बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्यान्सर औषधिको तत्काल व्यवस्था गर

क्यान्सर औषधिको तत्काल व्यवस्था गर

बजारमा लामो समयदेखि जीवनरक्षक औषधिको अभाव हुनु भनेको नागरिकलाई संविधानले सुनिश्चित गरेको स्वास्थ्य सेवाबाट बञ्चित गर्नुमात्र हैन, अपराध नै हो । अतः सरकार चुप लागेर नबसोस् । औषधिको तत्काल आपूर्ति होस् ।


  • Dhorpatan News
  • असार १८ २०८३, बिहिबार

नेपालमा क्यान्सर औषधिको अभाव भएको छ । किमियोथेरापीमा चलाउनुपर्ने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को अभावले उपचार प्रभावित बनेको छ । आयातकर्ताले मूल्य समायोजना नभएसम्म यी नल्याउने अडान लिएपछि औषधिको अभाव भएको हो । औषधि व्यवस्था विभागले तोकेको मूल्य भारतमा भन्दा सस्तो भएको र त्यो मूल्यमा आयात सम्भव नभएको उनीहरुको जिकिर छ । औषधि व्यवस्था विभागले विभिन्न ११७ वटा औषधिको मूल्य तोकेको छ । बजारमा औषधिको अभाव देखिएपछि रोगीहरु मर्कामा परेका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागलाई बजारमा औषधि अभाव भएको जानकारी छ । विभागले आयातकर्तासँग एक चरण छलफल पनि गरेको थियो तर समस्या समाधान हुन सकेको छैन । जसले गर्दा क्यान्सरपीडितहरुले थप पीडा भोगिरहेका छन् । औषधिकै निम्ति भारतीय बजारसम्म पुग्नुपर्ने अवस्था आएको छ ।

तुलनात्मक रुपले सस्तो र प्रभावकारी औषधि अभाव भएपछि डाक्टरहरुले विकल्पमा अर्को औषधि चलाएका छन् तर ती औषधि महंगा र प्रभावका दृष्टिले पनि कमजोर रहेको उनीहरुको भनाइ छ । डाक्टरहरुले तत्काल औषधिको आपूर्तिको आग्रह गरे पनि सरकारले समस्या नसल्टिएको विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको भनाइ छ ।

औषधिको अभाव हुनु भनेको मान्छेलाई मृत्युको मुखमा धकेल्नु हो । औषधिजस्तो अत्यावश्यक बस्तुको किन आयात भएन भन्नेतर्फ राज्यले आँखा लगाउनैपर्छ । अत्यावश्यक औषधिको आपूर्ति सुनिश्चितताका लागि के गर्नुपर्ने हो,त्यो काम गर्नैपर्छ । मूल्य समायोजन आवश्यक हो भने तत्काल गरिनुपर्छ । व्यवसायीले आयातमा आनाकानी गरिरहेको अवस्थामा राज्यले नै आपूर्तिको चाँजोपाँजो मिलाउनु पर्छ । बजारमा लामो समयदेखि जीवनरक्षक औषधिको अभाव हुनु भनेको नागरिकलाई संविधानले सुनिश्चित गरेको स्वास्थ्य सेवाबाट बञ्चित गर्नुमात्र हैन, अपराध नै हो । अतः सरकार चुप लागेर नबसोस् । औषधिको तत्काल आपूर्ति होस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->