई पाखा लगाएको छ । उता,केरलामा कांग्रेस सत्तामा फर्केको छ भने पुडुचेरीमा एनडीए अर्थात् भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले सरकार बनाउँदै छ ।

पछिल्लो समय भारतीय राजनीतिमा भाजपा झण्डै प्रतिपक्षविहीन रह्यो । तर, सन् २०२४ को लोकसभा चुनावमा चाहिँ भाजपा एक्लैले बहुमत प्राप्त गरेन । नरेन्द्र मोदीका निम्ति तेस्रो कार्यकालको लागि क्षेत्रीय दलहरुको सहयोग अपरिहार्य बन्यो । त्यही बेलादेखि भाजपाले आफ्नो सम्पूर्ण शक्ति पश्चिम बंगालमा लगाएको थियो । चुनावी परिणामले त्यो सिद्ध गरिदियो । पश्चिम बंगालमा अत्यधिक लोकप्रिय ममता –जसलाई दिदीको संवोधन गरिन्छ ) लाई सत्ताबाट यति छिटो हट्छु भन्ने लागेकै थिएन । तर, वामपन्थी किल्ला भत्काएकी ममताको १५ वर्षे शासनकालमा आलोचनामुक्त रहेन । केन्द्र सरकारले मतदाता सूची फेरबदल गरेको र हिन्दु अतिवादी सोचलाई बढावा दिएको ममताको आरोपको स्वतन्त्र पुष्टि भएको छैन तर उनको हारको कारण त्यतिमात्र होइन । बेरोजगारी समस्या संवोधन गर्न नसकेको,महिलाको सुरक्षामा चुुकेका आरोपबाट उनी स्वयं पनि मुक्त भइनन् र राज्यसत्ता गुमाइन् ।

ममताको पराजय तथा तमिलनाडुमा विजय थलापतिको उदयलाई केही राजनीतिक टिप्पणीकारले नेपालमा बालेन्द्र साहको उदय अनि पुराना दलहरुको हविगतसँग पनि तलुना गरेका छन् । त्यो कोणबाट हेर्दा पश्चिम बंगाल र तमिनाडुको चुनावी परिणाम ठ्याक्कै मिल्छ । पश्चिम बंगाल र तमिलनाडुको चुनावी परिणाम क्षेत्रीय पार्टीहरु किन छिटो उदाउँछन् र कजजोर बन्छन् भन्ने कोणबाट पनि हेर्न सकिन्छ । नेपालमै पनि मधेशबाट उदाएका राजनीतिक दलहरु गएको फागुनको चुनावबाट बढारिए । सत्तामा पुुगेसँगै क्षेत्रीय जनआकांक्षाबाट च्यूत भएकै कारण तिरष्कृत भएका हुन् । सत्ता अस्थायी हुन्छ । जनता रिसाए भने आवधिक निर्वाचनमार्फत् विकल्प खोज्छन् । गत फागुनमा सम्पन्न चुनावबाट सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो कुरालाई ख्याल राख्नुपर्छ । लोकप्रियता कर्मले निर्माण हुने हो र त्यसको मापन आउँदो चुनावले गर्ने हो । अर्कोतर्फ, दलभन्दा व्यक्तिमाथिको भरोशा छिटो तिरोहित हुन्छ । यो कुरालाई सरकारको नेतृत्व गरेको रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहले मनन गरून् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->