बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२ दिने सार्वजनिक बिदाको समीक्षा होस्

२ दिने सार्वजनिक बिदाको समीक्षा होस्

देश भनेको सुकिला–मुकिला वा धनीमानीको मात्र हैन, सहरमा दैनिक पसिना बगाउनेहरुको पनि हो । बालबालिकाको दुई दिने बिदाका कारण काममा जान नसक्नेहरुको दुःखको सुस्केरा सरकारले सुनेन भने कसले सुन्ने ?


  • Dhorpatan News
  • जेष्ठ ३ २०८३, आइतबार

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएपछि त्यसको चौतर्फी असर परेको छ । एक दिन अर्थात् शनिबारमात्र बिदा हुँदाको मानसिकतामा काम गरेका कर्मचारीहरु यो निर्णय कार्यान्वयनमा आएको यतिका समय भइसक्दा पनि अझै अभ्यस्त बन्न सकेका छैनन् । इन्धन जोगाउनका निम्ति भन्दै सरकारले गरेको यो निर्णयले सबैभन्दा ठूलो असर चाहिँ शैक्षिक क्यालेण्डर र विद्यालयमा परेको छ । नेपालको भूगोल र हावापानीमा विविधता छ । हिमाली क्षेत्रमा र प्रचण्ड गर्मी हुने मधेशमा त्यहाँको मौषमले पढाइमा प्रभाव पार्ने गरेको जानकारी नै छ । तराईमा तातो हावा चल्दा बिहान कक्षा संचालन गर्नु परेको र कतिपय अवस्थामा विद्यालय बन्द भएका दृष्टान्त हामीसँग रहेकै छन् । त्यस्तै हिमाली जिल्लामा हिउँ पर्न थालेपछि विद्यालय नै पोखरालगायतका ठाउँमा सार्ने परम्परा पनि हामीसँग रहेकै छ । शनिबार र आइतबारको दुई दिने बिदाका कारण कोर्ष समयमा नसकिने चिन्ता एकातिर छँदैछ त भने अर्कोतिर हिमाली र मधेशका जिल्लाहरुमा मौषमले पार्ने प्रभावलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती रहेको छ । सरकारले हिउँदे र बर्खे बिदामा कटौति गर्दै त्यसको व्यवस्थापन भएको र कार्य समय बढाइएकाले पढाइ अनि सरकारी काममा प्रभाव नपर्ने बताउँदै आएको छ । तर,सिंगो एक दिन बिदा हुँदाको असर ठूलै हुँदो रहेछ भन्ने बितेका केही दिनले देखाएको छ । कर्मचारीहरुलाई फुर्सदमा भ्रमणमा नजान निर्देशन दिए पनि दुई दिन बिदाको सदुपयोग कसरी गर्ने भन्नेमा उनीहरु देखिएका छन् । गाउँघरतिर त ठीकै छ, पढ्नको लागि सहरमा भाडामा बसेकाहरु, सरकारी जागिरेहरुलाई यो बिदा घाँडो बन्न पुगेको छ ।

सबैभन्दा ठूलो असुविधा चाहिँ काम गरेर खाने वर्गमा परेको छ । जो छोराछोरीलाई स्कूल पठाएर अफिस ज्याला मजदुरी गर्छन्, उनीहरुलाई यो बिदा निल्नु न ओकल्नु बनेको छ । दुई दिन बिदा हुँदा बालबच्चालाई समय दिऊँ भने काम छुट्ने, नदिऊँ भने उनीहरुको हेरचाह कसले गरिदिने ? सहरी क्षेत्रमा श्रम गरेर बाँच्नेहरुको रोजीरोटीमा यसले गम्भीर असर पु¥याएको गुनासो यत्रतत्र सुनिएका छन् । राज्यले यो गुनासोको संवोधन गर्नैपर्छ । देश भनेको सुकिला–मुकिला वा धनीमानीको मात्र हैन, सहरमा दैनिक पसिना बगाउनेहरुको पनि हो । बालबालिकाको दुई दिने बिदाका कारण काममा जान नसक्नेहरुको दुःखको सुस्केरा सरकारले सुनेन भने कसले सुन्ने ?

टाइमा सजिएर निजी स्कूलमा पढ्नेहरुको कुरा एकातिर छ, घरमा बाबुआमाको काममा सघाएर, दाउरा–घाँस गरेर स्कूल जानुपर्ने बाध्यता रहेका विद्यार्थीहरुलाई पनि यो व्यवस्थाले अप्ठेरो पारेको गुनासो आएको छ । त्यसतर्फ पनि सरकारले ध्यान देओस् । सुरुमा २ दिन बिदाले के साँच्चिैकै सोचेजस्तो परिणाम दियो त ? यो प्रश्नको उत्तर खोजियोस् । बिदा दिने निर्णयको समीक्षा गरियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->