पोखरा/ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ । बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा पोखरा–१७, पावरहाउसमा १५ शड्ढयाको अस्पताल सञ्चालनमा ल्याइएको हो ।
यो अस्पतालले स्थानीय र विदेशी पर्यटक दुवैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ । सुरुआतको अवसरमा ट्राइग्लिसराइड्स र सुगर परीक्षणसहित चिकित्सक परामर्श निःशुल्क उपलब्ध गराइएको थियो भने प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो ।
अस्पतालकी अध्यक्ष डा सिया चेनचेनले पोखरा र दुबईबीच नियमित हवाई उडान सुरु भएको परिवेशमा विदेशी पर्यटकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सेवा विस्तार गरिएको बताइन् । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, बहुभाषिक कर्मचारी तथा अन्तर्राष्ट्रिय काउन्सिलरको व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्सको दाबी प्रक्रियामा सहजीकरण र आवश्यकताअनुसार दूतावासहरूसँग समन्वय गर्ने सुविधा पनि उपलब्ध गराइने जनाइएको छ । सन् २०२२ जुलाईदेखि काठमाडौंमा १५ शड्ढयाको अस्पताल सञ्चालन गर्दै आएको संस्थाले पोखरामा समेत सेवा विस्तार गरेको हो ।
अस्पतालका बोर्ड अफ डाइरेक्टर विदुर खतिवडाले नेपाल वैदेशिक चिनियाँ संघले संस्थालाई थप स्वास्थ्य सुरक्षा एकाइका रूपमा प्रमाणित गरेको बताए । पोखरा १७ की वडाध्यक्ष राधिका शाहीले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु सकारात्मक कदम भएको बताइन् । युवा नेता प्रकाश बास्तोलाले स्वास्थ्य सेवा विस्तारलाई सामाजिक उत्तरदायित्व र पर्यटन विकाससँग जोडेर हेर्नुपर्ने धारणा राखे ।





