मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कोराला नाका स्तरोन्नति गर

कोराला नाका स्तरोन्नति गर

चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसक्नु दुःखको विषय हो । भन्सारको सुरक्षा प्रबन्धमा पनि प्रश्न उठेको छ ।


  • Dhorpatan News
  • भाद्र १६ २०८३, मंगलबार

भोटेकोशी बाढीले रसुवागढी भन्सार नाका बगाएपछि त्यहाँबाट हुने व्यापार अनिश्चित बनेको छ । मर्मतको कारण देखाउँदै चीनले सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका पनि बन्द गरेको छ । नेपाल र चीनको मुख्य व्यापारिक नाका रसुवागढी बन्द भएपछि व्यवसायीको नजर मुस्ताङको कोराला नाकामाथि परेको छ ।

२०८० सालको कात्तिकमा उपल्लो मुस्ताङका बासिन्दा र त्यसको २ वर्षपछि सबैका निम्ति खुला गरिएको नाका अहिले पनि सञ्चालनमा छ । व्यवसायीले गाडीदेखि लत्ताकपडा र अन्य वस्तु त्यही नाकाबाट ल्याउँदै आएका छन् । रसुवागढी बन्द भएपछि आयातमा बढोत्तरी भएको छ । नेपाललाई आवश्यक पर्ने सामग्री आयातका निम्ति वैकल्पिक नाकाकारुपमा रहेको कोराला भन्सार कार्यालयमा भने अहिले पनि पूर्वाधारको अभाव छ । १८ कर्मचारीको दरबन्दी भएको१२ जनामात्र कर्मचारी छन् भने मालबाहक कन्टेनर राख्ने ठाउँको समेत अभाव छ ।

चीनतर्फ भव्य संरचना निर्माण हुँदा र व्यापार बढ्दै जाँदा पनि सरकारले भन्सार कार्यालय स्तरोन्नतिमा ध्यान दिएको छैन । कतिसम्म भने चीनबाट विद्युतीय गाडी आयात गर्दा भन्सार कार्यालयनेर चार्ज गर्ने बिजुली पनि उपलब्ध छैन । गाडी आयात गर्ने व्यवसायीले अहिले ठूलो क्षमताको जेनेरेटर लगेर त्यसैबाट विद्युतीय गाडी चार्ज गरिरहेका छन् ।

सडकको अवस्था पनि उस्तै छ । सडक स्तरीय नहुँदा गाडीहरु कुच्चिने र दुर्घटना हुने हुने गरेको छ । जसका कारण लागत बढेको व्यवसायीको गुनासो छ । सरकारले कोराला–त्रिवेणी राजमार्गलाई वैकल्पिक मार्गकारुपमा विकास गर्ने घोषणा गरेको धेरै भइसक्यो । तिब्बतबाट सामान आयात हुन थाले पनि दुई देशलाई जोड्ने गरी यो राजमार्गले अझै पूर्णता पाउन सकेको छैन । यस्तो अवस्थामा राज्यले त्यहाँको भन्सार कार्यालयको स्तरोन्तिदेखि अन्य आवश्यक पूर्वाधार निर्माणमा तत्काल ध्यान दिनुपर्छ ।

नाका हुँदै आउने मालवाहक कन्टेनरहरू राख्ने ठाउँदेखि पशु तथा खाद्य क्वारेन्टाइन स्थापना पनि उत्तिकै जरुरी छ । चीनले नेपालबाट भैंसीको मासु, अमिला फलफूल र माछा आयात गर्ने प्रतिवद्धता जनाएको छ । गण्डकी प्रदेश अमिला फलफूलकालागि प्रख्यात छ । यही प्रदेशमा पर्ने नाकाको स्तरोन्नति तथा निर्यातजन्य वस्तुको पहिचान र उत्पादनमा गण्डकी प्रदेश सरकारको पनि चासो हुनुपर्छ ।

कोरलाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसक्नु दुःखको विषय हो । भन्सारको सुरक्षा प्रबन्धमा पनि प्रश्न उठेको छ । यो नाका हुँदै तस्करीमा सामान आउन थालेका समाचारलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन ।

कोरला नाका हुँदै कैलाश र मानसरोवर यात्रासमेत गर्न सकिन्छ । लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ । त्यहाँबाट करिब ६ सय किलोमिटर पार गरेपछि मानसरोवर पुग्न सकिन्छ । नाका सहज सञ्चालन हुने हो भने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने सम्भावनालाई पनि राज्यले नजर लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->