बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारले विवेक नगुमाओस्

सरकारले विवेक नगुमाओस्

जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई देश बनाउने अभिभारा सुम्पेका हुन्, विधि र प्रक्रिया मिच्न अनि भुइँमान्छेलाई दुःख दिनका निम्ति मत जाहेर गरेका हैनन् । नागरिक निराश बने भने यो सरकारले ठूलो मूल्य चुकाउनुपर्छ ।


  • Dhorpatan News
  • असार २८ २०८३, आइतबार

दुई तिहाइ नजिकको शक्तिशाली सरकारका पछिल्ला गतिविधि र केही दिनयताका घटनाक्रमहरु निराश तुल्याउने खालमा छन् ।

सरकारले विधि र प्रक्रिया भुलेर काठमाडौंका सुकुमबासी बस्ती खाली गरायो । उनीहरुलाई बलजफ्ती होल्डिङ सेण्टरमा पु¥याइयो । लालपूर्जासहितको सुरक्षित आवासको आशा गरेका सुकुमबासीलाई एकाएक आश्रयस्थलबाट बाहिर निस्कने उर्दी दिइयो । खानेकुरा र पानीको आपूर्तिमा अवरोध भयो । होल्डिङ सेन्टर जलमग्न हुँदा पनि सरकारको मन पग्लेन । उल्टै उनीहरुको अवस्था बुझ्न पुगेका केही जेनजी युवाहरुलाई प्रहरीले शनिबार धरपकड ग¥यो ।

गणेश नेपालीको मोटरसाइकलमा प्रहरीले चाबी लगायो । विछिप्त बनेका उनले मन थाम्न सकेनन् । आत्मदाहको बाटो रोजे । गणेश युवा थिए र यो सरकारसँग उनको ठूलो अपेक्षा थियो । तर,उनको सुरक्षा संयन्त्रले संयम अपनाउन नसक्दा उनले गलत बाटो रोजे । उनीजस्तै अर्का एक व्यवसायी पनि आत्मदाहको गतल बाटो रोज्दा ज्यान गुमाएका छन् । गणेशको निर्णय गलत थियो तर उनको त्यो कृत्यमा राज्यको निरपेक्ष बस्न सक्दैन । सवैभन्दा बढी अपेक्षा गरिएकाबाट सही निर्णय भएन भने त्यसले असन्तुष्टि निम्त्याउँछ । गणेशको हकमा भएको त्यही हो । यो घटनामा सरकारले किन्तु–परन्तुको सहारा लिएर आफूलाई पानीमाथिको ओभानो देखाउन खोजिरहेको छ तर सरकारकै गतिविधिबाट नागरिकहरुमा निराशाको पारो बढ्दै गएको तथ्यप्रति भने आँखा चिम्लिएको छ ।कानून कार्यान्वयन गराउने नाममा बालेन्द्र शाह नेतृत्वको सरकारले जस्ता गतिविधिहरु गरिरहेको छ, ती लोकतान्त्रिक राज्यका निम्ति सुहाउँदैनन् । हिजो महागनरको प्रहरी प्रमुख राजु पाण्डेलाई अगाडि सारेर शक्तिको अभ्यास गरेका प्रधानमन्त्री बालेन्द्रको शैली लोकतान्त्रिक छैन । सुकुमबासीमाथि गरिएको यो सरकारको व्यवहार त बिर्सनलायक छ । इतिहासको सर्वाधिक शक्तिशाली सरकारसँग निसन्देश कारवाही गर्ने अख्तियारी छ । कानून मिच्नेमाथि कारवाही हुनैपर्छ तर राज्यले निमुखामाथि डण्डा बर्साउनुअघि अभिभावकीय जिम्मेवारीको ख्याल राख्नुपर्छ । निर्णयहरुको दूरगामी असरबारे आकलन गर्नुपर्छ । बालेन सरकारले चाहिँ विधि र पद्धतिभन्दा पनि जंगबहादुरको शासकीय शैली पच्छ्याएको छ । सुकुमबासीहरुलाई बलात हटाउने, उनीहरुमाथि न्यूनतम् मानविय संवेदनासमेत प्रकट नगर्ने र मध्य बर्खामा पानी जमेको आश्रयस्थलबाट हटाउने कामलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । सरकार असहिष्णु, गैरजिम्मेवार र तानशाही बन्ने दिशामा अगाडि बढेको लक्षणहरुले नागरिकलाई चिन्तित तुल्याएको छ । तर अझैसम्म पनि उनीहरुले धैर्य गुमाएका छैनन्, यो सरकारले केही राम्रो गरिदेओस् भन्ने आशा राखेका छन् । जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई देश बनाउने अभिभारा सुम्पेका हुन्, विधि र प्रक्रिया मिच्न अनि भुइँमान्छेलाई दुःख दिनका निम्ति मत जाहेर गरेका हैनन् । नागरिक निराश बने भने यो सरकारले ठूलो मूल्य चुकाउनुपर्छ । प्राप्त अभूतपूर्व अवसर गुमाउँदा रास्वपा स्वयं र राष्ट्रलाई भलो गर्दैन । अतः सरकारले कानून नमिचोस्,भुइँमान्छेमाथि ज्यादति नगरोस् र लोकतन्त्रका मूल्य र मान्यताहरु भत्काउने काम नगरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->