बागलुङको भूगोलबाट सुरू भएको ‘ढोरपाटन दैनिक’ आजबाट २४ वर्षमा प्रवेश गरेको छ । नेपाली सञ्चार जगतका विभिन्न आयाममा छापा माध्यम २४ वर्षअघिको सशक्त सञ्चार माध्यम थियो । ढोरपाटनको जन्म मुलुकले सशस्त्र द्वन्द्व, संकटकाल र राजनीतिक उतारचढाव व्यहोरिरहेका बेला भएको हो । सिंहदरबारबाट हेपिएको, सामाजिक र आर्थिक रुपमा पिछडिएको तत्कालीन धौलागिरि अञ्चल सदरमुकाम बागलुङबाट दैनिक पत्रिका प्रकाशन आरम्भ गर्नु चुनौतीसँग पौंठेजोरी खोज्नुसरह नै थियो । हामीले चुनौती मोल्यौँ । स्थानीयका सरोकार, भावना र चाहनालाई वाणी दियौँ । नागरिकको सूचनाको भोक मेटाउन हरदम प्रयत्न ग¥यौँ । मोफसलमा निजी क्षेत्रबाट सञ्चालित ढोरपाटनलाई नागरिकको ‘मुखपत्र’मा परिणत ग¥यौँ ।
साँघुरो विज्ञापन बजारमा आश्रित रहँदै व्यावसायिक पत्रकारिता गर्न कठिन थियो तर पठन संस्कृति विकास एवं नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रतिको दायित्वका कारण हामी विचलित बनेनौँ । साँच्चिकै भन्नुपर्दा ढोरपाटनले कैयौँ अप्ठयारा सामना गर्दै यात्रा तय गरेको छ । यो २४ वर्षमा मुलुकको उथलपुथलदेखि डिजिटल दुनियाँले बदलिदिएको युगसम्मको भोगाइ छ ।
संकटकाल, कोभिड–१९, विज्ञापनको मन्दी, छापा माध्यमको घट्दो बजारसँगै मोफसलबाट प्रदेश राजधानी पोखराको यात्रा तय गरेको पनि ८ वर्ष पुग्यो । मोफसलको सञ्चार कर्मलाई संस्थागत गर्दै प्रदेशप्रति उत्तरदायित्व वहन गर्ने यात्राको यो निरन्तरता आफैँमा सञ्चार जगतको महत्वपूर्ण कोसेढुंगा हो । एकैसाथ प्रदेश राजधानी पोखरा र बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिक घट्दै गएको प्रिन्ट मिडियाको चापमा अवश्य छ । परन्तु, हामी त्यही पुरानै शैलीमै सीमित छैनौं ।
सूचना, प्रविधिको तीव्र विकासले बदलेको समाज र छापा माध्यमको संकुचनबारे हामी जानकार छौँ । तर, सूचना प्राप्तिका माध्यमहरू फेरिँदा पनि पत्रिकाको छापा संस्करण आवश्यक छ भन्नेमा हामी उत्तिकै दृढ छौँ । भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको ‘डिजिटल कोलाहल’ चिर्न र वैचारिक बहसको नयाँ मार्ग अवलम्बन गर्न छापा संस्करण आवश्यक हुन्छ भन्ने हाम्रो मान्यता छ । यही मान्यतामा टेकेर ढोरपाटनले नयाँ विचार सिर्जना र त्यसउपर सार्थक बहसलाई महत्वपूर्ण दिएको छ । प्रविधि प्रदत्त डिजिटल प्लेटफर्महरूलाई उत्पादित समाचार तथा विचारको प्रशारण गर्ने माध्यमका रुपमा स्वीकारिएको छ । यो उपक्रमलाई हामी अझ परिस्कृत गर्दै व्यापकता दिने छौँ ।
तथ्य र तर्कभन्दा हल्ला हावी हुँदै गएको समयमा ‘विश्वसनीय समाचार, शाश्वत अनि सन्तुलित विचार’ पस्कने प्रणबाट हामी रत्तिभर विचलित छैनौँ । सत्य र मिथ्याबीच विद्यमान भेदको भेउ दिलाउँदै पाठककै चाहना अनुरुपका सामग्री पस्कने छौँ । पत्रिकामा प्रकाशित हुने सामग्रीमा डिजिटल युग सुहाउँदो परिवर्तन र सुधारको प्रयत्न जारीे छ । देशका कुनाकाप्चा, विदेशमा रहने सबै नेपालीभाषीका लागि हामीले www.dhorpatannews.com सञ्चालन गर्दै आएका छौं । देश, विदेशका खबरहरू दिनभर नै अनलाइन माध्यमबाटै प्रकाशन÷प्रशारण गरिरहेका छौँ । गहन सम्पादकीय र हरेक विचारलाई हामीले प्रिन्ट र डिजिटलमा इपेपरमार्फत् सबै पाठकसमक्ष पु¥याइरहेका छौँ ।
२०७५ साल अर्थात् देशमा पहिलो स्थानीय निर्वाचनपश्चात् संघीयताको व्यावहारिक कार्यान्वयनसँगै हामीले प्रदेश राजधानी पोखराबाट पनि प्रकाशन सुरू गरेका हौं । यो निर्णयबाट सिर्जित अतिरिक्त आर्थिक भार एकातिर छ तर नागरिकको सूचनाको भोक मेटाउने तथा संघीयतालाई बलियो तुल्याउने दायित्व निर्वाहबाट भने हामी सन्तुष्ट छौँ । दायित्ववोध पूर्ण यो यात्रालाई सफल तुल्याउन सहकर्मीको मिहिनेत, अथक प्रयत्न र कडा परिश्रमको महŒवपूर्ण हात छ । गण्डकी प्रदेशका विकट हिमाली गाउँ, बस्तीदेखि नवलपुर त्रिवेणीसम्मका मुद्दालाई जोड्ने पुल बन्नु ढोरपाटनको मूल दायित्व रहँदै आएको छ ।
सम्पादकीय प्राथमिकताहरूः
संघीयता र सुशासनः संघीय व्यवस्थाको सबलीकरण, प्रादेशिक संरचनाका सम्भावना र स्थानीय सरकारका उत्तरदायित्वलाई निरन्तर खबरदारी र विश्लेषणात्मक सामग्रीमार्फत् उजागर गर्दै आएका छौँ । जसका लागि हामीले निरन्तर संघीयताको समृद्धिबारे बहस गरेका छौँ । जसले प्रदेशको नीति निर्माण तहमा समेत प्रभाव पारेको छ । हाम्रा सामग्रीमा विविधिकरण गर्ने प्रयास निरन्तर छ ।
पर्यटन र गण्डकीको विकासः गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन नै हो । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण पदमार्ग, पोखराका तालतलैयादेखि ओझेलमा परेका ग्रामीण गन्तव्यहरू प्रवद्र्धनमा ढोरपाटनले अग्रपंक्तिमा रहेर कलम चलाउँदै आएको छ । हामीले गण्डकी प्रदेशको मुख्य आधार पर्यटन रहेकाले ती विषयमा केन्द्रित रहेर बहस नै चलाएका छौँ ।
गण्डकीको पहिचान र चिनोः हरेक क्षेत्रका आ–आफ्नो पहिचान हुन्छन् । प्रदेशले ‘गण्डकी’ नाम पाएपछि ‘किन गण्डकी नाम रहन गयो’ भन्ने विषयलाई पनि हामीले उधिन्ने प्रयास गरेका छौं । गण्डकीभित्र रहेका ऐतिहासिक पक्षहरूलाई उजागर गरेका छौैं । ऐतिहासिक, धार्मिकस्थल, जात÷जाति, भाषा, संस्कृति, भूगोल हरेक क्षेत्रका सामग्री ढोरपाटन दैनिकले पस्किइरहेको छ ।
जनसरोकार र समावेशी आवाजः सीमान्कृत समुदाय, कृषि, उद्यमशीलता र मोफसलका नागरिकका सुख–दुःखलाई स्थान दिँदै आवाजविहीनहरूको आवाज बन्ने प्रयासमा हामी सधैँ प्रतिबद्ध छौँ । सूचना, प्रविधिको द्रुत विकास र सञ्चार क्षेत्रमा आएका चुनौतीका बाबजुद सन्तुलित, निष्पक्ष र विश्वासिलो पत्रकारिताप्रतिको हाम्रो निष्ठा अटल छ । गलत सूचना र अफवाहको भीडमा सत्य र तथ्यपरक समाचार पस्कनु नै हाम्रो प्राथमिक धर्म हो ।
यस पटक सुस्त संघीयता : यस पटक २४ औं वार्षिकोत्सवमा हामीले संघीयता कार्यान्वयनका अड्चन र जटिल विषयलाई अझै विशद ढंगले प्रकाश पारेका छौँ । संघीयता लागू भएको एक दशकमा यसबारे चौतर्फी प्रश्नहरू उब्जिएका छन् । व्यवस्था ठीक कि शासक गलत वा शासक असल कि व्यवस्था गलत ? अहिले चलेको बहस हो यो । के संघीयता परिकल्पना गरे जस्तै बनेको छ ? यही प्रश्नबीचबाट संघीयता अघि बढेको छ ।
अहिले संविधान संशोधनको सवालमा जेनजी पुस्ताको विद्रोहपछि गत फागुन २१ को चुनावी परिणामले नयाँ बहस थालनी गरेको छ । सोही कारण यस विशेषाङ्कमा हामीले संघीयताको दशकमा कार्यान्वयन कति र बाँकी वा अवरोध कति भन्ने उजागर गरेका छौं । संघीयताका आधारभूत सैद्धान्तिक पक्ष, संविधान, ऐन, कानुन, राजनीतिक इच्छा शक्ति, जनसांख्यिक बसाइ–सराइको प्रभाव यो दशकमा कस्तो रह्यो भन्ने विषयमा विशेषाङ्क केन्द्रित गरेका छौं । जसले विगतमा जस्तै नयाँ बहसको सिर्जना गर्ने छ भन्नेमा हामी विश्वस्त छौँ ।
र, अन्तमा २४ औँ वार्षिकोत्सवको पुनित अवसरमा हामी पत्रिका प्रकाशनका क्रममा महत्वपूर्ण योगदान पु¥याउने श्रद्धेय पाठक, लगनशील कर्मचारी, सिर्जनशील पत्रकार, उत्साही वितरक, सहयोगी विज्ञापनदाता र तमाम शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्दछौँ । दिगो र व्यावसायिक पत्रकारिताको अनवरत यात्रा दृढ संकल्प, सामूहिक सहकार्य र नागरिक समाजको न्यानो मायाबाट सम्भव भएको हो ।
यहाँहरूको अगाध विश्वास र सहयोग नै ढोरपाटनको वास्तविक ऊर्जा हो । आगामी दिनमा अझ परिस्कृत, खोजमूलक र जनमुखी पत्रकारितासहित समृद्ध गण्डकी प्रदेश निर्माणको यात्रामा ढोरपाटन दैनिक निरन्तर डटिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।
हरिनारायण गौतम
प्रधान सम्पादक



