मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रदेश सरकारले कार्यक्षमता बढाओस्, बजेट कार्यान्वयन होस्

प्रदेश सरकारले कार्यक्षमता बढाओस्, बजेट कार्यान्वयन होस्

हरेक वर्ष बजेट कार्यान्वयनमा फितलो देखिएको प्रदेश सरकारले आफ्नो काम गर्ने क्षमता बढाउने अनि बजेटको पूर्ण कार्यान्वयनमा ध्यान केन्द्रित गर्नैपर्छ ।


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८३, बुधबार

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४ को लागि ३३ अर्ब रुपैयाँको आय–व्यय (बजेट) विवरण प्रस्तुत गरेको छ । अर्थमन्त्री जीतबहादुर शेरचनबाट प्रस्तुत गरिएको बजेटले उत्पादनमार्फत् समृद्धि र समृद्धिलाई सामाजिक न्यायमा वितरण गर्ने घोषणा गरेको छ । स्रोतको दवाबकै बीच ल्याइएको बजेटले सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष जोड दिएको छ भने अधुरा आयोजना, केही सडक कालोपत्रे र कृषिलाई व्यावसायिकरण, स्वास्थ्य सेवा सुदृढीकरणलगायतका कार्यक्रम अगाडि सारेको छ । कृषि उद्यममा भएको लगानीको ब्याजमा अनुदान दिनेदेखि घरबास कार्यक्रम, धार्मिक पर्यटन प्रवद्र्धनजस्ता कार्यक्रम पनि बजेटमा समेटिएका छन् ।

बजेटले युवाको चाहनालाई संवोधन गर्न खोजेजस्तो देखिएको छ । आर्थिक वृद्धिमार्फत् समुन्नत प्रदेश निर्माण गर्ने, उत्पादन र उत्पादकत्व अनि रोजगारी बढाएर गरिबी बढाउने, सामाजिक सुरक्षामा नागरिकको पहुँच बढाउने अनि नवप्रवर्तनमार्फत् सुदृढ अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य रहेको छ भने दिगो र गुणस्तर पूर्वाधार निर्माण,लगानीमैत्री वातावरण निर्माण, कृषिको व्यावसायिकरण र बजारीकरण ,मानव संशाधन विकास र रोजगार अनि समावेशी विकासलाई बजेटका प्राथमिकता भएको बताएका छन् ।

बजेट नियमित प्रक्रिया हो । हरेक असार १ गते आउने प्रदेशको बजेटले संघ र प्रदेशले ध्यान नदिएको क्षेत्रमा लगानी गर्नुपर्छ । संघ र स्थानीय तहबीच पुलको काम गर्दै सन्तुलित विकासको मार्ग अवलम्बन गर्नुपर्छ । गण्डकी प्रदेश सरकारले स्थापनाताका आफूलाई बलियो र जनताका आधारभूत आवश्यकता पूरा गर्ने सरकारको रुपमा प्रस्तुत गरेको थियो । हरेक घरमा बिजुली, एक घर ःएक धारा कार्यक्रममार्फत् पिउने पानीको प्रबन्ध,जिल्ला सदरमुकाम र पालिकाको केन्द्रसम्म पुग्ने सडक निर्माणजस्ता घोषणाहरु आशा जगाउने खालका थिए । त्यसका अलावा प्रदेश गौरवका आयोजनाको रुपमा केही रणनीतिक महत्वका योजनाहरु पनि प्रदेशले अगाडि बढाउने घोषणा गरेको थियो ।

तर, एक घरः एक धारा र उज्यालो प्रदेशबाहेक अन्य क्षेत्रमा सोचेजस्तो प्रगति हासिल भएन । स्रोतको अभावमा ठूला परियोजना त सुरु नै भएनन् । बरु, प्रदेश सरकारको पूँजीगतभन्दा प्रशासनिक खर्च बढ्दै गयो । सत्ताको फोहोरी खेल, भागबण्डा,मन्त्रालय थपघटजस्ता गतिविधिका कारण प्रदेश आलोचित बन्न पुग्यो । संघले अधिकार दिएन भन्ने प्रदेश सरकारले स्थानीय तहसँग आफ्नो सम्बन्ध सुमुधुर बनाउन पनि सकेन । जसका कारण प्रदेश केही राजनीतिक नेताहरुलाई व्यवस्थापन गर्ने थलो हो भन्ने भाष्य निर्माण भयो । अहिले पनि प्रदेशप्रति आम नागरिकहरु सकारात्मक छैनन् ।

अहिले संविधान संशोधनको चर्चा चलिरहेको छ र संशोधनको विषय उठान हुँदा प्रादेशिक संरचना कस्तो भन्ने बहस पनि थालनी भएको छ । यहीबीचमा सवै प्रदेशहरुले बजेट ल्याएका छन् । बजेट वितरणमुखी भएकोमा कुनै द्विविधा छैन तर गण्डकीको हकमा छ्या भन्नुपर्ने देखिँदैन । योपटकको बजेटमा गण्डकीले युवालाई बढी प्राथमिकता दिएको छ र उनीहरु लक्षित कार्यक्रमलाई विभिन्न कोणबाट अगाडि बढाउने जमर्को गरेको छ । यसलाई सकारात्मक मान्नुपर्छ । हरेक वर्ष बजेट कार्यान्वयनमा फितलो देखिएको प्रदेश सरकारले आफ्नो काम गर्ने क्षमता बढाउने अनि बजेटको पूर्ण कार्यान्वयनमा ध्यान केन्द्रित गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->