पोखरा, २६चैत – दक्षिण कोरियाली कु हुङ किम कसरी नेपाल छिरे ? कोरियन विश्वविद्यालयमा मास्टरी गर्ने किम किन तानिए त नेपालतिर ? कथा लामो कथा छ । मनमा बुद्ध र दिमागमा कलाकारिता भरिएका उनी ‘पर्यटक’ बनेर नेपाल आए । लुम्बिनीदेखि हिमालसम्म चहारे । मनमा बस्यो नेपाल । कति भयो त फर्की–फर्की आउन थालेको ? हातका औंला भाँचेर पुग्दैन ।
किमले अन्नपूर्ण पदयात्रा मार्गको ढोका कास्कीको बिरेठाँटीमा लामै समय डेरा जमाए । त्यहाँको बिरेठाँटी माध्यमिक विद्यालय भवन बनाउन आर्थिक सहयोग जुटाए । कलासँग जोडिएका किमले विद्यार्थीको भविष्य अभिभावकको आर्थिक अवस्थासँग जोडिएको हुन्छ भन्ने ठम्याए । अनि, ‘खसीले मसी हुन्छ’ भन्दै अभिभावकलाई झण्डै २ लाख रुपैयाँको बाख्रा पनि बाँढे । त्यही बाख्राले दिएका खसी बेचेर अभिभावकले छोराछोरीलाई साँच्चिकै मसी किनिदिए ।
बिरेठाँटी माध्यमिक विद्यालयसँग जोडिएको साइनोले उनी विद्यार्थीका गुरु बने । विद्यार्थीलाई चित्र कोर्न सिकाए अनि तिनै चित्र कोरियामा प्रदर्शनी गर्न समेत भ्याए । उनकै अगुवाईमा केही समयअघि उनले आफ्ना शिष्यहरुलाई बोधगया पु¥याए । बोधगयामा पुगेका १२ जना विद्यार्थीले झण्डै ३० वटा चित्र बनाए ।
‘हाम्रा विद्यार्थीले बौद्ध दर्शन बुझ्न पाए, त्यहाँको वस्तुस्थिति हेरेर चित्र बनाए’, किमले भने,‘अब यी चित्र कोरियामा देखाउने हो ।’
हिमालयन ड्रिम नाम दिइएको विद्यार्थी समूहकी मोनिका तामाङले तीन दिने बोधगया बसाईमा महाबोधी मन्दिर वरपरको चित्र बनाएको जानकारी दिइन् । उनी गएको वर्ष किमकै नेतृत्वमा कोरिया पनि पुगेकी थिइन् । कलायात्रामा विशाल चपाईं, एलिशा तामाङ, नवीन परियार, प्रदीप आचार्य र शोभा परियारसहित अभिभावक पनि सामेल भएका थिए । विद्यालय व्यवस्थापन समितिकी सदस्य समेत रहेकी विष्णुमाया तामाङले कलायात्राले हिन्दु र बौद्ध सँस्कृतिबारे विद्यार्थीले धेरै बुझेको प्रतिक्रिया दिइन् ।
कोरियामा आर्थिक सहयोग जुटाएर नेपाली विद्यार्थीलाई सहयोग गर्दै आएका किम भने यतिबेला लुम्बिनी विश्वविद्यालयसँग जोडिएका छन् । अनुसन्धानकर्ताको रुपमा । ७२ वर्षीय किमले नेपाली जात्रासम्बन्धि किताब पनि लेख्न भ्याएका छन् ।





