प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेट गरेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग शिष्टाचार भेट गरेका हुन् । भारतीय राजदूतसँगको भेटमा द्विपक्षीय मित्रता,पारस्परिक हित, विकास साझेदारी तथा सहकार्य तथा चिनियाँ राजदूतसँग सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सोमबारको भेट यसअघि उनले नै लिएको अडान विपरित हो । प्रधानमन्त्री बालेनले विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग एक्लाएक्लै नभेट्ने अडान लिएका थिए । प्रधानमन्त्री भएलगत्तै परराष्ट्र मन्त्रालयमार्फत् गएको चैतमा सामूहिक भेटघाट गरेका थिए । छिमेकी र सहयोगीहरुसँग नभेट्ने प्रधानमन्त्रीको निर्णयकै कारण यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रोकिएको थियो भने अमेरिकी परराष्ट्र मन्त्रालयका दक्षिण पूर्वी एसिया हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरले पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन् । प्रधानमन्त्रीले असार तेस्रो साता एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग भने शिष्टाचार भेट गरे ।
प्रधानमन्त्रीको कुर्सीमा बसेसँगै बालेन्द्रले विदेशी कुटनीतिक प्रमुखहरुलाई सामूहिक भेट्ने निर्णयको प्रशंसा भएकै थियो । उनको सो कदमलाई सिंहदरबार र बालुवाटारमा निर्वाध प्रवेश गर्ने कुटनीतिज्ञहरुलाई आफ्नो सीमाभित्र बस्न दिइएको सन्देश तथा कुटनीतिक भेटघाटलाई व्यवस्थित अनि पारदर्शी बनाउने सरकारी प्रयासको रुपमा चर्चा गरियो । तर, जब बालेन्द्रका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले खुसुक्क भारत भ्रमण गरेका र गुपचुप त्यहाँका संस्थापनतर्फका नेताहरुलाई भेटेको खबर बाहिरियो, त्यसले यो सरकारप्रति पनि आशंका उत्पन्न गरायो । भ्रमणबारे सरकारले केही बताएको छैन । तर, जटिल भू–राजनीतिक अवस्थामा रहेको नेपालको संस्थापन पछिल्लो समय छिमेकीको आड भरोशा खोजेको सन्देश भने प्रवाहित भयो । सीमालगायतका विवादले भारतसँग चिसिँदो सम्बन्ध र तिब्बतको निर्वासित सरकारका तर्फबाट बधाइ खाएका बालेन चेपुवामा थिए । चीनले पटक–पटक नेपालबा बढ्दो तिब्बती गतिविधिप्रति असन्तुष्टि जाहेर गर्दै आइरहेको छ । ऊ नेपालबाट ‘एक चीन नीति’को पूर्ण पालना चाहन्छ । सरकारले आफ्ना चासोहरु संवोधनमा तदारुकता नदेखाउँदा छिमेकी असन्तुष्ट हुनु स्वभाविक थियो । बालेनले सोमबार गरेको भेटले दुवै छिमेकीको चासो संवोधन भएको अपेक्षा गरिएको छ । कम्तिमा यो भेटले संवादहीनताको अन्त्य भएको छ । आउँदा दिनमा अन्य साझेदार देशसँग पनि प्रधानमन्त्रीले यसरी नै भेटवार्ता गर्नुपर्छ,उनीहरुका चासोबारे बुझ्दै आफ्ना दृष्टिकोणहरु प्रष्ट पार्नुपर्छ ।
वैश्विक युगमा सहकार्य र साझेदारीविना एक्लै हिँड्न सम्भव छैन । तर, सहकार्यको अन्तर्य ‘त्वम् शरणम्’ हैन । विदेशी कुटनीतिज्ञसँग नभेट्दैमा राष्ट्रवादी भइँदैन । उनीहरुलाई भेट्ने, भावना र चाहना बुझ्ने अनि आफ्ना कुरा प्रष्ट राख्दामात्र द्विपक्षीय सम्बन्ध सुमुधुर हुन्छ । खोपीमा बसेरमात्र राष्ट्रवादी र पूजनीय बनिँदैन । पूजनीय बन्नका निम्ति निरन्तर संवाद र सहकार्यको हात अगाडि बढाउनैपर्छ । कुटनीति खेलाँची विषय हैन । प्रधानमन्त्री बालेन्द्र सम्हालिएका छन् । आउँदा दिनमा उनी अझ गम्भीर बनून् । कुटनीतिक क्षमता वृद्धि गर्दै संवादका निम्ति सदैव तयार रहून् ।



