बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढीले पुल बगाउँदा मनाङ सडक सम्पर्क विच्छेद, कास्कीको मादीमा बन्दै गरेको पुल बग्यो

बाढीले पुल बगाउँदा मनाङ सडक सम्पर्क विच्छेद, कास्कीको मादीमा बन्दै गरेको पुल बग्यो


  • Dhorpatan News
  • असार ९ २०७६, सोमबार

पोखरा, ९ असार – बाढीले लमजुङ र मनाङ जोड्ने म्यार्देखोलाको पुल भत्कँदा मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मनाङको नासोँ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङ्दी गाँउपालिका जोड्न लमजुङ–मनाङ सडकखण्डमा बनाइएको पुल वर्षासँगै आएको बाढीले बगाएको हो । बाढीले बेलिब्रिजको जगसम्मै बगाएको हो ।
अन्नपूर्ण चक्रीय पदयात्रा मार्गको ढोका तथा मनाङ पुग्ने एकमात्र बाटो अवरुद्ध परेपछि सयौँ आन्तरिक र बाह्य पर्यटकहरु मनाङमै रोकिन बाध्य भएका छन् । यता, मस्र्याङ्दी नदीमा आएको बाढीमा परेका ३ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार बेसिशहर नगरपालिका–११ मा पर्ने मस्र्याङ्दी नदी तर्दै गर्दा भारत बेतिया घर भई हाल लमजुङको भोटेवडार बस्दै आएका ४८ वर्षीय मुन्ना पटेल नदीको बीचमै अलपत्र परेका थिए । नदी तर्दै गर्दा माथिबाट एक्कासी बढेको पानीले बगाउन खोजेपटिछ उनी नदी बीचको ढुंगामा उक्लेका थिए । ढुृंगामै रहेको बेला उनको उद्धार गरिएको हो । यसैगरी बेसिशहर बजारदेखि तल बाँझाखेत जोड्ने पुलभन्दा तलको टापुमा पनि एक्कासी बाढी आउँदा एक दम्पति अलपत्र परेका थिए । हिउँदमा नदीले बनाएको दुई धारबीचको टापुमा रहेका ३१ वर्षीय जगत गुरुङ र उनकी श्रीमती २६ वर्षीया ओसन गुरुङलाई बाढीकै बीच उद्धार गरिएको हो ।
यसैगरी, असार लाग्नासाथ आएको बाढीले कास्कीको मादी नदीमा रहेको निर्माणाधीन पुल नै बगाइदिएको छ । कास्कीको उत्तरी गाउँ मादी गाउँपालिकास्थित घुमाउने डाँडामा मादी नदीमाथि बन्दै गरेको ८० मिटर लामो पुल आइतबारको बाढीले बगाइदिएको हो । कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट जोड्ने सो पुल निर्माणको क्रममा सटिङ हुँदै थियो । स्थानीयहरुले पुलको डिजाइन नै गलत तरिकाले गरिएकोले नदीले बगाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->