
लेखक
साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महŒवपूर्ण महिना भनिन्छ । यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो । त्यस्तै, साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ; यो भगवान विष्णुको शयनमा रहने महिना हो । धार्मिक कारणमात्र नभएर यो महिनालाई विशेष महत्वका साथ विभिन्न सम्प्रदायले पनि मान्ने गरेका छन् ।
वर्षात्को उच्च समय पर्ने यो महिनामा नेपाली संस्कृतिमा भने महिलाले हरियो चुरा, कपडा र मेहन्दी लगाउने गर्दछन् । साथै, साउन महिनादेखि नेपाली परम्परामा आधारित विभिन्न चाडपर्व आगमन हुने गर्छ; खुसी तथा रौनक छाउने विश्वास गरिन्छ । साउन महिनामा त्यतिमात्र नभई केही धार्मिक समूहले उपवास बस्ने, ध्यान जप गर्ने, बोलबम भन्दै तीर्थयात्रा समेत जाने गर्दछन् । भगवान शिवको प्रिय बार साउने सोमबारका दिन विभिन्न धार्मिक क्षेत्रमा त मेला नै लाग्ने गर्छन् ।
भारतको हरिद्वारमा भने साउन महिनाभर काँवण यात्रा हुने गर्छ । जुन यात्रामा तीर्थालु निकै ठुलो संख्यामा देशका विभिन्न स्थानबाट जाने गर्छन् । साउन महिनाको यतिमात्र नभई अर्को महŒव पनि छ, त्यो हो– साउन १५ गते नेपाली सांस्कृतिक चलन अनुसार खीर खाने । हुन त नेपाली परम्परामा साउने पूर्णिमा वा रक्षाबन्धनका दिनमा खीर खाने भनेर मनाउने गरिन्छ । तापनि यो दिवस मनाउन थालेको इतिहास भने त्यति पुरानो छैन ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेलाई खीर खाने दिन वा खीर दिवसका रुपमा मनाउने निर्णय गरेपछि साउन १५ लाई खीर दिवस भनेर मनाउन थालिएको हो । यो दिनको विशेष महŒव खीर दिवस तथा आध्यात्मिक कारणले पनि रहेको छ । यो एक ऐतिहासिक दिन पनि हो । नेपाली परम्परामा यो दिनलाई अति प्राथमिकतामा राखेर घरपरिवार, ईष्टमित्र र चेलीबेटी जम्मा गरी संयुक्त रुपमा खीर खाने चलन रहेको छ ।
नेपाली समाजमा असार १५ मा दहीचिउरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १ मा खिचडी र माघ १५ मा मालपुवा जस्ता खाद्यपदार्थ खाने चलन छ । यी चालचलनले विशेष महिनामा विशेष खाना खाने र त्यसबाट शारीरिक तन्दुरुस्ती कायम गर्न मद्दत पु¥याउने गरेको पाइन्छ ।
मौसम अनुसार खाइने यस्ता खाना स्वादिष्ट हुने, पाचन प्रणालीमा कुनै खराबी नहुने र संस्कृतिको जगेर्ना हुने भएकाले भावी पुस्तालाई समेत यसको जानकारी र ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ । आजका बच्चाले खीर के हो, चामल के हो, कसरी बन्छ, किन यस्तो खाना खाने भन्नेकुरा बुझेको छैन । किनकि यस्ता खानाको ठाउँमा केक, बिस्कुट, पाउरोटी, पिज्जा, बर्गर, माछा मासुले ओगटेका छन् भने दूध, दही, मही आदिको ठाउँ कोक, जुस र अनेक ड्रिङ्क्सले ओगटेका छन् । अहिले त प्राकृतिक खानाको स्वाद जिब्रोले थाहा पाउनै छाडेको अवस्था छ ।
यस्तो अवस्थामा शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक स्वास्थ्यमा असर परी व्यक्ति दीर्घ रोगको चपेटामा परिरहेको र नेपालकै अनागरिक बनेको देख्न सकिन्छ । यसै सन्दर्भमा हालसम्म नेपालको संस्कृति जोगाउँदै आइरहेको हाम्रो पुस्ताले विशेष चाडपर्व र विशेष परिकारका बारेमा भावी पुस्तालाई बुझाउनका लागि समेत अघिल्लो पुस्ताले ध्यान दिनुपर्छ । अन्यथा धर्म, अध्यात्म र संस्कृति लोप हुन बेर लाग्दैन । त्यस कारण साउन १५ गतेको साँस्कृतिक महत्व, खीर खाने प्रचलन र यसका फाइदाका बारेमा प्रष्ट पार्ने उद्देश्यले यो आलेख तयार गरिएको छ ।
खीर खाने चलन कहिलेदेखि आयो भन्ने सन्दर्भमा कुरा गर्दा यो खाना चौधौं शताब्दीमा चीनबाट सुरु भएको हो भन्ने इतिहास पाइन्छ । चीनपछि सार्क राष्ट्रहरू हुँदै पश्चिमी देशमा समेत यसको प्रचलन सुरु भएको मानिन्छ । दक्षिण भारत, माल्दिभ्स, थाइल्यान्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खीर बनाएर खाने गरिन्छ । पूर्वीय दर्शनमा साउन महिनालाई शिवको महिना मानिने र शिवलाई दूध तथा दुग्धजन्य पदार्थ मन पर्ने भएकाले खीरको प्रचलन आएको हो भन्ने किंवदन्ती पाइन्छ ।
प्राचीन कालदेखि नै पितृकार्यमा समेत दूध चढाउने, दूधबाट बनेको पायस खाने चलन चल्दै आएको र हालसम्म यो चलन देख्न सकिन्छ । शास्त्रमा श्रीकृष्ण भगवानकै पालादेखि खीर खाने चलन चलिआएको र खीरलाई पवित्र प्रसादका रुपमा मन्दिरमा समेत चढाउने र खाने चलन चलेको हो भन्ने देखिन्छ ।
खीरलाई नेपाली शब्दकोषमा दूधमा पकाइएको भात वा दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस र तस्मै भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै, संस्कृत भाषामा खीर शब्द क्षीरमा भन्ने शब्दबाट बनेको हो । यसको अर्थ दूध र अन्नबाट बनेको परिकार हो । हुन पनि खिर बनाउँदा दूधमा चामल राखेर त्यसमा चिनी, घिउ, नरिवल, किसमिस, काजु, छोकडा तथा अन्य विशेष मसलाहरू राखेर तयार गरिन्छ । साउनमा प्रशस्त हरियो घाँसपात पाइने र पशुले पनि प्रशस्त दूध दिने हुँदा यसको अभाव हुँदैन । यसरी दूध, घिउँ प्रशस्त पाइने, खेत रोपेर सकिएको समय, पानी परिरहेको र स्वच्छ वातावरण भएको समयमा खीर खाने चलन आफैंमा राम्रो छ ।
बच्चा, वृद्ध र बिरामी समेतले विशेष समस्याबाहेक अन्य अवस्थामा प्रायः खीर सजिलै पचाउन सक्ने हुँदा समस्या आउँदैन । खीरले पोषक तत्व प्रदान गर्छ, जसले वर्षा याममा लाग्न सक्ने विभिन्न रोग विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । खीर चामल, साबुदाना, सेवइ, मकै र गाजर जस्ता खाद्यपदार्थ दूधमा राखी तयार गर्न सकिन्छ; जुन पोषणका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । राम्रो दूधमा ६० प्रतिशतसम्म क्यालोरी पाइने, पोटासियम, क्याल्सियम, फस्फोरस, क्लोरिन, सोडियम, म्याग्नेसियम जस्ता खनिज पदार्थ, भिटामिन, चिल्लो पदार्थ र प्रोटिन पाइने हुँदा स्वास्थ्यका लागि यसरी दूधमा अन्न मिसाइ खिर बनाएर खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुन्छ ।
यसका साथै यसमा राखिने विभिन्न मसलाले खीर थप स्वादिलो र पौष्टिकसमेत बन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वर्षा याममा लाग्ने विभिन्न संक्रामक रोग लाग्नबाट सुरक्षा प्रदान गरी शरीर ह्ृष्टपुष्ट राख्न मद्दत पु¥याउँछ । साउनमा मासु, माछा, मदिरा नखाई व्रत बस्ने र आँप, नासपाती, कटहर जस्ता फलफूल र खीर जस्ता सात्विक भोजन खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुने गर्दछ, जुन शरीरका लागि थप सकारात्मक हुन्छ ।
कतिपय अवस्थामा खीर खान नहुने पनि हुन्छ । मधुमेह हुँदा गुलियो खीर र बढी कार्बोहाइड्रेट खान हुँदैन; ग्यास्ट्राइटिस हुनेहरूले धेरै खान हुँदैन, पाचन प्रणाली कमजोर भएका बखत, बच्चाले दिसापखाला गरिरहेको भए खीर खुवाउनु हुँदैन । कतिपयलाई दूधको ल्याक्टोजले असर गरी पेटमा समस्या ल्याउने र अपच हुने समस्या छ भने त्यस्ता व्यक्तिले दूधमा पकाएको खीर सेवन गर्नु हुँदैन तर नरिवल वा अन्य दूधमा पकाएको खान मिल्छ । यी अवस्थाबाहेक अन्य सबैले खीर खान हुन्छ ।
खीर खाँदा बढी चिनी, बढी घिउ, तरकारी र अचारसँग खान हुँदैन । किनकि चिनी सबैभन्दा हानिकारक तŒव हो; जुन मोटा मानिस र मधुमेह भएकाले खान हुँदैन । घिउँ मुटुरोगी, मोटा मानिस र पेटका रोगीहरूले खानु हुँदैन । त्यस्तै दूधसँग नुन मिसाएर कदापि खानु हुँदैन किनकि नून र दूध, अनि दूध र अमिलो पदार्थ सेवन गर्दा विरुद्ध आहार हुन्छ । यसले पेटमा गडबडी ल्याउने, अपच हुने, पेट दुख्ने र उल्टी आउने गराउन सक्छ । यति कुरा विचार गरेर खीर खाइयो भने त्यसले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र शरीरमा आवश्यक पौष्टिक तŒवसमेत प्राप्त हुन्छ ।
साउन १५ लाई खीर खाने दिवसको पमा एक दिनमात्र मनाएर खीर खानुभन्दा यसलाई कहिलेकाहीँ खाने तालिका बनाउन सकिन्छ । बच्चा, वृद्ध र रोगी व्यक्तिलाई आवश्यकता अनुसार खानाका रुपमा खीर सेवन गराएमा बिरामी छिटो निको हुन सहयोग हुन्छ । बच्चा र वृद्धलाई खीर पचाउन सजिलो हुनुका साथै आवश्यक सबै किसिमका पौष्टिक तŒव प्राप्त हुने हुँदा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले खीरलाई नियमित खानाको रुपमा सेवन गर्नु उचित हुनेछ ।





