नेपालमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । व्यस्त जीवन, अव्यवस्थित दिनचर्या र खानपान र तनावग्रस्त जीवन मुटुरोगका कारणहरु हुन् । नेपालमा वार्षिक हुने मृत्यदरमा १४ दशमलव २४ प्रतिशत मुटुरोगकै हिस्सा रहनुले पनि मुटुरोगको अवस्था छर्लङ्ग हुन्छ । शहीद गंगालाल हृदयरोग केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अधिक धुमपानले २३ दशमलव ८,तनावले २१ दशमलव ५,मधुमेहले १० र शारिरीक व्यायामको कमीले ५ दशमलव ५ प्रतिशतमा मुटुरोग देखिएको छ छ । नेपालीहरुको खानामा पोषणयुक्त फलफूल, हरियो सागपातको मात्रा नमिल्दा पनि समस्या देखिएको अध्ययनले देखाएको छ । कुल जनसंख्याको २० प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मुटुरोगबाट ग्रस्त भएको अध्ययन प्रतिवेदन आफैमा डरलाग्दो छ ।
मुटुरोगको यो महामारीको तुलनामा नेपालमा उपचार तथा जनचेतानत्मक अभियान भने साह्रै सुस्त रहेको छ । अझ खानपानमा भएको लापरवाहीले सानै उमेरमा देखिने मुटुरोगले ठूलो समस्या समेत उत्पन्न गरेको छ । सबैलाई थाहा छ– मुटु मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । यही अंगमा खराबी देखिएपछि त्यसको प्रभाव सबै अंगमा पर्नु अस्वभाविक पनि हैन । यस्तो अवस्थामा मुटुरोगबाट बच्न र बचाउनको लागि सरकारी तवरबाट ठूलै अभियान संचालनको आवश्यकता एकातर्फ छ भने मानिसको दिनचर्या परिवर्तन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । बढ्दो वातावरणीय प्रदूषण, खानपानमा देखिएको लापरवाही नियन्त्रण पनि मुटुरोग नियन्त्रणको लागि सहायक हुन सक्छन् ।
अहिले नेपालीहरुको दिनचर्या न त हिजो धार्मिक र सामाजिक रुपले निर्धारण गरिएको जस्तो छ, न त विश्व स्वास्थ्य संगठनले तोकेको अनुसार नै चलेको छ । जीवन व्यस्त हुँदै गएको छ, तनाव बढ्दो छ । त्यसैगरी वातावरणमा बढ्दै गएको प्रदूषण, खानपानमा देखिएको लापरवाही र अस्वभाविक दैनिक जीवनले मानवीय स्वास्थ्य जोखिममा परेको छ । अझ, नेपालको सन्दर्भमा त यहाँ पाइने सबैजसो खानेकुराहरु मिसावट रहित हुन सकेका छैनन् । मिसावटयुक्त खानेकुराले सबैभन्दा पहिला मुटुमा नै क्षति पु¥याउने गरेको छ । युवाहरुमा बढ्दो मध्यपान र धुमपानको लतले पनि रोग निम्त्याउने बाहेक केही गरेको छैन । अहिले देखिएका सबै प्रवृत्ति अन्त्य र नागरिकलाई स्वस्थ जीवनतर्फ लैजानको लागि जनचेतना अभिवृद्धिको कार्यक्रमलाई तीब्र बनाउनु पर्ने भएको छ ।
रोग लाग्न नदिनु राम्रो हो । रोग लागेपछि सहुलियत दरमा सही उपचार पाउनु नागरिकको अधिकार हो । नेपालका नागरिकहरु भने स्वास्थ्यको आधारभूत अधिकारबाट बञ्चित छन् । सरकारी लापरबाही र बढ्दो निजीकरणले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सृजना भएको छ । राजधानीमा मुटुरोगको लागि उपचारको व्यवस्था भए पनि मोफलस त्यो अधिकार एवं सुविधाबाट बञ्चित छ । यहाँ मुटुसम्बन्धी केही समस्या देखियो भने मानिसको जीवन नै मृत्यु र जीवनको दोसाँधमा पर्न पुग्छ । यो अवस्था अन्त्यको लागि राज्यले ध्यान दिनुपर्छ । पोखरामा मुटरोग अस्पताल निर्माणका निम्ति भवनको डीपीआर तयार पारिएको छ । सिम्पानीमा निर्माण हुने सो अस्पतालको लागत ८० करोड माग गरिएको छ । सरकारले गण्डकीको यो मागको सुनुवाइ गरोस् ।




