लागुऔषध (नियन्त्रण) ऐन २०३३ ले गाँजालाई पनि लागुऔषध मानेको छ । गण्डकी प्रदेश सरकारले गाँजालाई औषधीय प्रयोजनका लागि उत्पादन र प्रयोग गर्न मिल्ने गरी विधेयक तयार गरिरहँदा गाँजा सेवन र बिक्रीको आरोपमा पक्राउ पर्नेहरुको संख्या पनि ठूलो छ ।
लागुऔषधविरुद्धका अभियन्ताहरुको भनाइ मान्ने हो भने, लागुऔषध सेवनको सुरुवात बिन्दु नै गाँजा हो । गाँजाबाट सुरु हुने लागुऔषधको कुलत कालान्तरमा अत्यन्त खतरनाक औषधिसम्म पुग्ने गरेको उनीहरुको भनाइ छ । लागुऔषधको लत लागेपछि विभिन्न मानसिक रोगीले प्रयोग गर्ने औषधि र सिरिञ्जदेखि ल्याबमा निर्मित लाइसर्जिक डाइथेरामाइड एसिड(एलएसडी) सम्म पुग्ने गरेको अध्ययनहरुले प्रमाणित गरेका छन् ।
पछिल्लो समय नेपालमा लागुऔषध सेवनकर्ताकर्ता बढेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । कास्की प्रहरीले यो महिना गरेको कारवाहीलाई आधार मान्ने हो भने पनि यहाँ लागुऔषधको कुलतमा पर्नेहरुको संख्या ठूलो रहेको प्रमाणित गर्छ । महंगो र खतरनाक मानिने तथा रासायनिक प्रक्रियाबाट बनाइने एलएसडीसमेत पोखरा भित्रनुले कुलतको आँकडालाई बल दिन्छ ।
नेपाल सरकारले प्राकृतिक वा कृत्रिम लागुऔषध तथा मनोद्धिपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकेको छ भने निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि वीस लाख रुपैयाँसम्म जरिवानाको पनि व्यवस्था छ । यी व्यवस्थाहरु कडाइका साथ कार्यान्वयन गरेरमात्र लागुऔषधको प्रयोगकर्ता घट्दैनन् ।
लागुपदार्थको दुव्र्यसनबाट मुक्त समाज निर्माणको लागि नागरिक समाजले पनि प्रहरीसँग हातेमालो गर्नुपर्छ । अभिभभावकहरुले अलिकतिमात्र ख्याल राख्ने हो भने आफ्ना नानीबाबुलाई लागुऔषधको कुलतबाट जोगाउन सकिन्छ । त्यसका निम्ति अभिभावकले बालबालिकालाई समय दिनु त छँदैछ, लागुऔषध प्रयोगकर्ताले देखाउने आनीबानीबारे पनि जानकारी राख्नैपर्छ ।
झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनेजस्ता बानीहरु देखिएका छन् भने बेलैमा सचेत हुनुपर्छ । नानीबाबुलाई कुलतबाट बचाउन अभिभावक सदैव चनाखो बन्नुपर्छ ।




