बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्ण आरोहणले कोरेको नयाँ बाटो

अन्नपूर्ण आरोहणले कोरेको नयाँ बाटो

आरोहणको दृष्टिले जेठो हिमाल भए पनि अन्नपूर्ण र धौलागिरिमा आरोहण गर्नेको संख्या कम छ । कम हुनुको कारण पत्ता लगाउँदै साहसिक गतिविधि संचालन गर्नेतर्फ अब सामूहिक प्रयत्न जरुरी छ ।


  • Dhorpatan News
  • जेष्ठ २० २०८३, बुधबार

आज अंग्रेजी महिनाको जुन ३ । आजभन्दा ७६ वर्षअघि आजकै दिनमा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लिचेननले गण्डकी प्रदेशमा रहेको अन्नपूर्ण प्रथमको सफल आरोहण गरे । उनले इतिहास रचे । मौरिसले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ हुँदै उत्तरी मोहोडाबाट अन्नपूर्णको सफल आरोहण गरेका थिए । मौरिस हिँडेको मार्गलाई प्रवद्र्धन गर्न सो गाउँपालिका जुटेको छ भने कास्कीको अन्नपूर्ण गाउँपालिकाले पनि अन्नपूर्णको अर्को आधार शिविरसम्मै पर्यटकीय गतिविधि संचालन भइरहेका छन् ।

८ हजार मिटरभन्दा अग्लो हिमालको चुचुरो टेकेका हर्जोगले आरोहणको दुई वर्षछि सन् १९५२ मा अन्नपूर्ण भन्ने किताब लेखे । उनले लेखेको किताब सार्वजनिक भएकै हप्ता ४० हजार प्रति बिक्री भयो । सन् २०१२ मा हर्जोगको निधन हुँदासम्म अन्नपूर्ण किताबको बिक्री करोडौँको संख्यामा भइसकेको थियो । किताब बिक्रीसँगै नेपालको आरोहण र पदयात्राको प्रवद्र्धनमा उनले विशेष योगदान दिएका थिए । त्यसको तीन वर्षपछि तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथामा पाइला टेके । विश्वको अग्लो हिमाल आरोहणको किर्तिमानसँगै नेपाल बाहिरी विश्वसँग परिचित भयो ।

नेपाल बाहिरी विश्वको लागि सन् १९५० मा मात्र खुल्ला भएको हो । नभए यो हिमाली राज्य केही बेलायती र केही घुमन्ते भिक्षुहरुबीचमात्र परिचित थियो । हिमाल आरोहणले नेपाल बाहिरी विश्वको लागि खुलेसँगै यसको चर्चा विश्वभर हुन थाल्यो । यसको श्रेय पहिलो चरणमा मौरिस र उनको टिमलाई जान्छ । उनले लेखेको किताब पढेर धेरै विदेशीहरु नेपाल घुम्न आए । यसले नेपालको पर्यटन उद्योगको जग पनि बसायो । मौरिस अहिले हामीमाझ छैनन् । तर, नेपाल पर्यटकीय गन्तब्यको रुपमा विश्वमा चर्चित बनेको छ । आरोहण र हिमाली पदयात्राकै माध्यमबाट नेपालको अर्थतन्त्रमा योगदान पनि भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा त उनको अतुलनीय योगदान रहेको छ । मौरिसकको यो योगदानको हिजोआज बढी चर्चा हुन थालेको छ । केही वर्षदेखि यहाँका पर्यटन व्यवसायीहरुले अंग्रेजी महिनाको जुन ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाउन थालेका छन् । प्रवद्र्धनात्मक गतिबिधिहरु सधैँ सह्रानीय नै हुन्छन् । मौरिसको सम्झना गरिरहँदा गण्डकी क्षेत्रमा आरोहण गतिविधि बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने देखिएको छ । आरोहणको दृष्टिले जेठो हिमाल भए पनि अन्नपूर्ण र धौलागिरिमा आरोहण गर्नेको संख्या कम छ । कम हुनुको कारण पत्ता लगाउँदै साहसिक गतिविधि संचालन गर्नेतर्फ अब सामूहिक प्रयत्न जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->