काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्गउद्घाटन भएको छ । तोकिएको समयमा परियोजना सम्पन्न नहुँदा यसको लागत बढेर २९ अर्ब पुुग्यो तर साढे ५ किलोमिटर लामो सुरुङ मार्गले नेपालको सडक यातायात नयाँ युुगमा प्रवेश गरेको छ ।जापान सरकारको सहयोग नियोग जाइकाको सहयोगमामा निर्मित सुरुङले दूरीमात्र छोट्याएको छैन,थानकोटमा हुने ट्राफिक जाम कम गराउने छ । समय र इन्धन बचन हुँदाको अर्को लाभ पनि यो सुरुङले दिने नै छ ।
नेपालमा धेरै अगाडि नै सुरुङ निर्माणको अभ्यास नभएको होइन । पाल्पाको अर्घलीमा कुलो बनाउने क्रममा यस्तै सुरुङ निर्माण भएको थियो भने मुुस्ताङ अनि मकनापुरको चुरियामाइमा पनि सुरुङ रहेको थियो । जलविद्युत परियोजनाका निम्ति देशभर ५ सय ३७ किलोमिटरभन्दा बढी सुरुङ बनाइएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबामा पनि सुरुङ निर्माण भइरहेको छ । २०८३ को कात्तिकमा सम्पन्न हुने १.१२ किलोमिटरको सो सुरुङ निर्माणले त्यस क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण गराउने निश्चित छ । काठमाडौं–मधेश द्रूतमार्गमा पनि टनेलहरु बन्दैछन् ।
यातायातको भरपर्दो माध्यम भनेको सडक नै हो । सडक सुरक्षित र फराकिलो अनि राम्रा भए भने त्यसले यात्रालाई सहज बनाउँछ । ढुवानीमा लागत कम हुन्छ । नेपालको भू–बनोट असाध्यै जटिल र अप्ठेरो छ । भूगोलकै कारण सडक सञ्जाल बिस्तार गर्न कठिन हुने गरेको छ । रेल सञ्जाल नभएको देशमा सडकको दूरी छोट्याउनका निम्ति धेरै ठाउँमा यस्ता सुरुङ मार्गहरु बन्नुपर्छ । कास्कीकै कुरा गर्ने हो भने यहाँको हेमजादेखि पर्वत जोड्ने सुरुङ मार्गको चर्चा चलेको धेरै भयो तर निर्माणले गति लिन सकेको छैन ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको निर्माणसँगै राज्यले अन्य क्षेत्रमा पनि यस्ता सुरुङ निर्माण गर्नेतर्फ पाइला चाल्नुपर्छ । तर, टनेल निर्माणको लागत बढी देखिएको छ । नेपालले लागत कम कसरी गर्न सकिन्छ भन्नेबारे पनि उत्तिकै ध्यान दिनुपर्छ । सानो अर्थतन्त्र भएको मुलुकले सस्तो प्रविधि एवं आफ्नै स्रोत र साधनको उपयोगतर्फ सोच्नैपर्छ । अहिले टनेल निर्माणका सबै पक्षमा विदेशीको भर पर्नुपर्ने वाध्यता छ । नेपालमै पनि केही विश्वविद्यालयले टनेल इन्जिनियरिङ पढाउने तयारी गरेका छन् । देशमै यो क्षेत्रका दक्ष जनशक्ति उत्पादन सँगसँगै आवश्यक ठाउँमा सुरुङ मार्ग बनाउँदै अघि बढ्नु जरुरी हुन्छ । लामो समयको प्रक्रिया अवलम्बन गर्दै, म्याद थपिँदै देशको पहिलो सडक मार्गको सुरुङ बनेको छ । यसले पूर्वाधार क्षेत्रमा त सकारात्मक सन्देश दिएको छ नै नेपालीमा आशासमेत सञ्चार गरेको छ ।




