हिमाल र नेपाल विश्वमा एकअर्काका परिपूरकका रुपमा रहेका छन् ७० मिटरदेखि ८,८४८ मिटरसम्म उचाइका भौगोलिक विविधता भएको नेपालमा सानाठूला गरी ३ हजारभन्दा बढी हिमाल छन् ।
यी हिमाल नेपालको गौरवमात्र होइनन्, सभ्यता र जीवनका कारक पनि हुन् । एसियाका ठूला सातवटा नदीसहित हजारौँ नदीको अस्तित्व हिमालसँग नै गाँसिएको छ । त्यसो त नेपालमा ३ हजार २ सय ५२ वटा हिमनदी र २ हजार ३ सय २३ वटा हिमताल रहेको तथ्यांक छ । हिमतालहरूले नेपालको ७५ दशमलव ७ वर्ग किलोमिटर र हिमनदीहरूले ५ हजार ३ २३ वर्ग किलोमिटर भाग ओगटेका छन् । नेपालबाट बर्सेनि भारतीय उपमहाद्वीपमा बगेर जाने २ सय २५ घनमिटर पानीको स्रोत पनि हिमाल नै हो। यही पानीले यस क्षेत्रका अरबौँ मानिसलाई जीवन दिएको छ ।आदिमकालमा नदी किनारमै सभ्यताको जन्म भएको थियो । नदीले नै मानिसलाई बिजुलीजस्तो ऊर्जा उपलब्ध गराएको छ र नदीसँग मानिसको संस्कार र सभ्यता जोडिएको छ ।
तर, सभ्यताको जननी हिमाल हाम्रो लागि अभिशापसमेत बन्न पुगेका छन् । हिमताल फुट्दा भोटेकोशी बौलायो । ठूलो जनधनको क्षति गरायो । राष्ट्रिय संकटको यो घडीमा हिमाली क्षेत्रमा किन हिमताल फुट्ने र हिमपहिरो आउने क्रम बढेर गएको छ । किन हिउँ पहिलाभन्दा बढी पग्लन थालेको छ भन्ने जस्ता बहसहरु सतहमा आएका छन् । हिमाली क्षेत्र असाध्यै संवेदनशील छ । जलवायु परिवर्तनको असर सोझै हिमाली क्षेत्रमा पर्न थालेको छ । जसका कारण भोटेकोशी बाढीजस्ता ठूला विपत्तिका घटनामा बढोत्तरी हुने जोखिम बढेको छ भने मानव अस्तित्व नै खतरामा पर्ने सम्भावना बढेर गएको छ ।
धौलागिरि हिम श्रृंखलामा रहेको रिका सम्बा नामक हिमनदी प्रतिवर्ष १० मिटरको दरले घट्दो छ । नेपालमा भएका ६७ वटा हिमनदीले आकार फेरिसकेका छन् भने च्छो रोल्पा ताल फुट्ने खतरा अहिले पनि छँदै छ । संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत गरिएको अध्ययन अनुसार ४० वटा हिमताल फुट्ने खतरामा छन् । नेपाल जलवायु परिवर्तनको कारक हैन तर विकसित देशहरुले गरेको गल्तीको भागिदार बन्नु परेको छ । हरितगृह ग्याँसको उत्सर्जनले निम्त्याएको जलवायु परिवर्तनको असर कम गर्न साझा प्रयासको जरुरत छ । तर,नेपालजस्तो हिमाली देशले चाहिँ जलवायु परिवर्तनको असरले निम्त्याउने भोटेकोशी बाढीजस्तै विपत्तिबाट कसरी जोगिने भन्ने तयारी गर्नुपर्ने देखिएको छ । प्राकृतिक विपत्तिलाई टार्न सकिँदैन तर पूर्वतयारीले क्षति कम गराउँछ । हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनले निम्त्याएको जोखिमबाट बच्नका निम्ति आधुनिक पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने देखिएको छ । भोटेकोशी बाढीपछि राज्य यतिबेला उद्धार, उपचार, राहत र पुनस्र्थापनामा लागेको छ । अहिलेको कार्यभार यही हो तर आउँदा दिनमा चाहीँ जलवायु परिवर्तनले निम्त्याउने यस्तो विपत्तिबाट जोगिनका निम्ति पूर्वसूचना प्रणाली स्थापना, बस्ती व्यवस्थापन तथा सुरक्षित आवासबारे सरकारले योजनावद्ध तवरले काम गर्नैपर्ने भएको छ ।




