भारतीय जनता पार्टीले अतिवादी धार समातेको र विपक्षीहरुलाई यो वा त्यो बहानामा कारवाहीको डण्डा चलाउने गरेको आरोप लाग्दै आएको छ । तर, त्यो आक्रोश सडकमै पोखिने अवसर भने पाएको थिएन । किनकि, बितेका केही वर्षयता भारतमा प्रतिपक्ष कमजोर बनेको छ भने संचार माध्यमहरु सत्ताको छायाँमा परेको अनुभूत भएको थियो । नागरिकहरुसँग सत्ताप्रति आक्रोश हुन्छ । त्यसलाई कसले कसरी बोक्छ र राजनीतिक शक्तिमा रुपान्तरण गर्छ भन्ने कुरा समयले निर्धारण गर्छ । भारतमा त्यसको सुरुवात भएको छ ।
चालु अंग्रेजी वर्षको मे १५ अर्थात् जेठ १ गते सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले एउटा सुनुवाइको क्रममा बेरोजगार युवाहरुलाई ककरोज अर्थात् साङ्लासँग तुलना गरिदिए । काम नपाएका युवाहरु मिडिया, सामाजिक सञ्जाल र आरटीआई एक्टिभिस्ट बनेर संस्थामाथि आक्रमण गरिरहेको उनको आरोप थियो । यो विपवादास्पद टिप्पणीपछि युवाहरु भड्किए । त्यसको भोलिपलट अभिजीत दीपकेले युवाहरुलाई एकजुट बनाउने अभियान थाले । ककरोजकै नाममा ककरोज जनता पार्टी नामक वेवसाइट खोलियो,इन्स्टाग्राम र एक्स एकाउण्ट बने । युवाहरु एकीकृत हुँदै गए । अमेरिकाको बोस्टन विश्वविद्यालय पढ्ने यी युवाको सो अभियानले राजनीतिक रुप लियो ।अन्ततःसामाजिक सञ्जालबाट जन्मेको ककरोज जनता पार्टी (सिजेपी) ले शनिबार राजधानी दिल्लीको जन्तर मन्तरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । यसका संस्थापक अभिजीत दीपके शनिबार नै अमेरिकाबाट दिल्ली झरेका थिए र सामाजिक सञ्जालमार्फत् गरिएको आह्वानमा उनका असंख्य समर्थकहरु जन्तर मन्तरमा भेला भएका थिए । जन्तर मन्तरमा जम्मा भएका पर्यावरण अभियन्ता सोनम वाङचुकसहितका शुभेच्छुकहरुले सरकारको विरुद्ध आक्रोश व्यक्तमात्र गरेनन्, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पनि माग गरे । नेसनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट’ अर्थात् ’नीट’ परीक्षाको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले आत्महत्या गर्नुको दोष शिक्षामन्त्रीले लिनुपर्ने उनीहरुको माग रहेको छ ।
केही विश्लेषकको अनुमानविपरित सीजेपीको प्रदर्शनमा राज्यले कुनै हस्तक्षेप गरेन । प्रदर्शन शान्तिपूर्ण रह्यो । सुरक्षा घेराबीच भएको प्रदर्शनपछि दीपकेले सीजेपीको प्रदर्शनको विरुद्धमा वक्तव्यबाजी गर्नेहरुलाई व्यङ्ग्य कस्दै भने,‘क्यामेरा घुमाएर उनीहरुलाई देखाइदिनू कि,कति ककरोज घरबाट बाहिर निस्केका छन् !’ सीजेपीका दिपकेले ‘शनिबारको प्रदर्शन एक ट्रेलरमात्र’ भएको बताएका छन् । यसको अर्थ हो–सीजेपी अब रोकिनेवाला छैन । सामाजिक सञ्जालको एउटा व्यङ्ग्यात्मक अभियानबाट सुरु भएको यो दल भारतको संस्थापन अर्थात् भारतीय जनता पार्टीलाई चुनौती दिने बाटोमा अगाडि बढेको छ । युवाहरुको यो अभियानलाई स्वतन्त्र विश्लेषकहरुले नेपालसहित अन्य देशमा चलेका जेन–जी आन्दोलनको अर्को स्वरुपको रुपमा अथ्र्याएका छन् । भर्खरै जेन–जी आन्दोलन, त्यससँगैको हिंसा अनि त्यसले ल्याएको राजनीतिक उथलपुथल देखेको नेपालमा पनि ककरोज पार्टीका गतिविधिप्रति चासो राख्नेहरु बढेका छन् । नेपालको हकमा भने युवाकै चाहना अनुरुप नयाँ सरकार बनेको छ । युवाकै जोडबलमा बने पनि कुनै पनि सरकारहरु प्रश्नभन्दा माथि हुँदैनन् । ढिलो–चाँडो हो, प्रश्न उठ्न सुरु गर्छ । यो कुरा नेपालको सरकारले पनि मनन गर्नैपर्छ । अनि, प्रश्न उठ्नै नदिन र जनताको चाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्नैपर्छ । ककरोज जनता पार्टीको उदयलाई नेपालको नयाँ सरकारले आफ्नो अनुशरणभन्दा पनि चुनौतीको घण्टीको रुपमा बुझ्दा राम्रो हुन्छ ।




