बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीर्थाटन र गोप्य मन्त्रणामा सीमित नहोस् रविको भारत भ्रमण

तीर्थाटन र गोप्य मन्त्रणामा सीमित नहोस् रविको भारत भ्रमण

आशा गरौँ, रविले भारतसमक्ष नेपालको चासो र सहकार्यबारे प्रष्ट धारणा राख्नेछन् । सरकार कसरी संचालन हुँदैछ भन्ने प्रष्ट पार्नेछन् र सरकार पार्टीकै कमाण्डमा चलेको विश्वास दिलाउने छन् ।


  • Dhorpatan News
  • जेष्ठ १९ २०८३, मंगलबार

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छिमेकी भारतको भ्रमणमा निस्केका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का समकक्षी नितिन नवीनको निमन्त्रणामा भारत गएका रविले प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ भारतीय अधिकारीसँग भेटघाट गर्दैछन् । भ्रमणबारे भाजपा र रास्वपा दुवैले औपचारिक जानकारी दिए पनि द्विपक्षीय भेटघाट तथा त्यसका विषयबारे केही भनिएको छैन । अपितु,नेपाल र भारतबीच सम्बन्धमा चिसोपन आएको बेला हुन लागेको सत्तारुढ दलका सभापतिको भ्रमणले दुई देशबीच सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।

भारत र नेपालबीचको असल छिमेकीको मात्र नभएर बहुआयामिक सम्बन्ध छन् । नेपालमा नयाँ सरकार आउनासाथ भारतको राजकीय भ्रमणमा जाने परम्परामा यसअघि नै क्रमभंगता भए पनि सद्भाव खोज्ने उपक्रम भने रोकिएको छैन । भारतीय संस्थापन पक्ष पनि नेपाल सधैँ आफ्नो हितभन्दा बाहिर नजाओस् भन्ने चाहन्छ भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरेकै छन् । नेपालमा बालेन्द्र (बालेन) शाह नेतृत्वको नयाँ सरकार निर्माण हुनासाथ भारतले सहकार्य गर्ने सन्देश पठायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले रास्वपा नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोनमार्फत् बधाई दिए । नेपाल र भारतबीच रहेको सीमा विवाद र लिपुलेक हुँदै मानसरोवर यात्रा चलाउने भारतीय निर्णयप्रति नेपालले असन्तुष्टि जनाएपछि सम्बन्ध अझै चिसो बन्न पुग्यो । उप्रान्त कुटनीतिक च्यानलमार्फत् के कुरा भए भन्ने बाहिर आएको छैन तर विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्ध भएसँगै सम्बन्धमा दरार उत्पन्न भएको आशंका गरियो । प्रधानमन्त्री शाहको भारत भ्रमण पनि अनिश्चित बन्यो ।सभापति लामिछानेको भारत भ्रमणको एकदिन अगाडि प्रधानमन्त्री बालेनले सांसदको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको’ विवादास्पद अभिव्यक्ति दिए । विपक्षीको व्यापक विरोधपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सच्यायो । केही दिनअघि भारतलाई कुटनीतिक नोट पठाउने प्रधानमन्त्रीले किन यस्तो अभिव्यक्ति दिए भन्ने प्रष्ट भएको छैन तर आफ्ना सभापति रविको भ्रमणको अघिल्लो दिन आएको अभिव्यक्तिको अन्तर्य केही भएको अनुमानलाई अस्भाविक मान्न मिल्दैन । राष्ट्रवादी धारको नेतृत्व गर्दै सत्तामा पुगेको यो दलले देशको सार्वभौमसत्ताविरुद्ध सम्झौता गर्छ कि भन्ने आशंका भइरहँदा सभापति रविलाई नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने र राष्ट्रहितको पक्षमा आफ्नो धारणा राख्ने अवसर प्राप्त भएको छ ।

भारतले प्रधानमन्त्रीको सट्टा सभापतिलाई निम्त्याएर नेपालको संस्थापनलाई दवाबमा राख्ने रणनीति अख्तियार गरेको आभाष भएको छ । अर्कोतर्फ, कुटनीतिमा विभिन्न च्यानलमार्फत् संवाद र सहकार्य गरिन्छ । भारत सरकार, सत्तारुढ पार्टी, त्यहाँको गुप्तचर निकाय र सेना अनि भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघले कुनै न कुनै रुपमा नेपालमाथि चासो राख्ने गरेका छन् । अहिले चाहिँ भाजपाले सत्तारुढ रास्वपाका सभापतिलाई नै औपचारिक निमन्त्रणा गर्दै दुई पार्टीबीच सबन्ध बढाउने जमर्को गरेको छ । सम्भवतः भारत रविमार्फत् नेपालको नयाँ सरकारको परराष्ट्र नीति एवं भारतसँग सहकार्यबारेका धारणाहरु बुझ्न चाहन्छ ।

आशा गरौँ, रविले भारतसमक्ष नेपालको चासो र सहकार्यबारे प्रष्ट धारणा राख्नेछन् । सरकार कसरी संचालन हुँदैछ भन्ने प्रष्ट पार्नेछन् र सरकार पार्टीकै कमाण्डमा चलेको विश्वास दिलाउने छन् । अनि, नेपालले अंगिकार गरेको परराष्ट्र नीतिविरुद्ध उभिएर, यसअघिजस्तो बन्द कोठामा सम्झौता गर्ने अनि बाहिर निस्केर राष्ट्रवादी कुरा गर्ने छैनन् । सीमा विवाद कुटनीति संवादमार्फत् टुंग्याउनुपर्नेमा विवाद छैन तर त्यसमा नेपालको हात कसरी माथि पार्ने भन्नेमा पनि उनि प्रष्ट हुनेछन् । बन्द कोठामा बसेर नेपाललाई अहित हुने विषयमा सकारात्मक बन्ने छैनन् । प्रधानमन्त्री मोदी र भारतीय संस्थापनसँग हात मिलाउँदै गोप्य मन्त्रणा सुनेरमात्र फर्कने छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->